बेल्जियमको वेग

रोयटर्स

सोची — बेल्जियमको खेलशैली र रणनीति सम्हाल्न नसक्दा विश्वकपअन्तर्गत समूह ‘जी’ को पहिलो खेलमा पानामा ३–० ले पराजित भएको छ ।

बेल्जियमको वेग

सोमबार सोची रंगशालामा पानामाका गोलरक्षक जेमी पेनेडोले उत्कृष्ट खेल प्रदर्शन गरे पनि टोलीलाई पराजयबाट जोगाउन सकेनन् । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा ड्रिज मर्टेन्सले एक गोल गरे ।

पहिलो हाफमा पानामाको रक्षात्मक रणनीति सफल भए पनि दोस्रो हाफमा भने सुरुआतमै बेल्जियम सफल भयो । मर्टेन्सले पेनाल्टी क्षेत्रको छेउबाट भली प्रहारमार्फत गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफमा मर्टेन्ससँगै लुकाकु र इडेन हाजार्डको प्रहार विफल तुल्याएका पेनेडो यसपालि भने बल नजिक पुग्न सकेनन् । ६९ औं मिनेटमा लुकाकुले अग्रता दोब्बर पारे । केभिन डी ब्रुएनेको क्रसमा उनले हेडर गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दै आएका लुकाकुले ७५ औं मिनेटमा स्कोर ३–० बनाए । हाजार्डको पासलाई डाइभ गरेका गोलरक्षक पेनेडोको टाउको माथिबाट चिप गर्दै लुकाकुले जित सुनिश्चित गरेका थिए । पानामाले खेलदौरान बेल्जियमको कमजोर पक्ष मानिएको साइड डिफेन्सको फाइदा उठाउने प्रयास गरे पनि सफल हुन सकेन । छनोट चरणमा पनि गोल गर्न निकै कसरत गरेको पानामाले गोलरक्षक थिबाउ कोर्टुआलाई बिरलै व्यस्त बनाए ।

पछिल्ला २० खेलमा अपराजित बेल्जियम समूहका बाँकी दुई खेलका लागि उच्च मनोबलसाथ अगाडि बढ्ने छ । पहिलो हाफको कमजोर प्रदर्शनले भने टोलीले अझै पनि सुधार गर्ने पक्ष बाँकी रहेको संकेत दिएको छ । समूहमा इंग्ल्यान्ड र टयुनिसिया छन् । पछिल्ला दुई प्रतियोगितामा क्वाटरफाइनलबाट बाहिरिएको बेल्जियम यसपालि त्यसलाई सुधार गर्ने लक्ष्यमा छ ।

प्रकाशित : असार ५, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?