स्वीडेनको ऐतिहासिक जित

कोरियालाई कठिन
एजेन्सी

निझ्नी नोभ्गोरोड — स्वीडेनले सन् १९५८ यता पहिलोपल्ट विश्वकपको पहिलो खेल जितेर फिफा विश्वकप २०१८ मा उत्कृष्ट सुरुआत गरेको छ । कप्तान आन्द्रिएस ग्रान्कभिस्टले खेलको ६५ औं मिनेटमा गरेको पेनाल्टी गोलसँगै स्वीडेनले समूह ‘एफ’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्‍यो ।

स्वीडेनको ऐतिहासिक जित

दोस्रो हाफमा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोग लिएपछि दिएको पेनाल्टीमा स्वीडेन भाग्यमानी साबित भयो । किम मिन वुले भिक्टर क्लेसनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भारको सहायता लिँदै पेनाल्टीको मौका दिएका थिए । ग्रान्कभिस्टले गोलरक्षक चो हयुन वुलाई गलत दिशामा पठाउँदै टोलीलाई अगाडि बढाएका थिए । समूहको पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई हराएपछि जितका लागि अग्रसर दुवै टोलीले आ–आफ्नो मौका चुकाए ।

मार्कस बर्गले पहिलो हाफको २१ औं मिनेटमा गरेको प्रहार कोरियाली गोलरक्षक वुले राम्रो बचाउ गरेका थिए । खेलमा राम्रो सुरुआत गरेको एसियाली टोली कोरियाले सुरुआती १५ मिनेट स्वीडेनलाई दबाबमा राख्यो । आक्रमणमा तेज देखिएको कोरियाले लगातार दबाब कायम गर्‍यो । मुख्य डिफेन्डर भिक्टर लिन्डेलफलाई बिमारीका कारण गुमाए पनि स्वीडेनले खेल अगाडि बढेसँगै पकड जमायो ।

कोरियाका स्टार खेलाडी सन हयुङ मिनले आक्रमणको दायाँबाट लगातार बल बढाउँदा स्विडेनका मिडफिल्डर एमिल फोर्सबर्गले फरवार्डलाई खेलमा निम्त्याइरहे । स्तरका हिसाबले खेल ठूलो नभए पनि ४२ हजार ३ सय दर्शक उपस्थितिले खेलमा रोमान्च थपिएको थियो ।

स्वीडेनका प्रशिक्षक जान एन्डरसनले पाएको मौका सदुपयोग गर्न नसक्दा जित कठिन देखिएको बताए । कप्तान ग्रान्कभिस्टले भने अर्को खेल जितेमा दोस्रो चरण पुग्ने अवसरले जर्मनी दबाबमा रहने बताए । ‘हामीले जर्मनीलाई जित्यौं भने अर्को चरणमा जाने पक्का हुन्छ । यसले गर्दा सम्पूर्ण दबाब अब जर्मनीमाथि छ,’ उनले भने ।

हारपछि निराश बनेका कोरियाली खेलाडी ।

स्वीडेनले अर्को खेलमा जर्मनीको सामना गर्नेछ भने कोरियाले लयमा देखिएको मेक्सिकोसँग खेल्नेछ । विश्वकपका पछिल्ला १० खेलमा एक खेल जितेको कोरियालाई प्रतियोगितामा बच्न कठिन देखिन्छ ।

प्रकाशित : असार ५, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?