कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सलाह फर्कंदा इजिप्ट उत्साही

समूह ‘ए’: रुसविरुद्ध इजिप्ट
रोयटर्स

सेन्ट पिटर्सबर्ग — रुसले विश्वकप २०१८ मा सानदार सुरुआत लिन सफल रह्यो, जतिबेला उसले साउदी अरेबियालाई ५–० ले हरायो । तर रुसले मंगलबार इजिप्टको सामना गर्दा अफ्रिकी प्रतिद्वन्द्वी नितान्त फरक हुनेछ । इजिप्ट आफ्नो जादुयी खेलाडी मोहमद सलाहको फर्काइले उत्साहित छ ।

सलाह फर्कंदा इजिप्ट उत्साही

सेन्ट पिटर्सबर्गमा हुने खेलमा उत्तरी अफ्रिकी टिम पराजित रहे, त्यो उसका लागि विश्वकपमा चुनौती समाप्त भएबराबर हुनेछ । टोली समूह ‘ए’ को शीर्षस्थानमा छ । उसलाई उरुग्वमाथि गोलअन्तरको फाइदा छ । उरुग्वेले यसअघि इजिप्टलाई आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले हराएको थियो ।

अर्जेन्टिनी प्रशिक्षक हेक्टर कुपरको नेतृत्वमा रहेको इजिप्टको लक्ष्य समूहमा दोस्रो स्थान हात पार्नु हुनेछ । यसका लागि उसले रुसमाथि जित रच्नुपर्नेछ । उरुग्वेविरुद्धको खेलमा कुपरको टिमले साउदी अरेबियाको जस्तो नाजुक रक्षापंक्ति प्रस्तुत गर्ने छैन । त्यतिमात्र होइन, पहिलोपल्ट खेल्न लागेका सलाहले रुसको डिफेन्स तोड्ने विश्वास पनि हुनेछ ।

रुसी प्रशिक्षक स्टानिस्लाभ चेरचेस्कोभले पहिलो खेलमा ३८ वर्षीय सेन्टर ब्याक सर्गेई इगनासेभिच र ३४ वर्षीय फुलब्याक युरी झिरिकोभलाई सुरुदेखि खेलाएका थिए । उनले फेरि यिनै दुई खेलाडीलाई मौका दिनेछ भने त्यसमा इजिप्ट र सलाहले फाइदा उठाउन सक्नेछ । उरुग्वेविरुद्धको खेल बेन्चमा बसेर हेरेका सलाहले आफ्नो २६ वर्षे जन्मदिन पनि खुसीपूर्वक मनाउन पाएनन् ।

कुपरले आफ्नो पहिलो खेलमा स्टार खेलाडीलाई खेलाउने जोखिम उठाउन चाहेनन् । काँधको चोटबाट मुक्त हुँदा सलाह मैदान फर्कने विश्वास गरिएको छ । सलाहको तीव्र गतिमा खेल्ने शैली अगाडि झिरिकोभलाई गाह्रो हुने विश्वास छ । सलाहले लिभरपुलका लागि युरोपका प्रमुख क्लबको रक्षापंक्तिलाई सजिलै काटेका छन् ।

उनी दाहिने ‘विङ’ मा खेल्दै बायाँ खुट्टाको मदतमा शक्तिशाली प्रहार गर्न माहिर छन् । इग्नासेभिचसँग रक्षापंक्तिको बाक्लो अनुभव भए पनि उनलाई सलाहमात्र होइन, अर्को छेउबाट मोहम्मद हसनको आक्रमण रोक्नु जिम्मेवारी पनि हुनेछ । ‘ट्रेजग्वेट’ उपनाम रहेका यी २३ वर्षीय खेलाडी उरुग्वेविरुद्ध पनि प्रभावशाली रहे । उनको प्रभाव कम पार्न ब्राजिलमा जन्मेका मारियो फर्नान्डेसको पनि जिम्मेवारी हुनेछ ।

रुसी गोलरक्षक इगोर अकिफिभ ।

सलाहको फर्काइमा इजिप्टसँग खुसी हुने बहाना हुने भए पनि त्यस्तै खुसी भने रुसमा हुने छैन, किनभने टिमका क्रिएटिभ मिडफिल्डर एलान जेगोएभले पहिलो खेलेमा बोकेको चोटका कारण दोस्रोमा खेल्न सक्ने छैनन् । उनको स्थानमा डेनिस चेरिसेभले स्थान पाउने छन् । तर वरीयताको ७० औं स्थानको रुसमाथि आफ्ना प्रशंसकको बढ्दो विश्वासअनुसार खेल्ने दबाब हुनेछ ।

पहिलो खेलमा प्राप्त जितपछि टिममा रहेको डर पनि मरेको हुनुपर्छ र टिमको आत्मविश्वास पनि फर्केको हुनुपर्छ । इजिप्टको प्रमुख अस्त्र काउन्टर आक्रमण हुनेछ । इजिप्टको एकमात्र सूत्र हुनेछ, सकेसम्म बल सलाहको खुट्टामा होस् र बाँकी काम उनले पूरा गर्नेछ । इजिप्ट विश्वकपको पहिलो जितको पर्खाइमा हुनेछ ।

प्रकाशित : असार ५, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?