२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

[विश्लेषण] जापानको सुखद सुरुआत

नवीन न्यौपाने

काठमाडौँ — जापानले खेलको सुरुआती २० मिनेट आक्रमण रणनीतिमा खेल्यो । सुरुमै दबाब बनाएको जापानले पेनाल्टी प्राप्त गर्दै गोल भएपछि खेलमा पकड बनायो । कोलोम्बिया १० खेलाडीमा सिमित भएका कारण अग्रता लिएपनि दबाब बनाउन सक्यो ।

[विश्लेषण] जापानको सुखद सुरुआत

२० मिनेटपछि पोसेसनमा ध्यान दिएको जापानले हाफको अन्त्यतिर सानो गल्तीमा गोल खायो ।


कोलोम्बिया खेलमा पछि पारेपनि आक्रमण गर्ने योजनामै देखियो । एक खेलाडी कम भएका कारण काउन्टरमा बढी ध्यान दिएको कोलोम्बियाले पाएको अवसरको सदुपयोग गर्यो । फ्रिकिकमा गोलसँगै पहिलो हाफ १-१ को बराबरमा सकियो ।


दोस्रो हाफमा कोलोम्बिया केहि रक्षात्मक देखिंदा जापानले बल पोसेसन राख्दै आक्रमण बुन्न थाल्यो । डिफेन्सले संयमित भएर खेल्दा कोलोम्बियाको योजना सफल हुन सकेन । जापानलाई पनि अवसर सिर्जना गर्न कठिन भइरहेको स्थितिमा सेट प्लेबाट गोल निस्कियो । यसपटक विश्वकपमा सेट प्ले निकै फाइदाजनक देखिएको स्थितिमा जापानले पनि अग्रता लिन कर्नरकै मदत लियो ।


अन्तिम १० मिनेटमा गोल फर्काउन आक्रामक भएको कोलोम्बियाले जापानी डिफेन्स चिर्न सकेन । सुरुआती जितले जापानलाई धेरै फाइदा पुगेको छ । कोलोम्बियाजस्तो बलियो टोलीलाई हराउनुले समग्र एसियालाई सुखद सुरुआत प्राप्त भएको छ ।


पोल्यान्ड-सेनेगल

पहिलो हाफ पोल्यान्डले लामो पास राखेर बल पोसेसनमा ध्यान दिने रणनीति लिएको थियो । आक्रमणको अन्तिम क्षणमा भने योजना सफल भएको देखिएन । सेनेगलको डिफेन्सले लगातर आक्रमण निस्तेज पार्दा पोल्यान्डको डिफेन्समा भने समस्या देखियो । लगातार मौका सिर्जना गरेको सेनेगलले गोल गर्ने अवसर सिर्जना पनि गरेको थियो । आक्रमणमा निकै तेज देखिएको सेनेगलले पोल्यान्डको डिफेन्सलाई दबाब दिने योजना सफल भयो । आत्मघाती गोलमार्फत अग्रता लिएको सेनेगलले दोस्रो हाफमा पनि सोहि रणनीति लियो ।


पहिलो हाफमा पछाडी पारेको पोल्यान्डले फरवार्ड लेवान्डोस्कीलाई खेलमा ल्याउन स्विच प्ले गर्दै क्रसिङमा ध्यान दियो । तर उनले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । दोस्रो हाफमा केहि रक्षात्मक देखिएको सेनेगलले काउन्टरको सहारामा आक्रमण बुन्यो । पोल्यान्ड डिफेन्समा भएको गल्तिको फाइदा उठाउंदै अग्रता दोब्बर पारेपछि सेनेगल संयमित भयो । पोल्यान्डले अन्तिमतिर सेट प्लेमा गोल गरेपनि निकै ढिला गोल निस्कियो । सेनेगलका मानेले आक्रमणमा सोचे अनुसार खेल्न नसकेपनि जित दर्ता गर्न सफल भए ।



इजिप्ट-रसिया

रसियाले साउदीविरुद्ध पहिलो खेलमा सफल भएको रणनीति लिएर इजिप्टविरुद्ध पनि फास्ट अट्याकमै ध्यान दियो । लगातार इजिप्टको डिफेन्सलाई दबाब दिएको रसियाले दुवै हाफको सुरुआती १५ मिनेट र हाफको अन्तिम ५ मिनेट थप आक्रामक देखियो । दबाब दिएर विपक्षीलाई पछाडी राखेपनि सुरुआतमा आक्रमण सफल भएन । शारीरिक रुपमा निपुण आर्टेम ज्युबालाई टार्गेट म्यान बनाएर क्रसलाई पनि प्राथमिकता दिएको देखियो ।


यता मोहमद सलाहको आगमनसँगै इजिप्टले पनि आक्रामक खेलेको थियो । पहिलो खेल हारेको कारण अंक जोड्नैपर्ने स्थिति रहेको इजिप्टले स्विच प्ले गर्दै आक्रामक बुनेको थियो । खेल दौरान पोसेसन आफ्नो पक्षमा भएपनि गोल निस्कन सकेन ।


दोस्रो हाफमा रसियाको योजना सफल भयो र सुरुमै गोल निस्कियो । लगातार दबाब दिएपछि इजिप्टका डिफेन्सको गल्तीमा रसियाले अग्रता लियो । गोल गरेपछि पनि आक्रामक देखिएको रसियाको क्रस गर्ने योजना सफल भयो र लगातार गोल पनि निस्कियो ।


इजिप्टको डिफेन्समा मार्कीङ कमजोर हुँदा रसियाले मौका सदुपयोग गर्यो । इजिप्टले पोसेसनसहितको अट्याक गरेर अन्त्यतिर पेनाल्टी पनि पायो । तर तीन गोल पछि पारेको अवस्थाबाट फर्कन सकेन । सलाहको प्रदर्शन कमजोर हुँदा इजिप्ट समूह चरणबाटै बाहिरिने सम्भावना रहेको छ ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार ६, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?