कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्पेन र पोर्चुगल दुवै सतर्क

रोयटर्स

कजान — स्पेनले विश्वकपको आफ्नो पहिलो खेलमा पोर्चुगलविरुद्ध प्रभावशाली प्रदर्शन गरेपछि बुधबार इरानको सामना गर्दा भने सतर्क रहनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा प्रशिक्षकको बर्खास्तगीले समस्यामा परेको स्पेन डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध मेक्सिकोले हात पारेको जितका कारण पनि सजग बनेको हो ।

स्पेन र पोर्चुगल दुवै सतर्क

पोर्चुगलविरुद्ध ३–३ को रोमाञ्चक बराबरी निकालेको स्पेनमाथि प्रशिक्षक जुलेन लोपेटेगुईको बर्खास्तगीले खासै नकारात्मक असर भने पार्न सकेन । अहिले पूरा टिम नयाँ प्रशिक्षक फर्नान्डो हिएरोको नेतृत्वमा खुसी देखिएको छ । कम्तीमा कागजमा स्पेनले इरानमाथि जित निकाल्न सक्ने विश्वास गर्न सकिन्छ । यो दुई देशबीच एकापसमा पहिलो खेल पनि हुनेछ ।


प्रशिक्षक हिएरो भन्छन्, ‘जर्मनमाथि जे जस्तो भयो, त्यो अरु टिममाथि पनि हुनसक्छ । यस विश्वकपमा सहभागी सबै ३२ टिम राम्रा छन् । पहिलो खेल सधैं गाह्रो हुन्छ । त्यसलाई कसरी खेल्यो त्यो महत्त्वपूर्ण हुन्छ । हामीले युरोपेली च्याम्पियनविरुद्ध १ अंक बटुलेका छौं, अब इरानको पालो ।’ हिएरोलाई एकमात्र चिन्ता भने गोलरक्षक डेविड डी डेयाका लागि रहनेछ ।


उनले क्रिस्टियानो रोनाल्डोले एक सहज र अस्वाभाविक गोलका लागि अवसर दिएका थिए । डिफेन्डर नाचो फर्नान्डेजका लागि त्यो खेल मिश्रित रहयो । उनले एक उत्कृष्ट गोल गरे भने अर्को अवसरमा पेनाल्टी पनि दिए । डानी कारभाज भने चोटमुक्त हुँदै टिममा फर्कन सक्ने छन् । स्पेनको टाउको दुखाइ भने ठोस इरानी डिफेन्स हुनेछ ।


यसले छनोटका १८ खेलमा ५ गोलको मात्र अवसर दिएको थियो । समूह ‘बी’ जित्ने हो भने स्पेनले सबैभन्दा पहिले यही डिफेन्सलाई तोड्नुपर्नेछ । इरानको समस्या मैदानमा भन्दा पनि बाहिरी हुनेछ, किनभने अमेरिकाले लगाएको प्रतिबन्धका कारण टिमले नाइकको पोसाक पाउन सकेको छैन । मैदानमा भने उसले पहिलो खेलमा मोरक्कोलाई हराएको थियो ।
त्यो पनि आत्मघाती गोलले । त्यसैले इरानको वास्तविक परीक्षा बलियो स्पेनविरुद्ध नै हुनेछ । लगत्तै अर्को खेलमा इरानले पोर्चुगलको सामना गर्नुपर्ने हुँदा पनि टिम दोस्रो खेलमा राम्रो नतिजा निकाल्न चाहन्छ । इरानका प्रशिक्षक कार्लोस क्वारेज रियल म्याड्रिडका पूर्व व्यवस्थापक पनि हुन् । उनीसामु स्पेनविरुद्ध मिडफिल्डर सइद इजाटोलहीलाई मैदानमा उतार्ने अवसर हुनेछ ।


मोरक्कोविरुद्धको खेलमा क्वारेजले आफ्नो विपक्षी खेलाडीलाई मानसिक रूपमा थकित तुल्याउन रणनीति लिएका थिए । तर यी पोर्चुगाली प्रशिक्षकले स्पेनविरुद्ध भने फरक रणनीति तय गर्ने बताइसकेका छन् । उनको भनाइ रहेको छ, ‘स्पेनविरुद्धको खेलमा सबै खेलाडीको उत्तिकै योगदान चाहिन्छ, हामी पक्कै पनि फरक रणनीति लिएर मैदानमा उत्रने छौं ।’

पोर्चुगल–मोरक्को

स्पेनविरुद्धको पहिलो खेलमा रोनाल्डो जसरी उत्कृष्ट प्रदर्शन गर्न सफल रहेका थिए । बुधबार टिमले मोरक्कोको सामना गर्दा पनि उनी त्यसै लयमा रहन चाहने छन् । मोरक्को आफैं भने इरानविरुद्ध आत्मघाती गोलले खेलको अन्त्यतिर पराजित रहेको हुँदा घाइते स्थितिमा छ । स्पेनविरुद्ध ३–३ को बराबरीमा रोनाल्डोले हयाट्रिक गरेका थिए ।


त्यो उनको मात्र होइन, विश्वकपको पनि संयुक्त रूपमा ५१ औं हयाट्रिक थियो । ‘यो व्यक्तिगत प्रदर्शनका लागि म खुसी छु,’ रोनाल्डोले भनेका छन्, ‘तर मेरा लागि टिमको जितले नै मुख्य अर्थ राख्छ ।’ युरो २०१६ को विजेता रहेता पनि पोर्चुगललाई विश्वकपको भने सम्भाविता विजेता मानिएको छैन । मोरक्कोविरुद्ध जित निकाले पोर्चुगलले अन्तिम १६ मा प्रवेशको सम्भावना बलियो बनाउन सक्छ ।


‘दुई टिमको तुलना गर्ने हो भने हामी मोरक्कोभन्दा बलियो नै छौं । तर यसको अर्थ भोलिको खेल सजिलो हुनेछ भन्ने होइन,’ पोर्चुगाली फरवार्ड आन्द्रे सिल्भाले भनेका छन्, ‘हामी कोही पनि प्रतिद्वन्द्वी टिमलाई कमजोर मान्ने छैनौं । विश्वकपका प्रत्येक खेल गाह्रै हुन्छ ।’ पोर्चुगल र मोरक्कोबीच यो दोस्रो खेलमात्र हुनेछ । सन् १९८६ मा मोरक्कोले समूह चरणमा पोर्चुगललाई ३–१ ले हराएको थियो ।

प्रकाशित : असार ६, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?