मेसीलाई फेरि अर्को अवसर

समूह ‘डी’: अर्जेन्टिनाविरुद्ध क्रोएसिया
रोयटर्स

निझ्नी नोभ्गोरोड — आइसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा । विश्वकप समूह ‘डी’ को खेलमा अर्जेन्टिनाले बिहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने ।

मेसीलाई फेरि अर्को अवसर

क्रोएसिया त्यति सजिलो प्रतिद्वन्द्वी पनि हुने छैन । आफ्नो पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएर उत्साही क्रोएसियाको उद्देश्य हुनेछ, मेसीलाई निराश पार्ने । मेसीले भने बार्सिलोनाका लागि क्लब फुटबलमा जत्तिकै राम्रो खेले पनि त्यस्तै प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि गर्न सकेका छैनन् ।

चार वर्षअगाडि फाइनलमा जर्मनीसँग पराजित अर्जेन्टिनी स्टार मेसी केही दिनमा ३१ वर्षका हुँदै छन् । यो उनको अन्तिम विश्वकप पनि हुन सक्नेछ । यसपल्ट उनलाई आफ्नो देशका पूर्व महान् खेलाडी डिएगो म्याराडोनाको पनि मन जित्नुपर्नेछ, किनभने उनी मेसीलाई धेरै माया पनि गर्छन् ।

यता मेसीलाई कसरी रोक्ने हो भनेर क्रोएसियाली प्रशिक्षक ज्लाटो डालिचले मिडफिल्डर इभान राकिटिचको सहयोग लिने छन्, किनभने राकिटिच बार्सिलोनामा मेसीको साथी खेलाडी हुन् । ‘जति सूचना चाहिएको हो, त्यो सबै बटुल्ने छुं मेसीबारे,’ प्रशिक्षकले भनेका छन् ।

डालिचले यो खेलका लागि राकिटिचलाई आफ्नो सहायक प्रशिक्षककै जस्तो भूमिका दिएका छन् । ‘मेसीलाई ठ्याक्कै कसरी रोक्ने हो भन्ने उपाय केही पनि छैन, किनभने उनी महान् खेलाडी हुन् । एउटा राम्रा खेलाडीले उत्तिकै राम्रो नतिजा त ल्याउन सक्छ, तर खेलाडीभन्दा टिम ठूलो हुन्छ । हामी यही तथ्यमा निर्भर हुनेछौं,’ प्रशिक्षकले थपेका छन् ।

पछिल्लो समय जतिले अर्जेन्टिनी खेललाई पछयाएका छन् । अधिकांशको निचोड छ, टिममा भलै केही निकै राम्रा खेलाडी छन् तर आइसल्यान्डविरुद्धको नतिजा उत्तिकै अनपेक्षित भने थिएन । क्रोएसियाविरुद्ध पनि अर्जेन्टिनालाई पटक्कै सजिलो हुने छैन । यसका कारण रहेको छ, टिममा एकता र विश्वासको कमी ।

प्रशिक्षक जोर्गे साम्पाओलीले टिम सम्हालेको एक वर्ष छुने लागेको छ । टिममा मेसीमात्र होइनन्, अरु ठूला नाम पनि छन् । जस्तो, पाउलो डिबाला, गोन्जालो हिगुइन, सर्जियो अगुइरो र एन्जेल डी मारियो । तर प्रशिक्षकले यी खेलाडीबाट ठोस प्रदर्शन निकाल्न सकेको छैन, एउटा टिमका लागि ।

‘पहिलो खेलमा के भयो, त्यसबारे शिक्षा लिएर अबको खेल खेल्नछौं,’ साम्पाओलीको रणनीति छ । उनको उद्देश्य हो, राम्रा व्यक्तिगत खेलाडीको हुलबाट सामूहिक उत्कृष्ट खेल निकाल्ने । यहाँनिर के पनि सम्झनुपर्छ भने अर्जेन्टिनाले विश्वकप नजितेको ३२ वर्ष भइसकको छ । टिमले जितेको अन्तिम ठूलो उपाधि सन् १९९३ को कोपा अमेरिकामात्र हो ।

क्रोएसिया आफैंसँग पनि राम्रा र नाम चलेका खेलाडीको कमी छैन । राकिटिच मात्र होइन, मिडफिल्डमा लुका मोड्रिचसँगै अगाडि मारियो माडिजुकिच पनि कहलिएका खेलाडी हुन् । समूहको शीर्षस्थानमा रहेको क्रोएसिया चाहन्छ, सन् १९९८ को विश्वकप प्रदर्शनको पुनरावृत्ति । जतिबेला उनीहरू सेमिफाइनलसम्म पुगेका थिए ।

प्रकाशित : असार ७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?