कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इजिप्टको लगातार हार

एएफपी

सेन्ट पिटर्सबर्ग — आयोजक रुस मंगलबार भएको खेलमा इजिप्टलाई ३–१ ले पराजित गर्दै विश्वकपको दोस्रो चरण पुग्ने आधार तय गरेको थियो । समूह ‘ए’ उरुग्वेले बुधबार साउदी अरेबियालाई १–० ले पराजित गरेपछि रुसले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

इजिप्टको लगातार हार

प्रतियोगिता सुरु हुनुअघिका ७ खेल जित्न नसकेको रुसले समूह चरणका दुवै खेलमा सहज जित दर्ता गरेको हो । पहिलो खेलमा साउदी अरेबियालाई ५–० ले पाखा लगाएको रुसले इजिप्टमाथि पनि सहजै जित हात पार्‍यो । दोस्रो हाफको १५ मिनेटको अन्तरमा तीन गोल गर्दै रुसले जित पक्का गरेको थियो ।

इजिप्टका कप्तान अहमद फाथीको आत्मघाती गोल तथा डेनिस चेरेसेभ र आर्टेम ज्युबाको १–१ गोलसँगै रुस लगातर दोस्रो जित दर्ता गर्न सफल भयो । मोहमद सलाहले २८ वर्षपछि इजिप्टका लागि विश्वकपमा गोल गरे पनि इजिप्टले खेलमा अपेक्षित नतिजा ल्याउन सकेन । प्रशिक्षक स्टानिस्लाभ चर्चेसोभले सन् १९८६ यता पहिलोपल्ट दोस्रो चरणमा प्रवेश गर्न लागेको रुसको टोलीले अझै राम्रो प्रदर्शन गर्न सक्ने विश्वास दिलाए ।

विश्वकप जित्ने सम्भावनाबारे प्रश्न गर्दा प्रशिक्षक चर्चेसोभले टोली सही दिशामा अगाडि बढिरहेको बताए । ‘हामीले पछिल्ला खेलमा खराब नतिजा हात पारेको सबैले देखें । तर हामीले खेलेका टोली अब्बल दर्जाका थिए र त्यसबाट हामीले धेरै सुधार गर्ने पक्ष फेला पार्‍यौं । अहिलेको सफल नतिजा त्यसकै परिणाम हो,’ उनले भने । ‘हामीले खेलाडी छनोट र तयारीक्रममा गृहकार्य गरेका थियौं । अहिलेको नतिजाले समर्थकलाई खुसी बनाउन पाउँदा आनन्द महसुस भएको छ,’ उनले टुंग्याए ।

सलाह भने लयमा
गत महिना च्याम्पियन्स लिग फाइनलक्रममा काँधमा चोट बोकेपछि विश्राममा रहेका इजिप्टका मोहमद सलाहले चोटपछि पहिलो खेल खेले । उरुग्वेविरुद्धको खेलमा विश्राम पाएका उनले रुसविरुद्ध भने पहिलो रोजाइमा स्थान पाएका थिए । रुसका डिफेन्डर युरी झिर्कोभले उनलाई खेलभर जम्न दिएनन् ।

इजिप्टका प्रशिक्षक हेक्टर कुपरले सलाहको महत्त्वबारे प्रश्न उठाउन नमिल्ने अभिव्यक्ति दिए । ‘राष्ट्रिय टोलीमा सलाहको भूमिकाबारे हामीले भन्नुपर्दैन । उनी भर्खर चोटबाट फर्केका कारण पूर्ण रूपमा जम्न सकेनन् । उनको स्तर र क्षमताबारे हामीले अन्य खेलमा देखेका छौं,’ कुपरले भने । पहिलो हाफ गोलरहित रहेको खेलको दोस्रो हाफमा रुसले आक्रामक खेल्दै १५ मिनेटको अन्तरमा तीन गोल गरेको थियो ।

दोस्रो हाफको दोस्रो मिनेटमै रोमन जोब्निनको प्रहारलाई फरवार्ड ज्युबासम्म पुग्न नदिन फाथीले क्लियर गर्न खोज्दा बल आफ्नो पोस्टमा छिरेको थियो । मारियो फर्नान्डेसको क्रसमा चेरेसेभले उत्कृष्ट फिनिसिङको नमुना पेस गर्दै रुसलाई २–० ले अगाडि बढाए । त्यसको तीन मिनेटमै ज्युबाले पेनाल्टी क्षेत्रभित्र बललाई उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै गोल गरे ।

भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगले इजिप्टले खेलको ७३ औं मिनेटमा पेनाल्टी पायो । रेफ्रीले सुरुमा फ्रिकिक दिए पनि भारले पेनाल्टी भएको देखाएको थियो । सलाहले प्रतियोगिताको दसौं पेनाल्टीलाई गोलमा परिणत गर्दै इजिप्टलाई सान्त्वना गोल दिलाए । उरुग्वेले साउदीविरुद्ध सफलता पाएपछि इजिप्टको यात्रा समूह चरणमा सीमित भएको हो ।

प्रकाशित : असार ७, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?