२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पोर्चुगल जित्दा मोरक्को बाहिरियो

एएफपी

मस्को — क्रिस्टियानो रोनाल्डोले जारी विश्वकपमा चौथो गोल गरेपछि पोर्चुगलले बुधबार मोरक्कोलाई १–० ले पराजित गरेको छ । यो नतिजापछि मोरक्को विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ ।

पोर्चुगल जित्दा मोरक्को बाहिरियो

पहिलो खेलमा दाबेदार स्पेनविरुद्ध ह्याट्रिक गरेका पाँचपल्टका विश्व वर्ष खेलाडी रोनाल्डोले खेलको सुरुआतमै गरेको गोल नै निर्णायक बन्यो । गत महिनामात्र पाँचौंपल्ट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका रियल म्याड्रिडका खेलाडी रोनाल्डोले ८५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । युरोपियन खेलाडीको यो एउटा कीर्तिमान पनि हो ।

‘गोल गर्दा म खुसी नै छु, तर महत्त्वपूर्ण चाहिँ हामीले जितेका छौं । हामी प्रत्येक खेलसँगै अगाडि बढ्नुपर्छ,’ रोनाल्डोले भने । प्रतियोगिताबाटै बाहिरिए पनि रुसमा देखाएको प्रदर्शन आफ्नो टोलीले गौरवका रूपमा लिन सक्ने मोरक्कोका प्रशिक्षक हेर्भे रेनार्डले बताए । ‘हामी २० वर्षपछि विश्वकपमा छनोट भएका थियौं र त्यसमा सक्षम छौं भनेर हामीले देखाएका छौं ।’

रोनाल्डोले स्पेनविरुद्ध जुन प्रदर्शन देखाए, मोरक्कोसँगको खेलमा पनि उनीबाट त्यस्तै अपेक्षा गरिएको थियो । उनले त्यसलाई कायमै राखे । चौथो मिनेटमै शक्तिशाली हेडर गोल गरी रोनाल्डोले पोर्चुगलको खाता खोलेका थिए । यस जितका बाबजुद पोर्चुगलले इरानसँग हुने अन्तिम खेलमा आफूअनुकूल नतिजा निकाल्नै पर्छ ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मोरक्कोविरुद्ध गोल गर्ने क्रममा ।

रुस विश्वकप छनोटमा मोरक्कोले एउटै गोल खर्चेको थिएन । टोलीले दोस्रो हाफमा दबाब बनाए पनि गोल गर्ने अवसर गुमाउँदा एक खेलअगाडि नै समूह चरणबाट बाहिरिन पुगेको हो । मोरक्कोले स्पेनसँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

रुस यात्रा मोरक्कोका लागि दोहोरो पीडा बन्यो । विश्वकप सुरु हुनु ठीकअगाडि मोरक्कोले २०२६ को विश्वकप आयोजना दाबीमा उत्तरअमेरिकी राष्ट्र अमेरिका, मेक्सिको र क्यानडासँग हार बेहोरेको थियो ।

प्रकाशित : असार ७, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?