कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकप विश्लेषण : जर्मनीको आशा कायमै

नवीन न्यौपाने

काठमाडौँ — स्विडेनविरुद्धको खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी एक समय एक गोलले पछाडि थियो । खेल सकिन लाग्दा पनि खेल १–१ को बराबरीमा थियो । यस्तोमा जर्मनी प्रतियोगिताबाट चाँडै घर फर्कने डर पनि उत्पन्न भइसकेको थियो ।

विश्वकप विश्लेषण : जर्मनीको आशा कायमै

तर खेलको अन्त्यमा टोनी क्रुसले गोल गरे र जर्मनीलाई २–१ को जित दिलाए । यस नतिजाले प्रतियोगितामा जर्मनीको आशा कायममै रह्यो ।


यस खेलमा जर्मनीले बलमाथि नियन्त्रण राखेर आक्रमण गरिरहेको थियो र यसक्रममा अवसर पनि तयार पारिरहेको थियो । तर यसैक्रममा एक गोल खान पुग्यो । दोस्रो हाफमा भने जर्मनीले चाँडै गोल निकाल्न सफल रह्यो । जर्मनीले अन्त्यसम्मनै लगातार आक्रमक बुनिरह्यो । स्विडेनले रक्षात्मक रहेर आक्रमण गर्ने रणनीति बुनेको थियो । यो हार उसका लागि पीडादायी हुनु पर्छ । यो नतिजापछि समूह ‘एफ’ खुल्ला भएको छ ।


समूहका चारै टिमसँग छनोटको सम्भावना अझै कायम छ । यसै समूहको अर्को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २–१ ले हरायो । मेक्सिकोको यो लगातार दोस्रो जित हो । यसअघि उसले जर्मनीलाई हराएको थियो । त्यति बेला उसले जसरी खेलेको थियो, दक्षिण कोरियाको सामना गर्दा भने टिमले रणनीतिमा परिवर्तन गरेको थियो । एसियाली प्रतिद्वन्द्वीविरुद्ध मेक्सिकोले बल नियन्त्रणमा राखेर आक्रामक ढंगले प्रस्तुत भएको थियो ।


यसै क्रममा कार्लोस भेलाले पेनाल्टीबाट पहिलो हाफमा गोल गरे । मेक्सिकोको डिफेन्स पनि बलियो देखियो । दक्षिण कोरियाले खेल सकिने केही समय अगाडि मात्र गोल फर्काउन सक्यो, तर यो नतिजा उल्टाउन पर्याप्त भने रहेन । उसका लागि हेङ–मिन सुनले गरेको गोल निकै सुन्दर र आकर्षक थियो । अब यो समूहको अन्तिम दिनका खेल निकै रोमाञ्चक हुनेछन् ।


यसअघि समूह ‘जी’ मा बेल्जियमले ट्युनिसियालाई ५–२ ले हरायो । हाइ स्कोरिङ यस खेलको नतिजापछि बेल्जियमले आफू कस्तो टिम हो भनेर सिद्ध गरेको छ । निकै बलियो रहेको बेल्जियम यस खेलमा पूर्णतस् हाबी रह्यो भन्दा हुन्छ । आक्रामक रूपमा प्रस्तुत बेल्जियमले सुरुमै गोल गर्न सफल रह्यो र त्यसयता पनि लगातार आक्रामक बुनिरह्यो ।


यो खेलको पहिलो हाफमै दुवै टिमका तर्फबाट चार गोल भए । खेल एक समय २–१ को स्थितिमा थियो र लागेको थियो, कतै ट्युनिसिया खेलमा फर्कने त होइन रु तर यस्तो सम्भव भएन् । अफ्रिकी टिमले खासमा लगातार आक्रमणको दबाब झेल्न सकेन । यो खेलमा ट्युनिसियाका खेलाडी थाकेका जस्ता पनि देखिए । सायद खेलको समय गर्मी भएर पनि यस्तो भएको हुन सक्छ ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १०, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?