कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

[विश्लेषण] जर्मनी बाहिरिनु स्तब्धपूर्ण

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा जर्मनी उपाधिको एक प्रवल दाबेदर थियो । त्यसमाथि डिफेन्डिङ च्याम्पियन पनि । तर जोचिम लोको यही टिम लिग चरणको समाप्तिमा घर फर्कने भएको छ र यो धेरै फुटबल प्रशंसकका लागि स्तब्धपूर्ण नतिजा भएको छ ।

[विश्लेषण] जर्मनी बाहिरिनु स्तब्धपूर्ण

बुधबार राति समूह ‘ई’ मा जर्मनीलाई कुनै पनि स्थितिमा खेल जित्नु थियो, तर मेरो दृष्टिकोणमा टिम जित्ने मनसायले मैदानमा उत्रेकै देखिएन ।

जर्मनीले दक्षिण कोरियामाथि लगातार आक्रामक त बन्यो, तर यो आक्रमण विपक्षी टिमको पेनाल्टी एरियामा भन्दा मिडफिल्डमा बढी केन्द्रित रह्यो । जर्मनीसँग राम्रा स्ट्राइकरको स्पष्ट कमी देखियो । यसपल्टको विश्वकपबाट जर्मनी बाहिरिनुको कारण ‘ल्याक अफ स्ट्राइकर’ प्रमुख कारण रह्यो । जर्मनीको ‘फिनिसिङ’ वास्तवमै कमजोर देखियो ।

दक्षिण कोरियाका लागि २–० को जित ऐतिहासिक रह्यो, भलै एसियाको यो टिम दोस्रो चरण पुग्न सकेन, तर लिग चरणको अन्तिम खेलमा प्राप्त जितले उसलाई खुसी तुल्याएको हुनुपर्छ । जर्मनीविरुद्धका उसका दुवै गोल इन्ज्युरी समयमा भए । त्यति बेला जर्मनीलाई जसरी भएपछि गोल चाहिरिएको थियो र सबै अगाडि बढेर खेलिरहेका थिए ।

जर्मन गोलरक्षक म्यानुएल नोया समेत अगाडि आएर खेलिरहेका थिए । यस्तोमा दक्षिण कोरियाले काउन्टर आक्रमण रच्न सक्ने स्थिति बन्यो । दक्षिण कोरियाका लागि ह्वेन मिन–सुनले गरेको दोस्रो गोल ‘गुड मुभ, गुड पास, गुड फिनिसिङ’ को नमुना बन्यो । यता यही समूहको अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३–० ले हरायो र समूहको विजेता बन्न सफल रह्यो ।

स्विडेनलाई यो खेल जसरी पनि जित्नु थियो र त्यँही अनुसार खेल्यो पनि । बलमाथि नियन्त्रण राखेर स्विडेनले लगातार आक्रमण गरिरहेको थियो र गोल निकाल्न सफल पनि रह्यो । मेक्सिकोले त्यस खेलमा सायद छनोट भइसकेको मानसिकताले खेलेको हुुनु पर्छ, जबकी त्यस्तो स्थिति थिएन् । यसअघिका दुई खेलमा राम्रो गरेको मेक्सिकोले त्यस्तै खेल पस्कन सकेन् ।

प्रतियोगिता सुरु हुन अगाडि यो समूहबाट स्विडेन र मेक्सिको दोस्रो चरण पुग्ने छन् र जर्मनी अन्तिम स्थानमा हुनेछ भनेर धेरै कमले मात्र सोचेको होला । जर्मनीको यो प्रदर्शनले त्यहाँको फुटबललाई धेरै घाटा हुनेछ । हिजो नै जित्ने दबाबमा रहेको ब्राजिलले त्यसै अनुसार खेलेर नतिजा निकाल्न सफल रह्यो र अन्तिम १६ को चरणमा पुग्यो ।

ब्राजिल सात अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । सर्बियाविरुद्ध ब्राजिलले गरेका दुई गोल स्तरीय थिए । त्यसमा ब्राजिलका लागि थिएगो सिल्भाले गरेको दोस्रो गोल निकै राम्रो थियो । यो पनि ‘गुड मुभ, गुड पास, गुड फिनिसिङ’ को अर्को उदाहरण बनेको छ । स्विटजरल्यान्ड यो समूहको दोस्रो स्थानमा रहेर अगाडि बढ्न सफल रह्यो ।

उसले अन्तिम खेलमा कोस्टारिकासँग २–२ को बराबरी खेल्यो । स्विस टिमले दुई पल्ट अग्रता लिएर पनि दुवै अवसरमा त्यसलाई गुमाएर दबाबमा आयो । समूहमा सायद सर्बिया भाग्यमानी रहेन कि ! जे होस, बुधबार राति विश्वकपमा निकै रोमाञ्चक खेलहरू भए । जसरी डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकपबाट बाहिरियो, आउने धेरै दिनसम्म यसबारे चर्चा हुनेछ ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।

प्रकाशित : असार १४, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?