कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पहिलो चरणमै घर फर्केका च्याम्पियन

एएफपी

कजान — जर्मनी दोस्रो विश्वकपयता पहिलोपल्ट विश्वकप फुटबलको पहिलो चरणबाटै बाहिरियो । यो शताब्दीमा डिफेन्डिङ च्याम्पियन समूह चरणबाटै बाहिरिएको यो चौथोपल्ट हो ।

पहिलो चरणमै घर फर्केका च्याम्पियन

उरुग्वेले सन् १९३० मा भएको पहिलो संस्करण जितेको थियो । तर उसले १९३४ को संस्करणका लागि इटालीको यात्रा गरेन । त्यसलाई छाडेर विश्वकपको इतिहासमा छैटौंपल्ट डिफेन्डिङ च्याम्पियनको चुनौती पहिलो चरणमै समाप्त भएको हो । पहिलो चरणबाटै बाहिरिएका डिफेन्डिङ च्याम्पियन :

१९५० : इटाली
दोस्रो विश्वकपअघि इटालीले लगातार दुईपल्ट विश्वकप जितेको थियो । ब्राजिलमा १९५० मा विश्वकप आयोजना हुँदा टिममा थुप्रै परिवर्तन भइसकेको थियो । मे १९४९ को विमान दुर्घटनामा इटालीका टोरिनोको महान टिमका केही अन्तर्राष्ट्रिय खेलाडीको मृत्यु भएपछि इटालीले एटलान्टिक समुन्द्रबाट डुंगामा यात्रा गर्न अस्वीकार गरेको थियो ।

लामो सामुद्रिक यात्रापछि लयमा नरहेको इटालीले सुरुका दुई खेलमध्ये पहिलो नतिजा स्वीडेनलाई ३–२ ले गुमाएको थियो । त्यसपछि पाराग्वेसँग २–० ले हार्‍यो । स्वीडेन समूह विजेता बन्यो र इटाली घर फर्कियो ।

१९६६ : ब्राजिल
पेलेको महान टिम ब्राजिल उत्कृष्ट खेल पस्कँदै अघिल्ला दुई विश्वकपको उपाधि जितेर इंग्ल्यान्ड पुगेको थियो । यो टिमले १९७० को विश्वकप पनि जित्न सक्थ्यो तर १९६६ मा विपद् नै पर्‍यो ।

पेले र गारिन्चाको गोलसँगै ब्राजिलले पहिलो खेलमा एभरटनको मैदान गुडिसन पार्कमा बुल्गेरियालाई २–० ले हरायो । तर बुल्गेरियाले खराब व्यवहार गर्‍यो र पेलेले अर्को खेल छाड्न बाध्य भयो । पेले मैदानबाहिरै भएको खेल हंगेरीले ३–१ ले जितेको थियो ।

उनी समूह चरणबाट माथि उक्लिनका लागि निर्णायक खेलमा युसेबियोको टिम पोर्चुगलविरुद्धको खेलमा फर्किए । तर उनी फेरि अर्को डरलाग्दो टयाकलको सिकार भए । उनी मैदान छाड्न बाध्य बनाइएको खेलमा ३–१ ले हारेसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरियो ।

२००२ : फ्रान्स
फ्रान्स घरेलु भूमिमा १९९८ मा भएको विश्वकप र युरोपियन च्याम्पियनसिप २००० को ट्रफी कब्जा गरेर उत्कृष्ट टिमका रूपमा दक्षिण कोरिया र जापान पुगेको थियो । तर लेस ब्लुजका लागि केही पनि राम्रो भएन । खेलाडीका खुट्टा गोल गर्न असफल भए र उसले खेल नजित्ने पनि सोचिएको थिएन ।

जिनेदिन जिदानलाई चोटको कारण फ्रान्सले सेनेगलसँग १–० ले हारेको पहिलो खेलमा गुमाएको थियो । त्यसपछि फ्रान्सले उरुग्वेसँग गोलरहित बराबरी खेल्यो र त्यसमा थिएरी हेनरीलाई रातो कार्ड देखाइएको थियो । अन्तिम खेलमा जिदान टिममा फर्किए तर उनले डेनमार्कविरुद्ध २–० को हार टार्न सकेनन् । त्यसैले फ्रान्स उपाधि रक्षाको अभियानमा सबैभन्दा खराब नतिजा लिएर घर फर्कियो ।

२०१० : इटाली
जादुयी रूपमा इटालीले २००६ मा जर्मनीमा भएको विश्वकप जितेको थियो । त्यसपछि ‘क्याल्सियोपोली स्क्यान्डल’ का कारण अजुरीको घरेलु फुटबल प्रभावित भयो । त्यसैले हुनसक्छ, २०१० मा दक्षिण अफ्रिकाको यात्रा इटालीका लागि वास्तवमै खराब रह्यो ।

मार्सेलो लिप्पीको टिममा जियानलुइजी बुफोन र फाबियो कानाभारोजस्ता भेट्रान खेलाडी बेन्चमा रहे पनि समूह चरणमा जितको भोक भएजस्तो देखिएन । उसले कुनै पनि खेल जित्न पनि सकेन । पाराग्वे र न्युजिल्यान्डविरुद्ध पछाडि परेको स्थितिमा सुधार गरेर बराबरी गरे पनि इटालीको भाग्य स्लोभाकियाविरुद्ध ३–२ को लज्जास्पद हारसँगै समाप्त भयो ।

२०१४ : स्पेन
च्याम्पियन टिम फेरि पनि चार वर्षअघि ब्राजिलमा स्तब्ध भयो । सबै किसिमबाट रोकिने त्यो टिम बन्यो स्पेन । भिसेन्ट डेल बस्कको टिम सन् २००८ देखि २०१२ सम्म लगातार तीन उपाधि जितेर दक्षिण अफ्रिका पुगेको थियो । तर त्यसले सफलताका लागि भोकोपन टिमले गुमाएको साबित भयो ।

उपाधि रक्षाको अभियानमा दुई खेलमा लज्जास्पद नतिजा बेहोरेसँगै स्पेन घर फर्किने पक्का भइसकेको थियो । उसले नेदरल्यान्ड्सको हातबाट ५–१ को हार बेहोर्‍यो । स्पेनको असफलतालाई माराकानामा चिलीको २–० को जितले निरन्तरता दियो । त्यसले इकर कासियास, जाभी हर्नान्डेज, जाभी अलोन्सोको युग समाप्त गरिदियो । स्पेनको लागि अन्तिम खेलमा अस्ट्रेलियामाथि ३–० को जित सान्त्वना बन्यो ।

२०१८ : जर्मनी
जर्मनीले उत्कृष्ट प्रदर्शन गर्दै २०१४ मा ब्राजिलमा भएको विश्वकपको ट्रफी चुमेको थियो । त्यसपछि उसको प्रदर्शन राम्रै रह्यो । विश्वकपको तयारीका रूपमा गत वर्ष रुसमा भएको कन्फेडेरेसन्स कप पनि जर्मनीले नै जित्यो । त्यसबेला जर्मनीले जुनियर खेलाडीलाई अवसर दिएको थियो ।

कन्फेडेरेसन्स कप र चार वर्षअघि विश्वकप जित्दाका खेलाडीलाई समिश्रण गरिएको जोचिम लोको टिम रुसमा भने खासै चल्न सकेन । पहिलो खेलमै मेक्सिकोले उसलाई १–० ले स्तब्ध बनाइदियो । टोनी क्रुसको अन्तिम क्षणको गोलमा स्वीडेनलाई २–१ ले हराएर जर्मनीले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राख्यो ।

अन्तिम खेलमा दक्षिण कोरियाले २–० को सिकार बनाएर जर्मनीलाई घर फर्काइदियो । यससँगै मेसुट ओजिल, थोमस मुलर, म्यानुयल नोयरको युग समाप्त भएको छ ।

प्रकाशित : असार १५, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?