[विश्लेषण] अब नयाँ पुस्ताको पालो

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा हिजो राति दुई ठूला नामले अन्तिम पटक खेले, अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । लामो समयदेखि यिनै दुई खेलाडी विश्व फुटबलमा छाइरहेका थिए, संयोगले एकै दिन उनीहरूको टिमको चुनौती रुसमा समाप्त भयो । सम्भवत: दुवै खेलाडीका लागि यो विश्वकप अन्तिम हुन सक्छ । 

सायद अबको विश्वकपमा उनीहरूले खेल्ने छैनन्। यससँगै विश्व फुटबलमा एक युगको समाप्त भएको छ र अब नयाँ पुस्तामा विश्व फुटबल हस्तान्तरण भएको छ। अब ठूला नामका रूपमा नयाँ पुस्ताका खेलाडी अगाडि आउने छन्। हिजो रातिका दुई अन्तिम १६ का खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हरायो भने पोर्चुगलमाथि उरुग्वे २–१ ले विजयी रह्यो।

मेरो विश्लेषणमा अर्जेन्टिनालाई सुरुदेखि उनीहरूको अनावश्यक ट्याकल खेल्ने कारणले ठूलो घाटा पुर्‍याएको थियो। फ्रान्सले पहिलो गोल पेनाल्टीबाट गरेको थियो र त्यसमा पनि यही कारण रह्यो। फ्रान्सले त्यसमा ट्याकल नै गर्नु थियो भने सुरुमै पेनाल्टी एरिया बाहिर गर्नु पर्ने थियो। फ्रान्सले भने निकै राम्रो खेल खेल्न सफल रह्यो।

केयनिल एमबापेले अब्बल दर्जाको खेल खेले र उनलाई रोक्न अर्जेन्टिना पूर्णतस् असफल रह्यो। उनीसँगै फ्रान्सले आक्रमणमा जुन गति तयार पारेको थियो, त्यसलाई अर्जेन्टिनाले ठीकसँग सामना नै गर्न सकेन। अर्जेन्टिनाका लागि एन्जेल डि मारियाले एक गोल त गरे, तर त्यस अगाडि उनी खेलमा कहाँतिर थियो, त्यो देख्दै देखिएन्। उनी हराएका जस्तै थिए।

अर्जेन्टिनी डिफेन्स वास्तवमै कमजोर देखियो, पूरा प्रतियोगितामा। यता फ्रान्सले जति आक्रमण बुनेको थियो, त्यसमध्ये गोल नभएको स्थितिमा पनि ती स्तरीय देखिए। फ्रान्सको सफलताको एक कारण सफलतापूर्वक मेसीलाई रोक्नु रह्यो। जसरी फ्रान्सले मेसीलाई रोकेको थियो, ठीक त्यसरी नै उरुग्वेले पनि रोनाल्डोलाई निस्तेज पारेको थियो।

यो पनि यी दुई टिमको सफलताको एक प्रमुख कारण रह्यो। उरुग्वे र फ्रान्सबीचको खेल एक प्रकारले ५०–५० जस्तै रह्यो। तर पनि दक्षिण अमेरिकी टिमले दुई गोल गर्‍यो र दुवै गोल एडिनसन कबानीको नाममा रह्यो। कबानीले यसक्रममा आफू कति स्तरीय खेलाडी हो भनेर सिद्ध गर्न सके। उनका दुवै गोल उत्कृष्ट थिए।

त्यसमध्ये पनि पहिलो गोल निकै राम्रो रह्यो। खासमा उरुग्वेली टिमको प्रमुख विशेषता र बलियो पक्ष भनेकै टिमका दुई प्रमुख खेलाडी लुइस स्वारेज र कबानीबीचको ठीक तालमेल हो। यसै कारणले टिमको गोल पनि निस्के। उरुग्वेले यसैक्रममा लगातार चार खेल जितेको छ, लिग चरणका तीन जितसँगै। यसले देखाउँछ, टिम लयमा छ।

पोर्चुगलले पनि उरुग्वेविरुद्ध आक्रमण नगरेको होइन, तर ती प्रभावशाली देखिएनन्। उरुग्वे दुई गोल गरेपछि केही हदसम्म रक्षात्मक पनि देखियो। तर पोर्चुगललाई गोलको अवसर नदिनुमा उरुग्वेली रक्षापंक्तिको पनि प्रशंसा गर्नै पर्छ। पोर्चुगलले लामो पास खेल्न चाहिरहेको थियो र सकेसम्म बल रोनाल्डोतर्फ फ्यालिरहेको थियो, तर उनी आफै भने उरुग्वेको कडा रक्षापंक्तिको जालोमा थिए।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १७, २०७५ ०७:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

[विश्लेषण] जापान भाग्यमानी सावित

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा बिहीबारदेखि लिग चरणका खेल समाप्त भए । अब अन्तिम १६ मा पुग्ने सबै टिमको निर्णय भइसकेको छ । बिहीबार अन्तिम दुई समूहमा लिग चरणका अन्तिम खेल थिए ।

समूह ‘एच’ बाट कोलम्बिया र जापान दोस्रो चरण पुग्ने । कोलम्बियाले लिग चरणको यात्रालाई सुखद अन्त्य गरेको छ, पहिलो खेल हारेर पनि ।

जापान भने भाग्यमानी रह्यो, फियर–प्लेको नियममा रहेर सेनेगलसँग समान अंक र गोल अन्तरमा पनि अर्को चरण पुग्यो । सेनेगेलका लागि स्थिति दुखद रह्यो । कोलम्बियाले सेनेगललाई १–० ले हरायो । सेनेगललाई त्यो खेल जित्नु थियो, अथवा बराबरीले पनि फाइदा गर्न सक्थ्यो । त्यसैले उसले सायद सुरक्षित रहेर खेल्न ठीक सम्झे जस्तै देखिन्छ ।
यसक्रममा सेनेगलले आक्रामणहरू बुनेपनि त्यो निर्णायक हुन सकेन । उसले कप्तान सादिओ मानेलाई लक्ष्यमा राखेर लामो लामो पास खेलिरहेको थियो । फेरि कोलम्बियाको डिफेन्स पनि मजबुत छ, यसलाई तोड्न सजिलो छैन । कोलम्बियाका लागि येरी मिनाले गरेको गोल उत्कृष्ट थियो । अर्को खेलमा पोल्यान्डले जापानलाई १–० ले नै हरायो ।

जापानले यो खेल बराबरीका लागि खेलेको जस्तो देखिन्थ्यो । खासै जोखिम उठाइरहेको थिएन् । जापानले एक गोल खाएपछि अझ सुस्त खेलेको देखियो । यता पोल्यान्डले पनि एक गोल गरेपछि थप आक्रमणका लागि प्रयास गरेको देखिएन् । उसलाई पनि एक जितसँग घर फर्कनु राम्रो थियो । पोल्यान्डको रणनीति पनि दबाबमा नआउने जस्तै देखियो ।

उसले प्रायस् आफ्ना प्रमुख खेलाडी रोबर्ट लेवनडोस्कीतिर बल पास मिलाउन खेलिरहेको जस्तो देखिन्थ्यो । हिजो नै राति समूह ‘जी’ का खेल पनि भए । यस समूहबाट बेल्जियम र इंग्ल्यान्ड यस अगाडि नै दोस्रो चरण पुसिसकेको थिए । यस्तोमा यी दुई टिमको खेल समूह कसले जित्ने हो भन्ने बारे नै थियो । यसमा बाजी मार्‍यो, बेल्जियमले ।

बेल्जियम १–० ले विजयी रह्यो । उसले आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको थियो । ट्युनिसिया र पानामाबीचको खेल प्रतिष्ठाको लडाइ थियो, यसमा ट्युनिसिया विजयी रह्यो । पानामाले सुरुमै अग्रता लिएर पनि त्यसलाई बचाउन सकेन । दुवै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको हुँदा यसै मानसिकताले उनीहरूको खेललाई प्रभावित पारेको देखियो ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १५, २०७५ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT