क्रोएसिया रोक्ने डेनिस योजना

रोयटर्स

निज्नी नोभ्गोरोड — क्रोएसियाले आइतबार अन्तिम १६ मा डेनमार्कको सामना गर्दा उसको पृष्ठभूमिमा शतप्रतिशत जितको प्रदर्शन रहनेछ । तर यही लयमा रहेको टिमलाई रोक्ने प्रयासमा डेनमार्क हुनेछ आश्चर्यजनक नतिजासँगै ।

क्रोएसिया रोक्ने डेनिस योजना

यो खेल त्यही मैदानमा हुँदै छ, जहाँ क्रोएसियाले लिग चरणमा अर्जेन्टिनालाई ३–० ले हराएको थियो ।

यस खेलको विजेताले क्वाटरफाइनलमा पूर्व विजेता स्पेन वा रुसको सामना गर्नेछ । क्रोएसिया अनुभवी प्ले–मेकर लुका मोड्रिचको नेतृत्वमा छ । उसले समूह ‘डी’ को लिग चरणमा नाइजेरिया र आइसल्यान्डलाई समेत हराएको थियो । यसपल्ट क्रोएसियाको योजना सन् १९९८ को विश्वकपमा भन्दा राम्रो प्रदर्शन गर्ने हुनेछ, जतिबेला टिम सेमिफाइनलसम्म पुगेको थियो ।

‘त्यतिबेला म ९ वर्षको थिएँ, जतिबेला क्रोएसियाले गोल गथ्र्यो, आमा ठू–ठूलो स्वरले कराउनुहुन्थ्यो खुसीले,’ डिफेन्डर डेजान लोभरेनले भनेका छन् । सन् १९९८ मा क्रोएसिया तेस्रो स्थानमा आएको थियो । त्यसका लागि उसले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो । ‘यसपल्ट हामीले अझ राम्रो गर्न सक्छौं, त्यतिबेला भन्दा राम्रो,’ लोभरेनले भनेका छन् ।

तर उनी मान्छन्, यसका लागि टिम भाग्यमानी पनि हुनुपर्छ । किनभने प्रतिद्वन्द्वीहरू कठिन हुँदै छन् । मोड्रिचले रुसी भूमिमा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेका छन् र त्यसमा अर्जेन्टिनाविरुद्ध लामो दूरीबाट गरेको गोल पनि पर्छ । उनीसँगै साथी मिडफिल्डर इभान राकिटिचले पनि राम्रो गरिरहेका छन् । अहिले क्रोएसियाली टिममा नयाँ खेलाडीको पनि उदय भइरहेको छ । जस्तै, एन्टे रेबिच, माटेओ कोभासिच र मार्लेलो ब्रोजोभिच । यी सबैले युरोपका प्रमुख लिगमा खेल्छन् । यता लगातार १७ खेलमा अपराजित डेनमार्क पनि राम्रो प्रदर्शनका लागि आशावादी छ । अहिलेसम्ममको प्रदर्शनमा टोली खुसी पनि छ । समूह ‘सी’ मा डेनमार्क दोस्रो स्थानमा थियो र यसक्रममा २ गोलमात्र गर्न सकेको छ ।

डेनमार्क पनि सन् १९९८ को विश्वकप उपलब्धि समान प्रदर्शन गर्ने योजनामा छ । जतिबेला उनीहरूले क्वाटरफाइनलसम्म यात्रा तय गरेको थियो । त्यस क्रममा डेनमार्कले ब्राजिललाई हराएको थियो र यसलाई त्यहाँको फुटबल इतिहासकै एक समृद्धि उपलब्धि मानिन्छ । डेनमार्कका प्रशिक्षक एजे हारेडेले पनि आफ्नो टिमले आक्रामक फुटबल खेल्ने बताएका छन् ।

फ्रान्सविरुद्धको खेलमा डेनमार्कले सुस्त खेल्दै गोल गर्न इच्छा नदेखाए पनि टिमकै समर्थनले पनि त्यसको आलोचना गरेका थिए । तर यसमा मिडफिल्डर थोमस डेलानीको फरक मत छ । उनले भनेका छन्, ‘फुटबलमा कहिलेकाहीं यस्तो हुन्छ । तर हामी सधैं यस्तो फुटबल खेल्ने टिम होइन । क्रोएसियाविरुद्धको खेल रोचक हुनेमा शंका नगरे हुन्छ ।’

प्रकाशित : असार १७, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?