[विश्वकप विश्लेषण] रुसी रणनीति सफल

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा अाइतबार राति अन्तिम १६ का दुई खेल भए, दुवैको नतिजा टाइब्रेकरमा निस्क्यो । पेनाल्टी सुटआउट आयोजक रुस र क्रोएसियाका लागि भाग्यमानी सावित भयो र दुवैले क्वाटरफाइनलको यात्रा तय गरे । रुसले पहिलो खेलमा पूर्व विश्वकप विजेता स्पेनलाई हराएको हो र यससँगै एउटा शक्तिशाली टिम प्रतियोगिताबाट बाहिरियो । 

रुसले तयार पारेको समग्र रणनीति अन्ततस् सफल भएको देखियो। रुसले अधिकांस समय रक्षात्मक हुँदै खेलेको थियो। पहिलो हाफमा केही आक्रामक देखिएको रुसले बाँकी समय खासै आक्रमणमा रूचि पनि देखाएन। स्पेनको समस्या के रह्यो भने टिमले बलमाथि अत्याधिक नियन्त्रण त राख्यो।

Yamaha

तर यसलाई आक्रमणमा परिणत गर्न सकेन। पूरा खेल अवधिमा स्पेनले सटिक मान्न सकिन चार आक्रमण मात्र बुनेको थियो। टिमले रुसको पेनाल्टी एरियामा बल लान नै सकेन। यो अर्थमा रुसको रक्षापंक्ति सफल देखियो। स्पेनले सुरुदेखि आन्द्रेस इनिस्टालाई खेलाएन र पछि सब्टिच्युट खेलाडीका रूपमा मात्र मैदानमा छिराएको थियो।

प्रशिक्षकको नजरबाट यो गलत निर्णय थियो। उनी आएपछि स्पेनी आक्रमणमा केही सटिकपन आएको थियो। स्पेनले गरेको गोल आत्मघाती थियो र यसमा रुसी डिफेन्डरले बल भन्दा पनि खेलाडीमाथि बढी ध्यान दिएको देखियो। अर्कोतर्फ रुसले गरेको गोल पेनाल्टीमा थियो र यसमा जेरार्ड पिके जस्ता खेलाडीले अनावश्यक ह्यान्ड बल गरे।

टाइब्रेकरमा रुसले जति प्रहार गरेको थियो, सबै निकै उत्कृष्ट थिए। यी सबै प्रहार प्रशिक्षकले चाहे जस्तै रहे। पेनाल्टीमा पावर सट आवश्यक हुन्छ र रुसी खेलाडीले यही काम गरेको देखियो, जबकी स्पेनले गरेका प्रहार जोगिनुमा ती गोलरक्षकको पहुँचमा भएर नै हो। त्यसैले दुई स्पेनी प्रहार गोल हुन सकेनन।

बलमाथि नियन्त्रणको आधारमा जहाँ पहिलो खेल एकपक्षीय थियो, ठीक त्यहीं दोस्रो खेल भने बराबरीको रह्यो। क्रोएसिया र डेनमार्क दुवै आक्रामणमा ध्यान राखेर खेल्यो। खेलको दुवै गोल सुरुमै निस्केको थियो। फुटबलमा के भनिन्छ, भने सुरुआती दस मिनेट निकै जटिल हुन्छ, किनभने यसबीच टिम ‘सेट’ भइसकेको हुन्न।

यो खेलमा पनि यस्तै भयो। अतिरिक्त समयको अन्त्यतिर क्रोएसियासँग निर्णायक अग्रता लिने अवसर थियो, तर लुका मोडरिच पेनाल्टीमा गोल गर्न चुके। तर क्रोएसिया बलियो टिम हो र यसले लिग चरणमा पनि राम्रो खेलेको हो। क्रोएसियाली गोलरक्षकले पेनाल्टीमा राम्रा बचाउ गरे।
(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १८, २०७५ ०७:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सीमा प्रशासनमा दुई वर्षदेखि ताला

मनोज बडु

दार्चुला — ब्यास गाउँपालिका–१ छाङरुमा रहेको सीमा प्रशासन कार्यालय दुई वर्षदेखि बन्द छ । एकजना सहयोगीले कार्यालय कुर्दै आए पनि पछिल्ला दुई वर्षयता ती कर्मचारी ब्यास उक्लिएका छैनन् ।

सीमा प्रशासन कार्यालय रहेको ब्यास गाउँपालिका–१ स्थित छाङरु गाउँ । तस्बिर सौजन्य : अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय

भारत र चीनको सीमा क्षेत्र ब्यासमा ६ महिनाका लागि कार्यालय सञ्चालनमा आउँथ्यो । हिउँदमा सदरमुकाम खलंगा सार्ने चलन थियो । अहिले कार्यालयको ढोकामा ताला झुन्डिएको स्थानीय जितसिंह बोहराले बताए । सरकारले सीमा प्रशासनका लागि शाखा अधिकृतसहित ५ जना कर्मचारीको दरबन्दी तोकेको छ ।

सीमामा दरबन्दी भएका नायब सुब्बा र कार्यालय सहयोगी भने सदरमुकाम खलंगास्थित जिल्ला प्रशासन कार्यालयमा काम गरिरहेका छन् । नायब सुब्बाले नागरिकता फाँटको काम हेरिरहेका छन् । खलंगामा पनि सीमा प्रशासनले ४ कोठे भवन भाडामा लिएको छ । तर, खलंगा र छाङरु दुवै ठाउँमा सीमा प्रशासन कार्यालय सञ्चालनमा नआएको स्थानीयले बताए ।

सीमा कार्यालयबाट गरिँदै आएको अनुमतिपत्रको सिफारिस जिल्ला प्रशासन कार्यालयबाटै भइरहेको नासु सतीश शाहले बताए । सीमा प्रशासनबाटै नागरिकता र छिमेकी मुलुक जाने प्रवेश पास वितरण गर्न २०३४ मा कार्यालय स्थापना गरिएको थियो ।

अहिले त्यसको औचित्य नभएको कर्मचारी बताउँछन् । ‘अधिकृतस्तरको कर्मचारीको व्यवस्था नहुन्जेल ब्यासमा सीमा प्रशासन कार्यालय राख्नुको औचित्य देखिँदैन,’ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भने, ‘बाह्य मुलुकको प्रवेश पास बनाउन पनि अधिकृतस्तरको कर्मचारी आवश्यक पर्छ ।’

उनका अनुसार अहिले सीमा प्रशासनमा नासुस्तरका कर्मचारी मात्र छन् । ‘नासुलाई प्रवेश पास जारी गर्ने अधिकार छैन,’ उनले भने । ब्यासको सीमा प्रशासन कार्यालयले सिफारिस मात्र गर्न मिल्ने उनको भनाइ छ । ‘सिफारिस त कार्यालय सहयोगीले पनि गर्न सक्छ,’ उनले भने ।

विगत दुई वर्षदेखि सीमाका कुनै पनि कर्मचारी छाङरुमा नआएको घरधनी जितसिंह बोहराले बताए । ‘केही वर्षअघिसम्म वैशाखबाट असोजसम्म एकजना कार्यालय सहयोगीले सीमा कार्यालय खोल्थे,’ उनले भने, ‘त्यसयता कार्यालयमा ताला झुन्ड्याइएको छ ।’

पहिले कार्यालयमा नेपाली झन्डा गाडिएको हुन्थ्यो । अहिले झन्डासमेत छैन । सीमा प्रशासन कार्यालयको रेखदेख, समन्वय र परिचालनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीमा हुने लामो समय सीमा प्रशासनमा काम गरेका पूर्वकर्मचारी फकिरसिंह धामीले बताए । सीमा प्रशासन कार्यालयले मासिक रूपमा प्रजिअलाई सीमाको अवस्थाका बारेमा रिपोर्टिङ गर्ने व्यवस्थासमेत रहेको उनको भनाइ छ ।

देशकै सामरिक महत्त्व र संवेदनशील क्षेत्रको सीमा प्रशासन कार्यालयको यस्तो हविगत देख्दा उनी दु:ख प्रकट गर्छन् । ‘भएका कर्मचारी अन्तै खटाइएका छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कर्मचारी खटाएर नियमित कार्यालय सञ्चालन गरिनुपर्छ ।’ नासु साहले भने आफूहरू सीमा कार्यालय छाङरुमा नजाने तर सुरक्षाकर्मीसँगको समन्वयमा मासिक रिपोर्ट प्रजिअलाई बुझाउँदै आएको बताए । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा रहेको कार्यालय सञ्चालनमा लापरबाही भएको ब्यासका स्थानीय मानसिंह धामीले बताए ।

‘सामरिक महत्त्वका क्षेत्रमा कार्यालय सञ्चालन गरी कर्मचारी खटाउनुपर्ने हो,’ उनले भने, ‘राज्यको ध्यान पुगेको छैन । सीमाक्षेत्रमा राज्यको उपस्थिति हुनु आवश्यक छ ।’ स्थानीयलाई पनि राज्य छ भन्ने अनुभूति गराउन तत्काल कार्यालय सञ्चालन गरिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : असार १८, २०७५ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT