मास्केरानोको संन्यास

एजेन्सी

कजान — अर्जेन्टिनी मिडफिल्डर हाभियर मास्केरानोले आफ्नो राष्ट्र विश्वकपबाट बाहिरिएपछि अन्तराष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । अर्जेन्टिना शनिबार अन्तिम १६ भिडन्तमा फ्रान्ससँग ४–३ ले पराजित भएको थियो ।

खेलपछि अर्जेन्टिनी मिडफिल्डर हाभियर मास्केरानो ।तस्बिर : रोयटर्स

अर्जेन्टिनाका लागि ३४ वर्षे मास्केरानाको यो १ सय ४७ औं खेल थियो । उनी अर्जेन्टिनाबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् ।

मास्केरानोले यस विश्वकपमा अर्जेन्टिनाका सबै ४ खेलमा सहभागिता जनाए । रुस यात्रा उनको लगातार चौथो विश्वकप सहभागिता हो । उनले डेपोर्ट टिभीसँग भने, ‘व्यक्तिगत रूपमा मेरा लागि राष्ट्रिय टोलीको यात्रा आजबाट सकिएको छ । अबबाट म एक अर्जेन्टिनी समर्थकमात्र रहनेछु ।’ अर्जेन्टिनाको रिभर प्लेटबाट क्लब फुटबल सुरु गरेका दोहोरो ओलम्पिक च्याम्पियन मास्केरानोले २००३ मा राष्ट्रिय टोलीबाट पहिलोपल्ट खेलेका थिए ।

Yamaha

उनले इंग्लिस प्रिमियर लिगको टोली वेस्टह्यामबाट २००६ मा खेलेपछि लिभरपुल गएका थिए । त्यहीबाट अर्को वर्ष च्याम्पियन्स लिगको फाइनल खेलेका थिए । लिभरपुल फाइनलमा एसी मिलानसँग पराजित भएको थियो । २०१० को जनवरीमा बार्सिलोना लागेका मास्केरानोले त्यसपछि दुईपल्ट च्याम्पियन्स लिग र पाँचपल्ट स्पेनिस ला लिगाको उपाधि जिते । उनले हाल चाइनिज क्लब हेबेई चाइना फोर्टुनबाट खेलिरहेका छन् ।

Esewa Pasal

प्रकाशित : असार १८, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुशील र माला उत्कृष्ट

प्रकाश स्मृति बक्सिङ
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीका खेलाडीले ९ स्वर्ण पदक जित्दै टिम च्याम्पियनको उपाधि जितेका छन् ।

उत्कृष्ट खेलाडीद्वय सुशील थापा र माला राईका साथ मन्त्री बिना मगर ।

आर्मीले पुरुषतर्फ ५ स्वर्णसहित ५ रजत र ६ कांस्य तथा महिलातर्फ ४ स्वर्णसहित २ रजत र ५ कांस्य जितेको थियो । पुरुषमा आर्मीका सुशील थापा र महिलामा एपीएफकी माला राई उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट निर्णायक आठौं साफ खेलकुदका स्वर्ण विजेता प्रकाश थापामगर भए । उनीहरूले समान २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई खानेपानीमन्त्री तथा स्व. प्रकाश दाहालकी पत्नी बिना मगरले पुरस्कृत गरिन् ।

हेभिवेट ९१ केजीमाथिको स्वर्ण आर्मीका आशिष दवाडीले जिते । उनले कैलालीका सुरेश ओझालाई हराए । ९१ केजीमा आर्मीका अर्जुन सिंहले आफ्नै क्लबका गणेश प्रधानलाई पराजित गरी स्वर्ण जिते । ८१ केजीमा कास्कीका दीपक सुनुवारले आर्मीका भूपेन्द्र सिंह, ५२ केजीमा एपीएफका विक्रम परियारले आर्मीका विकास राई र ४८ केजीमा आर्मीका सुशील थापाले एपीएफका आश तामाङलाई हराएर स्वर्ण जिते ।

५६ केजीमा एपीएफका पूरन राईले कास्कीका दिनेश बानियाँ, ६० केजीमा आर्मीका दानबहादुर दर्लामीले झापाका प्रकाश लिम्बू, ६४ केजीमा आर्मीका नरेश थापाले झापाका अविनय राई, ६९ केजीमा कास्कीका हेमराज राउतले आर्मीका रवि सुनार र ७५ केजी तौलमा बानुजका कौशलजंग थापाले आर्मीका कृष्णराज शाहीलाई हराएर स्वर्ण जिते ।

महिलातर्फ आर्मी र एपीएफले समान ४ स्वर्ण जिते । ५४ केजीमा मीनु गुरुङले काठमाडौंकी मीना घले, ५७ केजीमा चन्द्रकला थापाले नक्सालकी कुसुम तामाङ र ६० केजीमा सविना श्रेष्ठले कैलालीकी सविता चौधरी र ७५ केजीमा शिलु डंगोलले आर्मीकै सोनाम रोकालाई हराएर स्वर्ण जितिन् । विजेता सबै आर्मीका हुन् ।

५१ केजीमा माला राईले मकवानपुरकी सन्जुमाया थिङ, ६९ केजीमा सरस्वती रानाले आर्मीकी उमा गुरुङ, ४८ केजीमा सावित्री तामाङले आफ्नै टिमकी नन्जा बुढामगर र ६४ केजीमा विनिता थापामगरले नक्सालकी अम्बिया बिकलाई हराएर स्वर्ण जितेका थिए । विजेता सवै एपीएफका हुन् । विजेता र उपविजेताले क्रमश: १० र ५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : असार १८, २०७५ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT