२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

काभानीको कला

उरुग्वेले फ्रान्ससँग खेल्ने
एएफपी

सोची — इडिन्सन काभानीको दुई गोलमा उरुग्वेले क्रिस्टियानो रोनाल्डोको विश्वकप आशालाई समाप्त पार्दै शनिबार सोचीमा पोर्चुगलमाथि २–१ को नतिजासाथ क्वाटलफाइनल यात्रा गरेको छ । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर काभानीले ६२ औं मिनेटमा गरेको गोलले निकै रोचक बनेको खेलको टुंगो लगाएको थियो ।

काभानीको कला

उरुग्वेले शुक्रबार हुने क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ । फ्रान्सले केलियन एमबाप्पेको दुई गोलमै दिनको पहिलो खेलमा अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । विश्वका दुई सुपरस्टार अन्तिम १६ को पहिलो दिनकै खेलबाट घर फर्कने भएका हुन् । लियोनल मेसीले पनि आफ्नो राष्ट्र अर्जेन्टिनालाई क्वाटरफाइनल पुर्‍याउन सकेनन् ।

काभानीले सुरुआतमै उरुग्वेलाई अग्रता दिलाएका थिए । पेपेले कर्नरबाट आएको बलमा हेडबाट गोल गरेपछि खेलको रोमाञ्च बढयो । किनभने उरुग्वेले प्रतियोगितामा खर्चेको यो पहिलो गोल थियो । त्यसपछि पनि उरुग्वेका जब्बर रक्षापंक्तिको अगाडि पोर्चुगलको केही लागेन र दक्षिण अमेरिकी राष्ट्रले रुस विश्वकपमा आफ्नो बलियो दाबेदारिता देखायो ।

घाइते काभानीलाई मैदानबाट निस्कने क्रममा साथ दिँदै क्रिस्टियानो रोनाल्डो ।तस्बिर : रोयटर्स

ओस्कार टाबारेजको टोलीका लागि चिन्ता भनेको काभानीलाई लिएर मात्र रहेको छ । खेलका क्रममा चोट लागेर निस्किएका काभानीले फ्रान्ससँगको खेल खेल्नसक्ने हो वा होइन अनिश्चित छ । ‘हामी धेरै खुसी छौं र गर्व पनि छ । यो विशेष दिन हो,’ विजयी प्रदर्शन गरेपछि काभानीले भने । उनले आगामी खेल्ने सम्भावनाबारे भने, ‘मैले पनि खेल्ने आस लिएको छु । त्यसका लागि म सक्दो प्रयास गर्नेछु ।’

उरुग्वेलाई पनि अगाडि बढ्न काभानीको आवश्यकता छ । लुइस स्वारेजसँग काभानीको स्ट्राइकिङ जोडीले अन्तर्राष्ट्रिय फुटबलमा विपक्षी हल्लाउने गरेको छ । स्वारेजको पासमा आठौं मिनेटमा हेडबाट पहिलो गोल गरेका काभानीले उनकै पासमा ६२ औं मिनेटमा सुन्दर गोल गरेका थिए ।

यता पराजयका बाबजुत रोनाल्डोले अन्तर्राष्ट्रिय खेलयात्रा कायम राख्ने आशा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसको छ । ‘यो दुखद विषय हो, हामी अगाडि बढ्न सकेनौं । हामीले दोस्रो हाफमा राम्रो खेल्यौं, सम्भव भएसम्म सबै गर्‍यौं । तर उरुग्वेलाई बधाई दिनैपर्छ,’ सान्तोसले भने, ‘मैले रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल खेलिरहने आशा लिएको छु । उनले फुटबललाई अझै धेरै दिन बाँकी छ ।’

खेलको अन्तिममा फ्रिकिक नदिएकामा रोनाल्डो रेफ्रीमाथि खनिएका थिए । जसका कारण उनी पहेँलो कार्डको भागिदार बनेका थिए । प्रतियोगितामा यो उनले पाएको यो दोस्रो पहेँलो कार्ड थियो । उरुग्वेलाई पराजित गर्दै अगाडि बढेको भए रोनाल्डोले पोर्चुगलले खेल्ने क्वाटरफाइनल दुई पहेँलो कार्डका कारण निलम्बनमा गुमाउन सक्थे ।

प्रकाशित : असार १८, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?