१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुमधुर यात्रामा बेल्जियमलाई डर

एएफपी

मस्को — बेल्जियमले सोमबार विश्वकप २०१८ को अन्तिम १६ मा जापानको सामना गर्दा टिम पूरा आत्मविश्वासी रहनेछ । किनकि अहिलेसम्मको सुमधुर यात्राले गर्दा । तर यस्तै स्थितिमा प्रतिद्वन्द्वी टिमले उसलाई माथ खुवाएको इतिहासको पृष्ठभूमिमा बेल्जियमका लागि आत्मविश्वास पनि घातक हुनसक्ने डर हुनेछ ।

सुमधुर यात्रामा बेल्जियमलाई डर

यी दुई टिमले नकआउट चरणसम्म तय गरेको यात्रा नितान्त फरक छ । जापान पोल्यान्डसँग १–० ले पराजित भए पनि लाजमर्दो स्थितिमा अगाडि बढेको हो । सेनेगलमाथि कम पहेँलो कार्ड खाएको आधारमा । बेल्जियमले भने दोस्रो रोजाइको टिम उतारेर पनि इंग्ल्यान्डलाई १–० ले हरायो । बेल्जियम लिग चरणका तीनै खेलमा विजयी रह्यो ।

रोबर्टो मार्टिनेजको टिम पछिल्लो २२ खेलमा अपराजित छ । गत नोभेम्बरमा बेल्जियमले जापानविरुद्धको मैत्रीपूर्ण खेल १–० ले जितेको थियो । त्यसमा रोमेलु लुकाकुले गोल गरेका थिए । यसपल्ट रुसमा उनले दुई खेलमा ४ गोल गरिसकेका छन् । खुट्टाको चोटबाट मुक्त भएयता उनी जापानको सामना गर्दा बेल्जियमका लागि उपलब्ध हुनेछन् ।

रोस्तोभ–अन–डनमा हुने खेलअगाडि बेल्जियमका प्रशिक्षक मार्टिनेजले भनेका छन्, ‘समूह चरणमा प्राप्त गरेको उत्कृष्ट लयमै टिकेर हामी जापानको सामना गर्नेछौं ।’

बेल्जियमविरुद्धको फ्रेन्ड्लीयता भने जापान आफैं धेरै नाटकीय परिवर्तनबाट गुज्रेको छ । वर्तमान प्रशिक्षक अकिरा निसिनो दुई महिनाअगाडि नियुक्त भएका थिए ।

उनको आगमनयता जापान आक्रामक भएको छ । यसैक्रममा उसले पहिलो खेलमा कोलम्बियालाई हराएको पनि थियो । निसिनो भन्छन्, ‘बेल्जियम बलियो टिम हो, काउन्टर आक्रमणमा विपक्षी टिमलाई कसरी दु:ख दिनुपर्छ यो टिमलाई राम्रोसँग थाहा छ ।’ उनले पोल्यान्डविरुद्धको सुस्त खेललाई लिएर धेरै आलोचना भएपछि बेल्जिमयविरुद्ध भने सुधारिएको खेल प्रदर्शन गर्ने बताएका छन् ।

जापान अहिलेसम्म अन्तिम १६ भन्दा अगाडि जान सकेको छैन । यस्तोमा ‘सामुराई ब्लु’ ले बेल्जियमविरुद्ध अगाडि कप्तान माकोतो हासबेसँगै बोरुसिया डर्टमन्डका सिन्जी कागावा र युया ओसाकोलाई खेलाउने छ । यता मार्टिनेजसामु भने ‘स्वर्णिम पुस्ता’ का प्रतिभाशाली खेलाडीलाई सफल पुस्ताका खेलाडीमा परिणत गर्ने जिम्मेवारी हुनेछ ।

लिग चरणमा ९ अंकका लागि ९ गोल गरेको बेल्जियमले इंग्ल्यान्डविरुद्धको खेल जितेर पश्चाताप पनि गरेको छैन । यसै जितका लागि उसले क्वाटरफाइनलमा कडा प्रतिद्वन्द्वी पाउन सक्नेछ । ‘यस्तो तथ्यमा विश्वास अगाडि बढ्नु ठीक होइन । हामीले त्यही गर्ने हो, जसका लागि हामी तयार छौं ।’ चार वर्षअगाडि सन् २०१४ को विश्वकपमा पनि बेल्जियम क्वाटरफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

प्रकाशित : असार १८, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?