१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

[विश्लेषण] नेयमर लयमा देखिए

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा ठूला टिम बाहिरिरहेको स्थितिमा साेमबार रातिका दुई खेलमा त्यस्तो भएन् । ब्राजिल र बेल्जियम बलिया टिम हुन् र उनीहरू दुवै क्वाटरफाइनल पुग्न सफल रहे ।

[विश्लेषण] नेयमर लयमा देखिए

ब्राजिलले पहिलो खेलमा मेक्सिकोलाई २–० ले पन्छायो । ब्राजिलले खेलको सुरुमा सुरक्षालाई ध्यानमा राखेर खेलेको थियो र आक्रमणका लागि पर्खिरहेको देखिन्थ्यो ।

मेक्सिकोले सुरुआती २४ मिनेटसम्म ब्राजिललाई दबाबमा राख्यो र खुलेर खेल्न नै दिएन । त्यसयता भने ब्राजिल लयमा देखिन सुरु भयो, तर पहिलो हाफमा गोल सम्भव भएन् । नेयमरले ५१ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफमा ब्राजिल लयमा देखियो, नेयमर आफै पनि लयमा देखिन थाले ।

उनी विश्वस्तरीय खेलाडी हुन्, उनले यसअघि नै आफूलाई सिद्ध गरिसकेका छन् । लिग चरणमा नेयमारले जस्तो खेलेको थियो, त्यसको तुलनामा मेक्सिकोविरुद्ध उनले धेरै राम्रो खेले । उनको खेल यस्तै रहने हो भने ब्राजिलको विश्वकप यात्रा अझ लम्बिने छ । उनके पासमा रोबर्टो फिरमिनोले ८८ औं मिनेटमा दोस्रो गोल पनि गरे ।

ब्राजिलका लागि नेयमर मात्र होइन, फिलिपे कोउटिन्हो र विलियन तीनै खेलाडीले राम्रो गरे । यो ब्राजिली टिमको एउटा प्रमुख कारण रह्यो । यता मेक्सिकोले भने ‘डिफेन्स टु एटायक’ खेलिरहेको थियो र सुरुमा त्यसमा सफल पनि देखियो । तर यसलाई अन्त्यसम्म कायम राख्न सकेन । उसका लागि गोलरक्षकले भने राम्रो गरे ।

बेल्जियमले भने जापानविरुद्धको खेलमा गज्जब ‘कमब्याक’ गर्‍यो । नतिजा उसको पक्षमा ३–२ रह्यो । दुई गोल खाएर पनि तीन गोल फर्काउन सक्नुले पनि देखाउँछ, यो टिम वास्तवमै कति बलियो छ भनेर । अब अन्तिम आठमा यिनै दुई टिम भिड्ने छन् र यो साँच्चै हेर्न लायकको खेल हुनेछ ।

जापानले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो र एक समय देखिएको थियो, अब यो टिम अन्तिम आठमा पुग्ने छ । तर यस्तो हुन सकेन । बेल्जियमका तर्फबाट ६९ औं मिनेटमा भान भेरटोनगेनले गोल गरे र खेल २–१ को स्थितिमा आयो । मेरो विचारमा खेलको ‘टर्निङ–प्वाइन्ट’ नै यही थियो ।

कुनै पनि बलियो टिम जति बेला खेलमा पछाडि पर्छ, त्यसको कारण लगातार आक्रमण हुने गर्छ । जापानको दोस्रो गोल काउन्टर आक्रमणमा भएको थियो र यो त्यसै कारणले हो । तर बेल्जियमले लगातार आक्रमणको रणनीतिलाई भने छाडेन । बेल्जियमलाई जापानमाथि शारीरिक रूपमा पनि फाइदा देखियो । बेल्जियमका खेलाडी निकै बलिया र अग्ला देखिन्थे ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १९, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?