१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

फिफा विश्वकप २०१८ः फ्रान्स उपाधि तिर लम्किँदै 

एएफपी

निज्नी नोभगोरोड — फ्रान्स सन् २००६ पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । राफाइनल भारान र एन्टोइन ग्रिजमनको गोलमा फ्रान्सले शुक्रबार क्वाटरफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्‍यो । फ्रान्सले सेमिफाइनलमा ब्राजिल र बेल्जियमबीचको विजेतासँग खेल्ने छ । 

फिफा विश्वकप २०१८ः फ्रान्स उपाधि तिर लम्किँदै 

फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनामाथी विजय हात पार्दाको जुन रोमाञ्चक खेल थियो, त्यसको तुलनामा उरुग्वेसँगको खेल निकै फिका थियो । खेल दुई टोलीका गोलरक्षकका कारण याद गरिन्छ । उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले ग्रिजमनको सजिलो प्रहार ग्रिप चिपलाउन पुग्दा फ्रान्सको नाममा दोस्रो गोल चढेको थियो ।


त्यसको विपरित फ्रान्सका कप्तान एवंम गोलरक्षक हुगो लोरिसले असाधरण बचाउ गर्दै उरुग्वेलाई बराबरीमा ल्याउनबाट रोकेका थिए । ग्रिजमनको फ्रिकिमा रियल म्याड्रिडका रक्षक भारानले ग्लान्सिङ हेडरमा गोल गर्दै ४० औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाए । उरुग्वे घाइते स्ट्राइकर इडिनसन काभानी बिनै खेलिरहेको थियो । पोर्चुगलमाथि अघिल्लो खेलमा विजय हात पार्दा उरुग्वेबाट दुबै गोल गरेका काभानीको नाम बेन्चमा पनि थिएन् ।


फ्रान्सको पहिलो गोल लगत्तै उरुग्वे बराबरी गोलका नजिक पुगेको थियो । मार्टिन कासेरेजले गरेको हेड प्रहारलाई फ्रान्सका गोलरक्षक लोरिसले डाइभ हान्दै एक हातले जोगाएका थिए । त्यसैमा रिबान्डमा प्राप्त अवसरमा उरुग्वेका कप्तान डिइगो गोडिनले पोष्ट माथि हान्न पुगे ।


दोस्रो हाफमा फ्रान्सले उपहार पायो । ग्रिजमनले पेनाल्टी बक्स बाहिरबाट देब्रे खुट्टाले गरेको प्रहार मुस्लेराको हातैमा आए पनि उनले राम्रोसँग जज गर्न नसक्दा गोल हुन पुगेको थियो । क्वार्टरफाइनलमा भिड्नु अघि दुई टोली प्रतियोगितामा अपराजित रहेका थिए । उरुग्वेले समूह चरणका तीन खेलमा कुनै गोल खर्चेको थिएन् । उरुग्वे २०१० मा पछिल्लो पटक विश्वकपको सेमिफाइनलमा पुगेको थियो ।

प्रकाशित : असार २२, २०७५ २३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?