अभागी ब्राजिल, कमजोर उरुग्वे

विश्वकप विश्लेषण
नवीन न्यौपाने

काठमाडौँ — उरुग्वेले पहिलो चरणमा गरेको प्रदर्शन शुक्रबार खेल्न सकेन । फ्रान्सविरुद्ध रक्षात्मक रणनीति लिएर उत्रिएको उरुग्वेले काउन्टर अटयाकको सहारा लिएर फ्रान्सलाई दबाबमा राख्ने प्रयास गरेको थियो ।

पछिल्ला खेलमा निकै राम्रो देखिएको लुइस स्वारेज र इडिन्सन काभानीको जोडी पनि उरुग्वेले कमी महसुस गर्‍यो । काभानी नहुनाले उरुग्वेको आक्रमणमा धेरै कमजोरी देखियो ।

शारीरिक रूपमा केही बलियो देखिए पनि उरुग्वेले धेरै फाउल खेलेको थियो । फ्रान्सले त्यसै गल्तीबाट निस्केको फ्रिकिकको फाइदा लिँदै खेलमा अग्रता लिन सफल भयो । एन्टोइन ग्रिजमनको उत्कृष्ट फ्रिकिकलाई भारानले पोस्टको दिशा दिए । फ्रान्सले बल पोसेसनमा धेरै ध्यान पुर्‍याएको थियो । आक्रमणमा ग्रिजमन र केलियन एमबाप्पेले बिल्डअपबाट आएको केही मौकाको सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा फ्रान्सका गोलरक्षक हुगो लोरिसले गरेको उत्कृष्ट बचाउले पनि खेल फ्रान्सकै पक्षमा राख्न मदत पुर्‍याएको थियो । दोस्रो हाफमा फ्रान्सले उरुग्वेको गल्तीको फाइदा उठाउँदै अग्रता दोब्बर पार्‍यो । ग्रिजमनको लामो प्रहारलाई गोलरक्षक फर्नान्डो मुस्लेराले बचाउन सकेनन् । तर त्यसअघि डिफेन्सले ग्रिजमनलाई उक्त प्रहार गर्न दिनु नै गल्ती थियो । डिफेन्सले केही अल्छी गरेको जस्तो देखियो ।

उरुग्वेको मुख्य हतियार नै स्वारेज र काभानीको साझेदारी थियो । काभानी नहुने बित्तिकै उरुग्वेले त्यही धारमा प्रदर्शन गर्न सकेन । फ्रान्सले एक सन्तुलित टोलीको प्रदर्शनलाई निरन्तरता दियो । गोलरक्षणदेखि डिफेन्स, मिडफिल्ड र फरवार्ड सबै पक्षमा खेलाडीको सन्तुलन मिलेको छ । दाबेदारको रूपमा प्रतियोगिता सुरुआत गरेको फ्रान्स उपाधितर्फ अग्रसर छ ।

अर्को क्वाटरफाइनलमा ब्राजिल बेल्जियमसँग पराजित हुन पुग्यो । ब्राजिलले आफ्नो नियमित शैलीलाई निरन्तरता दिएको थियो । खेलको सुरुआतमा पाएको मौका सदुपयोग गर्न नसक्नु ब्राजिललाई भारी पर्‍यो । बेल्जियमले आत्मघाती गोलको सहाराले अग्रता लिन सक्यो । दुवै टोलीको आक्रमण राम्रो भए पनि खेलमा जम्न दुवै टोलीलाई समय लाग्यो । ब्राजिलका विलियनले पछिल्ला खेलको प्रदर्शनलाई निरन्तरता दिन सकेनन् । नेयमर र कोउटिन्होले अपेक्षाकृत प्रदर्शन गरे पनि बेल्जियमका डिफेन्स बाधक बनिरह्यो ।

बेल्जियमले ट्रान्जिसनमा ब्राजिललाई माथ दिँदा खेलमा पकड बनाउन सक्यो । डिफेन्सबाट अटयाकमा जाँदा बेल्जियमले दबाब बनाउन सक्यो । विशेषत: भिन्सेन्ट कोम्पनीको आगमनले बेल्जियमको डिफेन्स अझै बलियो देखिएको छ । उनले पहिलो चरण चोटका कारण बाहिर बसेका थिए । गोलरक्षक थिबाउट कोर्टियसले पनि निकै राम्रो खेले । लगातार ब्राजिलको आक्रमणको बाधक बनेका उनले ठूलो खेलमा चाहिने प्रदर्शन दिए । इडेन हाजार्ड, रोमेलु लुकाकु र केभिन डे बु्रयनले तीव्र गतिको आक्रमणसँगै ब्राजिलको डिफेन्सलाई निरन्तर दबाबमा राखिरहे ।

बेल्जियम र फ्रान्स दुवै टोली सन्तुलित देखिन्छ । सेमिफाइनल पोलमा यो फ्रान्स र बेल्जियमको खेल निकै कठिन देखिन्छ । सेमिफाइनलमा दुवै टोलीले निकै कम अवसर पाउने देखिन्छ । जसले पाएको सानो अवसरको सदुपयोग गर्छ, उसैले उपाधि भिडन्तमा स्थान बनाउने देखिन्छ ।

Yamaha

प्रकाशित : असार २४, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

[विश्लेषण] इंग्ल्यान्डले आफूलाई प्रमाणित गर्‍यो

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा मंगलबारदेखि अन्तिम १६ का खेल पनि समाप्त भए । अब प्रतियोगितामा आठ टिमको चुनौती बाँकी रहेको छ । जसमध्ये पहिलो खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १–० ले हरायो भने इंग्ल्यान्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्‍यो ।

अब केही दिनको विश्रामपछि क्वाटरफाइनल चरणको रौनकता सुरु हुन्छ।

निर्धारित समयसम्म दुवै टिम १–१ को बराबरीमा थिए। अतिरिक्त समयमा पनि कुनै गोल हुन सकेन, त्यसैले पेनाल्टी सुटआउटको आवश्यकता परेको हो। यसपल्टको विश्वकपमा इंग्ल्यान्डले युवा टिम उतारेको थियो र यसले क्वाटरफाइनलसम्मको यात्रा तय गर्छ भन्ने अपेक्षा थिएन। तर यही इंग्ल्यान्ड टिमले सबै प्रकारको अनुमानलाई गलत सावित गर्दै अन्तिम आठको यात्रा तय गरेको छ।

यसैक्रममा टिमले आफूलाई प्रमाणित पनि गर्न सकेको छ। इंग्ल्यान्डले हिजोको खेलमा तीव्र गतिमा आक्रमणको प्रयास गरेको थियो। सेट प्लेको अवसर सिर्जना गर्नका लागि प्रयास गरिरहेको थियो। कोलम्बियाले भने सुरुमा राम्रो गर्न सकेन। इंग्ल्यान्डले ५७ औं मिनेटमा एक गोल गरिसकेपछि मात्र कोलम्बियाले खेलमा आफ्नो वास्तविक लयमा देखिएको जस्तो लाग्यो, यसअघि उसले आफ्नो वास्तविक खेल प्रदर्शन गर्न सकेन।

कोलम्बियाले निर्धारित समयको खेलको अन्त्यतिर बराबरी गोल फर्काएको थियो। यसले पनि सिद्ध भएको छ, फुटबलमा जुन सुकै बेला जस्तै स्थिति पनि तयार हुन सक्छ। जबसम्म रेफ्रीले खेल सकेको संकेत गर्दैन, सबै खाले सम्भावना कायम हुन्छ, यो तथ्य फेरि एकपल्ट सिद्ध भएको छ। टाइब्रेकरमा इंग्ल्यान्डका लागि गोलरक्षकले राम्रा बचाउ गरे। यसअघिको खेलमा स्विडेनले लामो पासमा आक्रमण गर्ने प्रयास गरिरहेको थियो।

स्विस टिमले भने दायाँ र बायाँ बल क्रस गरेर आक्रमणका लागि रणनीति बुनेको देखियो। तर यो सफल भने हुन सकेन। खासमा स्विडेनी डिफेन्स निकै बलियो छ। स्विडेनले एक गोलको अग्रता प्राप्त भएपछि रक्षापंक्तिमा जोड दिएर काउन्टर एटायकका लागि प्रयास गरेको पनि देखियो। समग्रमा स्विडेनले धेरै अवसर गुमाएको पनि थियो, तर अन्त्यमा जित उसकै भयो र अगाडि बढ्न सफल रह्यो।

प्रकाशित : असार २०, २०७५ ०७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT