कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

[विश्लेषण] इंग्ल्यान्डको आक्रमण अब्बल

नवीन न्यौपाने

काठमाडौँ — स्वीडेन र इंग्ल्यान्डको खेल सोचेअनुरूप हुन सकेन । इंग्ल्यान्डले खेलको सुरुआतदेखि नै विपक्षी हाफमा बल खेलेर विंगबाट आक्रमण बुन्ने रणनीति अपनाएको थियो । दुवैतर्फका विंगब्याकले आक्रमणमा नै बढी समय बिताएको देखियो ।

[विश्लेषण] इंग्ल्यान्डको आक्रमण अब्बल

विश्वकप अवधिभर इंग्ल्यान्डले सेट पिसबाट धेरै गोल गर्ने अवसर सिर्जना गरेको छ र त्यसको प्रतिफल पनि प्राप्त गरिरहेको छ । स्वीडेनविरुद्ध पनि सुरुआती अग्रता कर्नरमार्फत नै ह्यारी मगाएरको कर्नरबाट निस्कियो ।

स्वीडेनको बलियो पक्ष भनेको रक्षात्मक खेल हो । आक्रमणमा स्वीडेनले पहिलो हाफमा कुनै किसिमको खतरा सिर्जना गर्न सकेन । लामो पासलाई प्राथमिकता दिएको स्वीडेनले इंग्ल्यान्डको डिफेन्सलाई चिर्न निकै मिहिनेत गर्नुपरेको थियो । पाएका केही अवसरमा पनि इंग्लिस गोलरक्षक जोर्डन पिकफर्डले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता कायम राखे ।

दोस्रो हाफको सुरुआतमा स्वीडेनले अग्रता लिने मौकाको सदुपयोग गर्न सकेन । त्यसबेला खेल बराबरी गरेको भए खेलको मोड परिवर्तन हुन सक्थ्यो । तर स्वीडेन त्यसपछि फेरि सेलाउँदै गयो र थप आक्रमण गर्न सकेन ।

इंग्ल्यान्डले खेलमा पुन: पकड बनाउँदै अग्रता दोब्बर पार्न सक्यो । डेले अलीको गोलमा स्वीडेनको खराब मार्किङ नै मुख्य कारण बन्न पुग्यो । स्वीडेनले आक्रमणमा जोड दिने प्रयास गरे पनि इंग्ल्यान्डले संयमित प्रदर्शन गर्दै जित पक्का गर्‍यो । स्वीडेनलाई आक्रमण गर्न नदिन इंग्ल्यान्डले बल पोसेसनमा बढी ध्यान दिएको थियो ।

प्रतियोगिता दौरान इंग्ल्यान्डले कमजोर टोलीसँग खेल्नुपर्‍यो भन्नु जायज हुँदैन । विश्वकपमा आएपछि हरेक टोलीले उत्कृष्ट प्रदर्शन गर्न खोजेका हुन्छन् । स्वीडेनले राम्रो खेल्न नसकेको हो तर यही टोली जर्मनीको समूहमा विजेता बन्दै अगाडि बढेको हो ।

स्टरलिङको तीव्र गति, केनको सिल्डिङ र लिंगार्डको मिडफिल्डमा मिहिनेत इंग्ल्यान्डको हतियार बनेको छ । यही आक्रमणलाई रोक्न खोज्दा विपक्षीले सेट पिसको अवसर दिएका छन् र इंग्ल्यान्डले त्यसको भरपूर सदुपयोग गरेको छ । रसियाले प्रतियोगिताको सुरुआती दुई खेल आक्रामक रणनीति लिएर खेलेको थियो । ती दुवै खेलमा सहज जित हात पारेको टोलीले त्यसपछि भने ठूला टोली उरुग्वे र स्पेनसँग रक्षात्मक रणनीति अपनायो ।

क्रोएसियाविरुद्ध पनि रक्षात्मक देखिएको रुस आक्रमणका लागि काउन्टर अट्याकमा भर परेको थियो । डिफेन्स र आक्रमणको ट्रान्जिसन पिरियडमा तीव्र गतिको आक्रमण गर्ने रुसको प्रयासले पहिलो हाफमा सफलता पायो ।

काउन्टर गर्दा फरवार्ड आर्टेम ज्युबालाई टार्गेट बनाएर गरेको आक्रमणमै गोल निस्केको थियो । चेरेसेभले उत्कृष्ट प्रहार गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । रुसले आफ्नो अग्रता बचाउन नसक्नु दुर्भाग्य भयो । पहिलो हाफसम्म अग्रता बचाएको भए रुसले खेलमा नतिजा ल्याउने सम्भावना थियो ।

क्रामारिचले मान्जुकिचको पासलाई सदुपयोग गर्दै गोल गरेपछि क्रोएसिया खेलमा फर्कियो । दोस्रो हाफमा दुवैतर्फबाट केही प्रयास भए पनि गोल निस्कन सकेन । अतिरिक्त समयमा क्रोएसियाले गोल गरेपछि रुससँग आक्रमणमा जानुको विकल्प रहेन । आक्रामक रुस निरन्तर दबाबपछि गोल गर्न सफल भयो । खेल बराबरीमा सकिएसँगै दुवै टोली लगातार दोस्रो खेलमा टाइब्रेकरमा पुगे । स्पेनविरुद्ध कुनै दबाबमा नरहेको रुस यसपटक दबाबमा देखियो । पेनाल्टी प्रहार फ्रेममा हान्न नसक्नु दबाबकै कारण हो । यता क्रोएसिया आत्मविश्वासी देखिँदै टोलीलाई जित दिलाउन सफल रह्यो ।

अब सेमिफाइनल खेलमा इंग्ल्यान्ड र क्रोएसियाको भिडन्त निकै रोमाञ्चक हुनेछ । इंग्ल्यान्ड आक्रामक रूपमा निकै बलियो छ र क्रोएसियाले नतिजा हासिल गर्न डिफेन्समा निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । क्रोएसियाको पनि मिडफिल्ड निकै राम्रो देखिन्छ । आक्रमणमा सुधार गरे क्रोएसियाले पनि केही कठिन समय सिर्जना गर्न सक्छ ।

प्रकाशित : असार २५, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?