उपाधि होडमा उभिएकाहरू

राजु घिसिङ

मस्को — सर्वाधिक पाँचपल्टको च्याम्पियन ब्राजिल र उरुग्वे क्वाटरफाइनलमै पराजित भएसँगै २१ औं विश्वकप युरोपेली टिमको कब्जामा गइसकेको छ । यसपालि अन्तिम चारमा पुगेका चार टिममध्ये फ्रान्स र इंग्ल्यान्ड च्याम्पियन नै भइसकेका छन् ।

उपाधि होडमा उभिएकाहरू

इंग्ल्यान्डले घरेलु भूमिमा सन् १९६६ मा उपाधि जितेको थियो भने सफलता फ्रान्सले १९९८ मा हात पारेको थियो । जिनेदिन जिदान नेतृत्वको फ्रान्स २००६ को विश्वकप फाइनलमा भने इटालीसँग हारेको थियो ।

सेमिफाइनलमा फ्रान्स र बेल्जियम मंगलबार सेन्ट पिटर्सबर्गमा भिड्नेछन् । अर्को सेमिफाइनल इंग्ल्यान्ड र क्रोएसियाबीच मस्कोमा बुधबार हुनेछ । बेल्जियम र क्रोएसिया दुवै दोस्रोपल्ट सेमिफाइनल पुगेका हुन् तर दुवैले फाइनल खेल्ने अवसर पाएका छैनन् ।

त्यसैले यसपालिको विश्वकपको फाइनलमा दुवै टिम नयाँ पनि हुनसक्छ । अथवा दुवै टिम दोस्रोपल्ट विश्वविजेता बन्ने होडमा फाइनलमा खेल्न पनि सक्छन् । रुसमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा पुगेका टिम कस्ता छन् :

फ्रान्स

स्टार खेलाडीले भरिएको टिम हो फ्रान्स । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बादेखि एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिजमन अनि नयाँ पेलेका रूपमा उदाइरहेका पेरिस सेन्ट जर्मेनका युवा खेलाडी किलियन एम्बाप्पेसम्म फ्रान्सेली टिममा छन् । उसका २३ खेलाडी नै स्टार फुटबलर भन्न लायक छन् ।

फ्रान्सले यो विश्वकपको सुरुआत भने सुस्त गतिमा गरेको थियो । उसले पहिलो खेलमा अस्ट्रेलियालाई र दोस्रोमा पेरुलाई पराजित गर्न निकै संघर्ष गर्नुपरेको थियो । समूह चरणको अन्तिम खेलमा डेनमार्कविरुद्ध गोलरहित रहँदा पनि उसका खेलाडीले नाम र कौशलअनुसार प्रदर्शन गरेका थिएनन् । तर सही समयका उसका खेलाडी लयमा फर्किए ।

लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाविरुद्ध अन्तिम १६ को प्रतिस्पर्धामा फ्रान्सले वास्तवमै लोभलाग्दो खेल देखाएको थियो । त्यसमा १९ वर्षीय एम्बाप्पेको प्रदर्शन निर्णायक रहेको थियो । उनले क्वाटरफाइनलमा उरुग्वेविरुद्ध हात पारेको जितमा पनि प्रभाव देखाएका थिए । तर उनी अझै परिपक्व भइसकेका छैनन्, युवा नै छन् ।

अग्रपंक्तिमा एम्बाप्पे र ग्रिजमनले कुनै पनि डिफेन्सलाई ध्वस्त पार्नसक्छन् । अर्का फरवार्ड ओलिभर जिरोड भने चल्न सकेका छैनन् । उसको डिफेन्सको प्रदर्शन सुधारिएको छ । त्यसैले दुई दशकपछि फेरि फ्रान्स विश्वविजेता बन्ने बाटोमा अगाडि बढ्न सक्छ ।

मुख्य खेलाडी
किलियन एम्बाप्पे
विश्वकप २०१८ यात्रा
गोल प्रतिद्वन्द्वी
२–१ अस्ट्रेलिया
१–० पेरु
०–० डेनमार्क
४–३ अर्जेन्टिना
२–० उरुग्वे

बेल्जियम
इतिहासको तथ्यांकले पनि मनोवैज्ञानिक रूपमा मैदानको खेलमा असर गर्छ भनिन्छ । स्टारहरूले भरिएको टिमको चुनौती चाँडै समाप्त भएका उदाहरणले पनि त्यसलाई प्रमाणित गर्छ । तर, यसपालि बेल्जियमको पक्षमा भने त्यस्तो भएन । उसले पनामालाई ३–० ले हराएर सानदार सुरुआत गरेको थियो र त्यसलाई क्वाटरफाइनलसम्म निरन्तरता दिएको छ । उसले पाँचै खेल निर्धारित समयमै जितेको छ ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमुलु लुकाकु र चेल्सीका इडन हाजर्डले रुसमा सुरुबाटै मैदानमा प्रभाव देखाइरहेका छन् । म्यानचेस्टर सिटीका विंगर केभिन डे ब्रुयनी पनि सही समयमा लयमा फर्किएका छन् ।

उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा बेल्जियमले क्वाटरफाइनलमा उपाधिको सबैभन्दा बलियो दाबेदार मानिएको ब्राजिललाई पराजित गरेको थियो । त्यसमा डे ब्रुयनी, लुकाकु र हाजर्डको संगठित अक्रमण गजबको थियो ।

उनीहरूलाई ब्राजिलको डिफेन्सले कुनै पनि बेला रोक्न सकेको थिएन । लुकाकुले चार गोल गरेका छन् । भिन्सेन्ट कोम्पनी नेतृत्वको बेल्जियम डिफेन्स पनि राम्रो लयमा छ, जसले नेयमरसहित ब्राजिली आक्रमणलाई खासै मौका दिएको थिएन । पहिलोपल्ट विश्वकपको फाइनल पुग्ने दाउमा रहेको बेल्जियमको बेन्च पनि बलियो छ । बेल्जियम सन् १९८६ मा सेमिफाइनल पुगेको थियो, जहाँ उसलाई डिर्गाे म्यमराडोनोको टिमले रोकेको थियो ।

मुख्य खेलाडी: केभिन डे ब्रुयन
विश्वकप २०१८ यात्रा
३–० पानामा, ५–२ ट्युनिसिया, १–० इंग्ल्यान्ड
३–२ जापान, २–१ ब्राजिल

क्रोएसिया
डेभोर सुकरको टिम क्रोएसिया विश्वकप १९९८ मा एकपछि अर्को उत्कृष्ट खेल्दै सेमिफाइनलसम्म पुगेको थियो । त्यसबेला उसलाई लिलियम थुरामको दुई गोलमा फ्रान्सले रोकिदिएको थियो । यसपालि लुका मोडरिचको टिमलाई २० वर्षअघिको सफलतालाई उछिनेर कीर्तिमान बनाउने चुनौती छ ।

मिडफिल्डमा मोडरिचसँगै इभान राकिटिचले लोभलाग्दा अवसर सिर्जना गरिरहेका छन् । उसको अग्रपंक्तिमा युभेन्ट्सका फरवार्ड मारियो मान्जुकिच छन् । इभान पेरिसिचसहित उनीहरूले क्रोएसियालाई देश स्वतन्त्रता भएयताको सबैभन्दा ठूलो उपहार दिन सक्नेछन् । गोलकिपर डानिएल सुबासिचको ग्लोब्स पनि लोभलाग्दो देखिएको छ । उनले टाइब्रेकरमा चार वा चारभन्दा बढी पेनाल्टी रोक्ने पहिलो कीर्तिमान बनाइसकेका छन् ।

क्रोएसियाली टिम निकै सन्तुलित पनि छ । उसको बेन्चमा पनि उत्कृष्ट खेलाडी छन् । त्यसैले क्रोएसिया ऐतिहासिक उपलब्धितर्फ अघि बढ्न सक्छ । तर त्यसका लागि डिफेन्समा डेजान लोभरेनको कमजोरी भने सच्याउन आवश्यक छ । समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा अर्जेन्टिनामाथि ३–० को जित हात पारेको उसले अन्तिम १६ र क्वाटरफाइनलमा भने सफलता हात पार्न टाइब्रेकरको प्रतीक्षा गर्नुपरेको थियो ।

मुख्य खेलाडी: लुका मोडरिच
विश्वकप २०१८ यात्रा
२–० नाइजेरिया, ३–० अर्जेन्टिना, २–१ आइसल्यान्ड
१–१ डेनमार्क (३–२ टाइब्रेकर)
२–२ रुस (४–३ टाइब्रेकर)

इंग्ल्यान्ड

इंग्लिस प्रिमियर लिग विश्वकै सर्वाधिक लोकप्रिय घरेलु लिग हो । तर लिगको लोकप्रियता र स्तरअनुसार इंग्ल्यान्डले अन्तर्राष्ट्रिय फुटबलमा फाइदा लिन सकेको छैन । इंग्ल्यान्डले सन् २००६ पछि क्वाटरफाइनल यात्रा तय गर्न पनि सकेको थिएन । गारेथ साउथगेटको टिमलाई यसपालि दाबेदार टिमका रूपमा लिइएको थिएन ।

सबै अनुमानलाई गलत साबित गर्दै ह्यारी कप्तानीको थ्री लायन्स फाइनलको नजिक पुगेको छ । उपाधि जितेको ५२ वर्षपछि इंग्ल्यान्डले फेरि त्यस्तै सपना बुनेको छ । यसका लागि युवा खेलाडीहरू जोसिएका छन् । केनको प्रेरणादायी नेतृत्वमा रहेको टिमका १८ खेलाडी सन् १९९० मा जन्मिएका पनि थिएनन्, उनीहरू अहिले वास्तवमै विश्वकप जित्न सक्ने हैसियतमा उभिएका छन् ।

नकआउट चरणमा बल्ल इंग्ल्यान्डको परीक्षण सुरु भएको थियो । समूहका तीन खेलमा आठ गोल गरेपनि साउथगेट खुसी थिएनन् । उनी जसरी भए पनि खेलाडीको अवसरलाई सफलतामा बाँध्न चाहन्छन् । नकआउट चरणमा उसलाई अत्त्यतिर गोल गर्दै कोलम्बियाले बराबरीमा रोकेको थियो । त्यसपछि जोर्डनज हेन्डरसनले टाइब्रेकरमा दुईपल्ट बचाउ गर्दै इंग्ल्यान्डलाई सफलताको बाटोमा अग्रसर गराएका थिए ।

मुख्य खेलाडी: ह्यारी केन
गोल प्रतिद्वन्द्वी
२–१ ट्युनिसिया
६–१ पानामा
०–१ बेल्जियम
१–१ कोलम्बिया –४–३ टाइब्रेकर)
२–० स्वीडेन

प्रकाशित : असार २५, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?