१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विश्वकपमा झुम्दै नेपालीहरू

राजु घिसिङ

मस्को — नेपाली राष्ट्रिय फुटबल टिम विश्वकपमा पुगेको छैन । सिधै भन्ने हो भने नेपालको विश्वकपमा छनोट हुने त के तत्कालका लागि एसियन कप खेल्ने हैसियत पनि छैन । तैपनि रातो र चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा रुसका विभिन्न रंगाशालामा फहराइरहेको छ, जहाँ विश्व फुटबलका चर्चित टिमहरू प्रतिस्पर्धा गरिरहेका छन् ।

विश्वकपमा झुम्दै नेपालीहरू

‘आफ्नो देशका लागि धेरै खेलियो । विश्वकप टेलिभिजनमा हेरियो । यसपालि प्रत्यक्ष अनुभव गर्ने अवसर जुरेको छ,’ मस्कोमा सोमबार भेटिएकी राष्ट्रिय महिला टोलीकी पूर्वकप्तान जमुना गुरुङले भनिन् । उनीसहित चारजना सेन्ट पिटर्सबर्गमा मंगलबार हुने फ्रान्स र बेल्जियमबीचको सेमिफाइनल हेर्ने तयारीमा रुस आइपुगेका हुन् । प्रत्येकले खेलको टिकट ७ सय ५० अमेरिकी डलरमा किनेका थिए ।

गोविन्द्रप्रसाद गौतम सन् १९८६ मा हाइड्रोमा इन्जिनियरिङ अध्ययन गर्न रुस आएका थिए । अध्ययनपछि मस्कोमै व्यवसाय गरिरहेका उनी विश्वकपअघि कहिल्यै रंगशाला प्रवेश गरेका थिएनन् । समूह चरणमा बेल्जियमले टयुनिसियालाई ५–२ ले पराजित गरेको खेल हेरेका उनले भने, ‘नजिकै भएर पनि कहिल्यै रंगशाला छिरेको थिइनँ । विगतका विश्वकप र युरो टीभीमै हेरेको थिएँ । यसपालि रंगशालाभित्रको वातावरण बिल्कुलै फरक लाग्यो । जिन्दगीकै अविस्मरणीय क्षण बन्यो ।’ गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उपनिर्देशक समेत रहेका उनले स्पार्टाक मस्कोमा सात नेपालीसँगै खेल हेरेका थिए । ‘रंगशालामा छँदा विश्वकपमा नेपालको पनि खेल हेर्न पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ,’ उनले सुनाए ।

टयुनिसियालाई स्पार्टाकमा सजिलै हराएको त्यही बेल्जियम क्वाटरफाइनलमा ब्राजिललाई पनि हराएर सेमिफाइनल पुगेको छ । स्पार्टाकमा बेल्जियमको खेल हेरेका गणेश रामदामले भने, ‘समूह चरणको खेल हेर्दा नै बेल्जियमले एकदमै राम्रो गर्ला जस्तो लागेको थियो, त्यस्तै भयो । अहिले बेल्जियम उपाधिकै दाबेदारमा अघि बढेको छ । यस्तो टिमको खेल हेर्न पाउनु भाग्यमानी ठान्नुपर्छ ।’ २६ वर्षयता रुसमै रहेका उनले थपे, ‘अहिले अरु खेलको पनि टिकट लिएको भए झनै रमाइलो हुन्थ्यो भन्ने लागिरहेछ ।’


मस्कोमा बसिरहेका रामदाम र गौतमसहित झण्डै ४० नेपालीले अनलाइनबाट तीन महिनाअघि टिकट किनेका थिए । यहाँका थुप्रै नेपालीले चिठ्ठामार्फत पनि टिकट लिने प्रयास गरेका थिए । एनआरएनए रुसका अध्यक्ष रामेश्वर गौतमका अनुसार रुसमा करिब १ हजार नेपाली छन् । तर भौगोलिक रूपमा ठूलो देश भएकाले भेटघाट पातलो छ ।

‘पहिलोपल्ट रंगशालाभित्रै प्रत्यक्ष खेल हेर्ने अवसर गुमाएनौं,’ अध्यक्ष गौतमले भने, ‘त्यो पनि विश्वकपको प्रतिस्पर्धा । उत्साह नै अर्कै खाले हुनेरहेछ । फरक अनुभूति, निकै रोचक । विश्व फुटबलका ठूला स्टारहरूको खेल प्रत्यक्ष हेर्न पाउनु सुनौलौ अवसर हो ।’ उनले विश्वकपका खेल हेर्न र एनआरएनको अध्यक्षका रूपमा खेल हेर्न आएका नेपालीको आतिथ्यताकै लागि स्वदेश फर्किने योजना पछाडि सारेका थिए । एनआरएनए रुसका कोषाध्यक्ष गोविन्द आचार्यका अनुसार अस्ट्रेलिया, इंग्ल्यान्ड र अमेरिकामा रहेका नेपाली पनि विश्वकपको खेल हेर्न रुस आइपुगेका थिए ।


१४ खर्ब डलरको लगानीमा ११ सहरका १२ रंगशालामा आयोजित २१ औं विश्वकपमा करिब ५ सय नेपालीले प्रत्यक्ष हेर्ने अवसर पाए । सम्भवत: विश्वकपमा दर्शककै रुपमा भए पनि सबैभन्दा ठूलो नेपाली उपस्थिति यसैपालि हुनसक्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाण्डेका अनुसार १ सय ४३ नेपालीले एन्फामार्फत् विश्वकपको टिकट खरिद गरे । २ सय ६५ देखि ११ सय डलरसम्मको टिकट नेपालीले किनेका छन् । पाण्डेका अनुसार प्रतिटिकट ११ सय डलर तिरेर १५ जुलाईमा हुने फाइनल हेर्न २० नेपाली मस्को आउँदै छन् ।

विश्वकपको टिकट लिएपछि फिफाको वेबसाइटमा फ्यान आईडी बनाउनुपर्छ । फ्यान आईडी हात पार्नेले भिसा पनि लिनुपर्दैन र यसको सहारामा तोकिएको रेलवेमा नि:शुल्क यात्रा गर्न पाइन्छ । यसको फाइदा लिएर रुसका धेरै सहर घुम्ने नेपाली पनि छन् । यो विश्वकपका ६४ खेल ३० लाख बढीले हेर्न अनुमान गरिएको छ । त्यसमध्ये धेरै दर्शक रुसबाहिरकै हुन् ।

विश्वकप आयोजक सहरमा होस्टेल, होटेल र अपार्टको महँगी पनि चर्को बढेको छ । ठूला टिमहरू चाँडै बाहिरिएपछि बसाइ अलि सस्तो हुन थालेको अध्यक्ष गौतमले बताए । एपमार्फत् प्रयोग गरिने ट्याक्सी र खानाको मूल्य पनि उस्तै छ । केही नेपाली टुर प्याकेज लिएर पनि आएका छन् ।


एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्वाङको ३८ जनाको समूह प्रतिव्यक्ति साढे तीन लाखको प्याकेज खरिद गरेर रुस आएका थिए । अन्तिम १६ मा रुसविरुद्ध स्पेन र इंग्ल्यान्डविरुद्ध कोलम्बियाको खेल हेरेका उनले भने, ‘पहिलोपल्ट खुला रूपमा एन्फाले विश्वकपको टिकट बिक्री गरेको हो । त्यसैले धेरै जिल्ला, क्लब र प्रायोजक कम्पनीका साथीहरूले विश्वकपको खेल हेर्ने अवसर पाए ।’

रंगशाला प्रवेश नगर्नेका लागि फिफाले हरेक आयोजक सहरमा ठूला स्क्रिनसहितको फिफा फ्यान फेस्ट चलाइरहेको छ, जहाँ विश्वकपका खेल देखाइन्छ । परिवारसँगै सारांशमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल–इरानको खेल हेरेका एनआरएनका केन्द्रीय महासचिव डा. बद्री केसीले भने, ‘पहिला विश्वकपको छनोट खेल पनि रंगशालामै हेरेको थिएँ । अहिले विश्वकप । टिकट नपाएको खेल साथीहरूसँग फ्यान फेस्ट वा कतै ठूला स्क्रिनमा हेरिरहेको छु ।’

प्रकाशित : असार २६, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?