२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

इंग्ल्यान्डविरुद्ध क्रोएसिया : स्वर्णिम पुस्ताको लय

राजु घिसिङ

मस्को — इंग्लिस प्रिमियर लिग विश्वकै सर्वाधिक लोकप्रिय घरेलु फुटबल भएर पनि विश्वकप इतिहासमा इंग्ल्यान्डको प्रदर्शन गतिलो छैन । त्यसैले उसलाई रुसमा पनि बलियो मानिएको थिएन ।

इंग्ल्यान्डविरुद्ध क्रोएसिया : स्वर्णिम पुस्ताको लय

त्यसमाथि गारेथ साउथगेटको टिम युवा खेलाडीले भरिएको छ । त्यसैले अहिलेको रुस यात्रालाई इंग्ल्यान्डको चार वर्षपछि कतारमा हुने विश्वकप जित्ने अभियानको सुरुआत पनि भनिएको थियो । ती सबै अनुमान गलत सावित गर्दै इंग्ल्यान्ड ५२ वर्षपछि विश्व फुटबलको सर्वोच्च प्रतियोगिताको फाइनल यात्रा पक्का गर्ने संघारमा आइपुगेको छ ।


इंग्ल्यान्डले सन् १९६६ मा घरेलु भूमिमा जर्मनीलाई हराएर पहिलोपल्ट विश्वकपको उपाधि जित्दा क्रोएसिया स्वतन्त्र देश पनि भएको थिएन । त्यसको एक वर्षपछि स्वतन्त्र भएको क्रोएसियाविरुद्ध इंग्ल्यान्डले बुधबार मस्कोस्थित लुजनिकी रंगशालामा विश्वकप सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ । ज्लात्को डालिचले सम्हालेको क्रोएसिया पहिलोपल्ट फाइनल पुग्ने अभियानमा छ भने इंग्ल्यान्ड दोस्रोपल्ट सेमिफाइनलभन्दा माथि उक्लिने योजना बुन्दै छ ।

सेन्ट पिटर्सबर्गमा अभ्यासरत इंग्लिस फुटबल टोली


अन्त्यतिर गोल बेहोरेपछि इंग्ल्यान्डले अन्तिम १६ मा कोलम्बियालाई पराजित गर्न टाइब्रेकर सहारा लिनुपरेको थियो । उसले क्वाटरफाइनलमा भने स्वीडेनलाई सजिलै हराएको थियो । पहिलोपल्ट फाइनल पुग्ने अभियानमा रहेको क्रोएसियाले भने अन्तिम १६ मा डेनमार्क र क्वाटरफाइनलमा आयोजक रुसलाई पराजित गर्न पेनाल्टी सुटआउट कुर्नुपरेको थियो ।


कप्तान ह्यारी केनप्रेरित इंग्ल्यान्डले हरेक खेलमा सुधार गरिरहेको छ । क्रोएसिया भने समूह चरणमा लियोनल मेसी नेतृत्वको अर्जेन्टिनामाथि ३–० को जित रचेयता फेरि उस्तै लयमा देखिएको छैन । त्यसैले दोस्रो सेमिफाइनलमा सफलताको हकदार इंग्ल्यान्डलाई मानिएको छ । तर रियल म्याड्रिडका लुका मोड्रिच र बार्सिलोनाका इभान राकिटिच मिडफिल्डमा फेरि छाएमा इंग्ल्यान्डलाई क्रोएसियाली आक्रमण झेल्न भने गाह्रो पर्नसक्छ ।

बलका साथ रहिम स्टर्लिङ


टोटेनहम हर्टस्परका फरवार्ड
ह्यारी केन सर्वाधिक ६ गोलसहित गोल्डेन बुटको होडमा अगाडि छन् । तर उनले स्वीडेनविरुद्ध सामरामा भने गोल थप्न सकेनन् । अग्रपंक्तिमा इंग्ल्यान्डका हतियार उनी नै हुन् । प्रशिक्षक साउथगेटले निरन्तर पहिलो रोजाइमा अवसर दिइरहेका रहिम स्टर्लिङले गोलको खाता खोल्न नसके पनि विपक्षी डिफेन्सलाई दबाब राख्ने गरेका छन् । डेले अली, जेसी लिङगार्डको प्रदर्शन पनि निरन्तर खारिँदै आएको छ ।


सेन्टरब्याक जोन स्टोन्स र ह्यारी मगाएर यो विश्वकपको बलियो जोडीको रुपमा देखिएका छन् । उनीहरूलाई छिचोल्दै जोर्डन पिकफोर्डको पोस्टमा गोल गर्न क्रोएसियाली फरवार्डलाई सजिलो हुनेछैन । तर, युभेन्ट्सका अनभुवी फरवार्ड मारियो मान्जुकिचलाई कमजोर ठान्ने भूल इंग्ल्यान्डले गर्ने छैन ।

क्रोएसियाली टिम नकआउटका दुवै खेलमा २–२ घण्टा खेलेकाले थकित हुनसक्छ । तर उसको मुख्य चिन्ता डिफेन्समा हो । डेजान लोभरेन र डोमागोज भिडालले सेन्टरब्याकमा गरिरहेको कमजोरी सच्याउन सके क्रोएसियाले ह्यारी केन नेतृत्वको आक्रमणलाई रोक्न सक्छ ।


विश्वकप पूर्वसन्ध्यामा सर्वाधिक सफल ब्राजिल, डिफेन्डिङ च्याम्पियन जर्मनी, पूर्वविजेता फ्रान्ससँगै बेल्जियम, स्पेनलाई उपाधि दाबेदार मानिएको थियो । बलिया टिमको त्यस सूचिमा इंग्ल्यान्डलाई राखिएको थिएन । ‘हामीले रुसमा निरन्तर सुधार गरेर राम्रो खेलिरहेका छौं,’ विश्वकै उत्कृष्ट डिफेन्डरका रूपमा देखिएका इंग्ल्यान्डका जोन स्टोन्सले भने, ‘सबै खेलाडीले दुई वर्षयता मिहिनेत गरिरहेका छन् । साउथगेट (प्रशिक्षक) ले त्यसैअनुसार टिमलाई आत्मविश्वासी बनाएको छ । त्यसैले हामी यो (सेमिफाइनल) भन्दा अगाडि बढ्ने प्रयासमा छौं ।’


प्रिमियर लिग विश्वकै लोकप्रिय लिग भएर पनि इंग्ल्यान्डले अन्तर्राष्ट्रिय प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको अवस्था चिर्दै युवा टिमले रुसमा सेमिफाइनल तय गरेको हो । खेलाडीको परिपक्व खेललाई प्रिमियर लिगको अनुभवले दिलाएको सफलताको रूपमा लिइएको छ । विश्वकपमा २८ वर्षपछि अन्तिम चारमा पुगेको यो टोलीलाई इंग्ल्यान्डको स्वर्णिम पुस्ताको रूपमा पनि लिइएको छ ।


क्रोएसिया सन् १९९८ मा विश्वकपको सेमिफाइनलमा पुगेको थियो । त्यतिबेला लिलियम थुरामको दुर्लभ दुई गोलको सहयोगमा आयोजक फ्रान्सले अन्तिम चारमा क्रोएसियालाई २–१ ले हराएको थियो । त्यस यात्राको उपलब्धिलाई उछिन्दै मोड्रिचको टिम रुसमा फाइनल खेल्ने अभियानमा छ ।

क्रोएसिया टोली ।

इंग्ल्यान्ड र क्रोएसियाको तथ्य

  • इंग्ल्यान्ड र क्रोएसिया आपसमा आठौंपल्ट खेल्न लागेका हुन् । विगतका भेटमा इंग्ल्यान्डले ४ खेल जितेको छ भने क्रोएसियाले २ खेलमा सफलता पाएको छ । एक खेल बराबरीमा सकिएको छ । पछिल्ला सातमध्ये ६ खेल वेम्बलीमा भएको थियो ।
  • इंग्ल्यान्ड र क्रोएसिया यसअघि मुख्य प्रतियोगितामा एकपल्ट भेटेका छन् । सन् २००४ को युरोपियन च्याम्पियनसिपको समूह चरणमा इंग्ल्यान्डले ४–२ को जित निकालेको थियो ।
  • इंग्ल्यान्डले विश्वकप सेमिफाइनल तेस्रोपल्ट खेल्न लागेको हो । सन् १९६६ मा उपाधि जित्ने क्रममा उसले अन्तिम चारमा पोर्चुगललाई २–१ ले हराएको थियो । तर १९९० मा भने उसलाई सेमिफाइनलमा जर्मनीले पेनाल्टीमा पराजित गरेको थियो ।
  • क्रोएसियाका आठ खेलाडीले विश्वकप २०१८ मा गोल गरेका छन् । यसभन्दा बढी बेल्जियमका ९ खेलाडीले गोल गरेका छन् ।
  • इंग्ल्यान्डले सन् १९८२ यता एउटै विश्वकपमा दुई युरोपेली टिमलाई हराएको छैन । त्यतिबेला भने इंग्ल्यान्डले चेकोस्लोभाकिया र फ्रान्सलाई पराजित गरेको थियो ।

विश्वकप २०१८ यात्रा
क्रोएसिया
२–० नाइजेरिया
३–० अर्जेन्टिना
२–१ आइसल्यान्ड
१–१ डेनमार्क
(३–२ टाइब्रेकर)
२–२ रुस
(४–३ टाइब्रेकर)

इंग्ल्यान्ड
२–१ टयुनिसिया
६–१ पानामा
०–१ बेल्जियम
१–१ कोलम्बिया
(४–३ टाइब्रेकर)
२–० स्वीडेन

प्रकाशित : असार २७, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?