१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

इंग्ल्यान्ड समर्थक रुस लागे

रोयटर्स

लन्डन — दर्जनौंको संख्यामा इंग्लिस फुटबल समर्थक विश्वकप हेर्ने लक्ष्यसहित मंगलबार रुसको राजधानी मस्कोतर्फ लागेका छन् । बुधबार हुने क्रोएसियाविरुद्धको ऐतिहासिक विश्वकप सेमिफाइनल खेल हेर्न लालयित दर्शक अन्तिम क्षणमा जान लागेका हुन् ।

इंग्ल्यान्ड समर्थक रुस लागे

फिफाले खेलका लागि थप टिकट बिक्री गरेको र विमान कम्पनीहरूले रुस जाने हवाई उडान थप गरेपछि मंगलबार लन्डनस्थित हिथ्रो विमानस्थलमा विश्वकप जाने दर्शकको भीड देखिएको थियो । ‘इंग्ल्यान्डमा निकै रमाइलो माहोल सिर्जना भइरहेको छ । अब रुसमा के कस्तो वातावरण हुन्छ, त्यो हेर्न निकै उत्साहित छु,’ उडानको प्रतीक्षा गरिरहेका २७ वर्षीय समर्थक माइकल रोबर्टसले सुनाए ।


अर्का ४६ वर्षीय समर्थक ब्यार्डली गोल्डेनबर्ग आफ्नो छोरालाई पनि ऐतिहासिक क्षण हेर्न मस्को लाँदै छन् । ‘हामीले जिते या हारे पनि इतिहास रच्ने पक्का छ । हामी त्यहाँ पुगेर जिन्दगीको अविस्मरणीय क्षण सँगाल्ने छौं,’ उनले सुनाए ।


शनिबारको खेलमा स्वीडेनलाई २–० ले पराजित गर्दै गारेथ साउथगेटको टोली २८ वर्षपछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको थियो । सन् १९६६ यता उपाधि जित्न नसकेको इंग्ल्यान्डसँग यसपालि उपाधिको खडेरी तोड्ने सम्भावना छ । यद्यपि रुसमा इंग्ल्यान्ड समर्थकको संख्या निकै कम छ । लगातार दंगाबारे चेतावनी र बसाइबारे समस्याका कारण संख्या वृद्धि हुन नसकेको हो ।


इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलोम्बियालाई हराएपछि ब्रिटिस एयरलाइन्सको वेबसाइटमा रुस जाने टिकटका लागि माग ७ सय प्रतिशतले वृद्धि भएको छ । यसलाई मध्यनजर गर्दै एयरलाइन्सले ठूलो विमान प्रयोग गर्दै सयौं सिट थप गरेको छ । विमान चढ्ने समर्थकमध्ये केहीले प्रशिक्षक गारेथ साउथगेटको पहिरनलाई पछयाउँदै इस्टकोट पनि लगाएका थिए ।


‘इंग्लिस टोली अहिले एकदम राम्रो लयमा छ । हामीले प्रशिक्षक साउथगेटको सम्मानमा उनको पहिरन लगाएर मैदान जाने छौं । यसले मनोबल बढाउन सहयोग पुग्ने अपेक्षा छ,’ ५० वर्षीय ली वाल्कपले भने ।

प्रकाशित : असार २७, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?