इंग्ल्यान्डविरुद्ध क्रोएसिया : तीन मुख्य भिडन्त

एएफपी

सेन्ट पिटर्सबर्ग — इंग्ल्यान्डको युवा टोलीले बुधबार क्रोएसियाको अनुभवी टोलीविरुद्ध विश्वकप सेमिफाइनल खेल्दै छ । खेलको विजेता टोली मस्कोस्थित लुजनिकी रंगशालामा हुने फाइनल खेलका लागि छनोट हुनेछ ।

इंग्ल्यान्डविरुद्ध क्रोएसिया : तीन मुख्य भिडन्त

इंग्ल्यान्ड २८ वर्षयता पहिलोपल्ट सेमिफाइनल पुगेको हो । त्यसअघि एकपल्ट मात्र फाइनल पुगेको इंग्लिस टोलीले सन् १९६६ मा घरेलु मैदानमा उपाधि नै जितेको थियो । क्रोएसिया भने हालसम्म सेमिफाइनल पार गर्न सकेको छैन । पछिल्लोपल्ट सन् १९९८ मा सेमिफाइनल पुग्नु नै टोलीको सबैभन्दा राम्रो नतिजा थियो । यसपालि उत्कृष्ट खेलाडीसँगै भाग्यमानी साबित भएको क्रोएसिया पहिलो उपाधि जित्न दुई जित टाढा छ ।


यस बहुप्रतीक्षित सेमिफाइनलमा नतिजा निर्धारण गर्नसक्ने तीन महत्त्वपूर्ण भिडन्त यस्तो छ :

लुका मोड्रिचविरुद्ध जोर्डन हेन्डरसन
झन्डै ६ साताअघि रियल म्याड्रिडले च्याम्पियन्स लिग फाइनलमा लिभरपुललाई पराजित गरेको थियो । इंग्ल्यान्डका हेन्डरसनसामु अहिले मोड्रिचमाथि त्यसको बदला लिने र इंग्ल्यान्डबाट खेल्दा ३० खेलको अपराजित यात्रा बढाउने मौका छ । इंग्ल्यान्डको इतिहासमा कुनै खेलाडीले यति लामो समय अपराजित रहेको यो पहिलोपल्ट हो ।


हेन्डरसनको नेतृत्व, अनुशासन र खेलशैलीकै कारण गारेथ साउथगेटको रणनीति सफल भएको छ । रक्षात्मक मिडफिल्डरको भूमिका निर्वाह गरिरहेका उनले जेसी लिङगार्ड र डेले अलीलाई स्वतन्त्र रूपमा खेल्न दिइरहेका छन् । यस खेलमा भने उक्त मिडफिल्डको लयमा देखिएका ३२ वर्षीय मोड्रिचले परीक्षा लिनेछन् ।

मोड्रिचले मैदानको बीचमा रहेर डिफेन्स चिर्ने पास, उत्कृष्ट गोल र विपक्षीको लय तोड्ने प्रदर्शन गरिरहेका छन् । विश्वकपमा पूरै समय खेलेका चार खेलमा उनले तीन म्यान अफ द म्याच उपाधि पनि जितेका छन् । पछिल्ला तीन सिजनमा लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेका उनलाई क्रोएसियाले विश्वकप उपाधि उठाएको खण्डमा बालोन डी’ओर को दाबेदारका रूपमा हेरिएको छ ।

काइरन ट्रिपियरविरुद्ध इभान पेरिसिच
ट्रिपियर जारी विश्वकपका उदाउँदा स्टारमा देखिएका छन् । इंग्ल्यान्डका पूर्व कप्तान डेविड बेकह्यामकै शैलीमा क्रस गर्ने क्षमताका कारण उनले ‘बरी बेकह्याम’ को उपमा पाएका छन् । जारी प्रतियोगितामा ट्रिपियर सर्वाधिक अवसर सिर्जना गर्ने सूचीमा नेयमर र केभिन डी बु्रयनलाई पछ्याइहेका छन् ।


प्रशिक्षक साउथगेटको ३–५–२ को रणनीतिमा सामान्यतया राइट ब्याक खेल्ने काइल वाल्करलाई सेन्टर ब्याक खेलाएका कारण उनले आक्रमणमा जाने स्वतन्त्रता पाएका छन् । क्रोएसियाविरुद्ध भने पेरिसिचले उनलाई रक्षात्मक रूपमा चुनौती दिनेछन् ।


इन्टर मिलानबाट खेल्दै आएका पेरिसिचले अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका ११ खेलमा ५ गोल गरेका छन् । क्रोएसियाको आक्रमणमा इंग्ल्यान्डलाई खतरा हुने उनी मुख्य खेलाडी हुन् ।

ह्यारी केनविरुद्ध डेजान लोभरेन

इंग्ल्यान्डका कप्तान एवं केनविरुद्ध लोभरेनको इतिहास राम्रो छैन । अक्टोबरमा प्रिमियर लिगअन्तर्गत टोटेनहमले लिभरपुललाई ४–१ ले पराजित गर्दा केनविरुद्ध खराब प्रदर्शन गरेका लोभरेन आधा घण्टामै परिवर्तित भएका थिए ।


त्यस प्रदर्शनपछि धेरैले लोभरेनले अब एनफिल्डमा फेरि खेल्न नपाउने आँकलन गरेका थिए । तर क्लब स्तरमा उनले सुधारिएको प्रदर्शन गर्दै प्रशिक्षक योर्गेन क्लोपको मन जिते । विश्वकपमा पनि क्रोएसियाली डिफेन्सको राम्रो प्रदर्शनमा उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । समूह चरणमा त यो डिफेन्सले लियोनल मेसीलाई चुप राखेको थियो ।


लोभरेनविरुद्ध केनले ५ खेलमा ५ गोल गरेका छन् । जारी विश्वकपमा ६ गोल गरिसकेका केन यस खेलमा थप गोल गर्दै गोल्डेन बुट पक्का गर्ने दाउमा हुनेछन् ।


प्रकाशित : असार २७, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?