कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फ्रान्सको सन्तुलित प्रदर्शन

विश्वकप विश्लेषण
नवीन न्यौपाने

काठमाडौँ — फ्रान्स र बेल्जियम दुवै टोली आक्रामक रणनीति लिएर सेमिफाइनलमा उत्रिएका थिए । फ्रान्सले सुरुआतको केही समय हेर्दा बल पोसेसन राखेर खेल्ने लक्षण देखाएको थियो तर पाँच मिनेटपछि भने रक्षात्मक खेल्न खोजेको देखियो ।

फ्रान्सको सन्तुलित प्रदर्शन

फ्रान्सले केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको आक्रामक गति प्रयोग गरेर छिटो आक्रमण गर्ने प्रयास गरेको थियो । फ्रान्सले संख्यात्मक रूपमा धेरै आक्रमण नगरे पनि टोलीको प्रयासले बेल्जियमलाई कठिन समय दिएको थियो ।

दोस्रो हाफमा भने फ्रान्सले सुरुआतदेखि नै आक्रमणमा जोड दिएको थियो । त्यसकै नतिजा सेट पिसबाट ५१ औं मिनेटमा फ्रान्स अग्रता लिन सफल भयो । ग्रिजमनको कर्नरमा सामुइल उम्टिटीले सुन्दर हेडर गर्दै अपेक्षित अग्रता दिलाए । विश्वकपमा यसपल्ट सेट पिसमा धेरै गोल भएका छन् । फ्रान्सको कम्प्याक्ट डिफेन्स राख्दै तीव्र गतिमा आक्रमण गर्ने रणनीति सफल भयो ।

यता बेल्जियमले सुरुआतबाट बल पोसेसन राखेर आक्रमण बुन्ने प्रयास गरेको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले यस खेलमा नियमित ४–२–३–१ छाडेर ३–५–२ फर्मेसनमा खेल्नु महँगो साबित भयो । मिडफिल्डको मध्यभागमा खेल्ने मारोउने फेलानीलाई विंग्समा लगेर मौसा डेम्बेलेलाई मध्यभागमा खेलाउने रणनीति सफल भएन । यसअघिका खेलमा आक्रामक रूपमा राम्रो खेलिरहेका ड्रिज मर्टेन्सलाई बेन्चमा राख्नु गलत थियो । उनले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि केही राम्रो आक्रमण बुनेका थिए ।

बेल्जियमले लगातार आक्रमण बुने पनि फ्रान्सका गोलरक्षक ह्युगो लोरिस बाधक बनिरहे । उनले विशेषत: खेल गोलरहित बराबरीमा छँदा गरेको बचाउ उत्कृष्ट थियो । बेल्जियमका गोलरक्षक थिबाउट कोर्टियसले पनि राम्रो बचाउ गरे तर गोल भएको बलमा उनले केही गर्न सकेनन् । फ्रान्सले बनाएको कम्प्याक्ट डिफेन्स चिर्न लामो प्रहार, क्रस वा स्वीच गर्नुपर्ने हुन्छ । बेल्जियमले सबै प्रक्रिया अपनाए पनि गोल निकाल्न भने सकेन ।

सेट पिसमा सफलता हात लागिरहेको बेलामा बेल्जियमले एकै रणनीतिलाई असफल भए पनि निरन्तर लाग्नु गलत भयो । यसै पनि डेम्बेलेबाट अपेक्षित प्रदर्शन हुन नसक्दा दबाबमा परेको बेल्जियमलाई फ्रान्सले काउन्टरमा तर्साएको थियो । फ्रान्सले सबै पक्षमा सन्तुलित प्रदर्शन गर्न सफल हुँदा बेल्जियमको अग्रपंक्ति फिका देखियो । त्यही नै खेलको नतिजा निर्धारण गर्न पर्याप्त रह्यो ।

प्रकाशित : असार २८, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?