कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भारले फेरेको निर्णय

रोयटर्स

सेन्ट पिटर्सबर्ग — फिफा विश्वकप २०१८ मा भिडियो एसिस्टेन्ट रेफ्री (भार) पहिलोपल्ट प्रयोग गरिएको हो । जारी संस्करणको दोस्रो सेमिफाइनल अघिसम्म ५ अवसरमा भारले रेफ्रीको निर्णय परिवर्तन गर्न सघाउ गरेको थियो ।

भारले फेरेको निर्णय

फ्रान्स २–१ अस्ट्रेलिया
जुन १६, २०१८
समूह ‘सी’
फ्रान्सले विश्वकपमा खेलेको पहिलो खेलमा अस्ट्रेलियाको सामना गर्दा भारको सहायता लिएर पेनाल्टी निर्णय लिइएको थियो । एन्टोइन ग्रिजमन गोल गर्न अगाडि बढेको अवस्थामा जोस रिस्डनले टयाकल गर्दा उनी पेनाल्टी क्षेत्रभित्र लडे । त्यसबेला रेफ्री आन्द्रेस कुन्हाले खेल जारी राख्न भारको सम्पर्कपछि खेल तत्काल रोके । रेफ्री आफैंले मैदानबाहिर रहेको स्क्रिनमा रिप्ले हेरेपछि पेनाल्टीको निर्णय लिए । ग्रिजमनले त्यसै पेनाल्टी गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

ब्राजिल २–० कोस्टारिका
जुन २२, २०१८
समूह ‘ई’
निर्धारित समयको खेल १२ मिनेट बाँकी हुँदा गोलरहित बराबरीमा थियो । ब्राजिलको एक आक्रामक मुभका क्रममा जियानकार्लो गोन्जालेजले छोएपछि नेयमर पेनाल्टी क्षेत्रभित्र लडे, जसको नतिजा रेफ्री बोर्न क्विपर्सले पेनाल्टीको निर्णय लिए । तर भारको सल्लाहपछि रेफ्री क्विपर्सले रिप्ले हेरे र आफ्नो निर्णय परिवर्तन गरे । रेफ्रीले पेनाल्टी दिएको निर्णय भारको सहायताले फिर्ता लिएको विश्वकपमा यो नै पहिलो अवसर थियो ।

इरान १–१ पोर्चुगल
जुन २५, २०१८
समूह ‘बी’
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फाउल हानेपछि रेफ्रीले जारी विश्वकपको १९ औं पेनाल्टीको अवसर प्रदान गरे । रोनाल्डोले उक्त पेनाल्टी चुकाए तर यससँगै एकै संस्करणमा सर्वाधिक पेनाल्टीको कीर्तिमान भने कायम भयो । उक्त खेलमा दुई अवसरमा भारको प्रयोग गरियो । रोनाल्डोले इरानी खेलाडीलाई कुहिनाले हानेपछि रेफ्रीले पहेँलो कार्ड देखाए । अर्को क्षणमा भने इरानले अन्तिम समयमा ह्यान्डबलका कारण पेनाल्टीको अवसर पायो, जुन बराबरी गोल गर्न पर्याप्त रहयो ।

स्पेन २–२ मोरक्को
जुन २५, २०१८
समूह ‘बी’
इरानले पोर्चुगलविरुद्ध पेनाल्टीमार्फत् बराबरी गोलको खुसी मनाउँदै गर्दा स्पेनका लागि इयागो आस्पासले मोरक्कोविरुद्ध बराबरी गोल फर्काएका थिए । तर सहायक रेफ्रीले अफसाइड देखाएपछि उक्त गोल मान्य भएन । ठीक त्यसैबेला रेफ्री रावसान इर्मातोभलाई भारले रिप्ले हेर्ने सुझाव दियो । रेफ्रीले रिप्ले हेरेपछि अफसाइडको निर्णय बदले र गोल मान्य भयो । यस गोलसँगै स्पेन समूह विजेता हुँदै अर्को चरण प्रवेश गर्‍यो ।

स्वीडेन १–० स्वीट्जरल्यान्ड
जुलाई ३, २०१८
राउन्ड अफ १६
स्वीडेन १–० ले अगाडि थियो । स्वीट्जरल्यान्डले खेलको अन्त्यतिर दबाब बनाइरह्यो । स्वीडेनका मार्टिन अल्सनले तीव्र गतिमा काउन्टर अटयाक गर्दा डिफेन्डर माइकल लाङले टयाकल गरे र रेफ्रीले स्वीडेनलाई पेनाल्टी दिँदै लाङलाई रातो कार्ड देखाए । तर भारको सुझावपछि फाउल पेनाल्टी क्षेत्रबाहिर भएको निर्णय आयो । रेफ्रीले फ्रिकिकमात्र दिए ।

प्रकाशित : असार २८, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?