३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘नेयमरले आफैंलाई हेर्नुपर्छ’

रोयटर्स

मस्को — ब्राजिली फरवार्ड नेयमरको नाटकले जग हँसाइरहेको नेदरल्यान्ड्सका पूर्व फरवार्ड मार्को भान बास्टेनले बिहीबार बताएका छन् । विश्व फुटबल महासंघ (फिफा) को डेभलपमेन्ट प्रोजेक्टका मुख्य अधिकारी रहेका उनले आफ्नो भूमिकाबारे बोल्दै नेयमरले एकपल्ट आफैंलाई हेर्नुपर्ने जनाए ।

‘नेयमरले आफैंलाई हेर्नुपर्छ’

‘सामान्य रूपमा हेर्दा यो राम्रो व्यवहार होइन । जे गर्ने हो आफ्नो उत्कृष्ट हिसाबले त्यो पनि खेलकुद सिद्धान्तमा रहेर गर्ने हो । तर नाटक नै गरिरहेपछि त्यसले तपाईलाई सहयोग गर्दैन,’ भान बास्टेनले सञ्चारमाध्यमसँग भने, ‘मैले देखेको यो पक्षमा उनले आफैं विचार गरिरहेका होलान् जस्तो लाग्छ । खेलमा रमाउलो हुनु स्वाभाविक हो र उनले मान्छे हँसाइरहेका छन्, सकारात्मक त्यही हो ।’

निश्चय पनि नेयमरमाथि विश्वकपमा केही निर्दयी टयाकलहरू भएका थिए । तर नेयमरले गरेका नाटकले विशेष गरी उनी युरोपमा हाँसोको पात्र बनेका थिए । यद्यपि फिफाको विश्वकप प्राविधिक स्टडी समूहमा रहेका कार्लोस अल्बर्टो परेइराले नेयमर कहिलेकाहीं चुटिन पुग्दा पनि न्याय नपाएको जनाएका छन् ।

‘उनीमाथि धेरै फाउल हानिएको छ, धेरै पल्ट लडेका छन् । कहिलेकाहीं उनी त्यत्तिकै लडिदिन्छन् । उनको यस्तो खाले व्यवहारले अरुको ध्यान तानिदिन्छन् । तर हामी (ब्राजिली) का लागि उनी अझै खेलाडी हुन्, जसले खेलमा फरक ल्याउन सक्छन्,’ ब्राजिललाई १९९४ को विश्वकप दिलाएका र २००६ को विश्वकप फाइनलमा पुर्‍याएका पेरेइराले भने । छैटौंपल्ट विश्वकप जित्ने ब्राजिलको सपना रुसमा बेल्जियमसँग क्वाटरफाइनलमा २–१ को पराजयसँग टुंगिएको थियो ।

प्रकाशित : असार २९, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?