किन टाउकोमा हात राख्छन् फुटबलर ?

न्युयोर्क टाइम्स

न्युयोर्क — फुटबल खेलमा गोल निकै कम अवसरमा हुन्छ । त्यसैले पनि गोल गरेपछि खुसी मनाउँदा खेलाडीहरू निकै उत्साही देखिन्छन् । कसैले गोल गरेपछि पहेँलो कार्ड खाने पक्का नै किन नहोस् जर्सी उतारेर खुसी प्रकट गर्छन् त कसैले घुँडा टेकेर मैदानमा चिप्लिन्छन् ।

किन टाउकोमा हात राख्छन् फुटबलर ?

अझै गोल अन्तिम समयतिर हुनुपर्छ, आफ्नै सहकर्मी साथीहरूले ती खेलाडीलाई थिचथाच पारेर मानव पर्खाल खडा गर्छन् ।

गोल गर्नेको खुसी त रमाइलो हुने भइहाल्यो । अवसर नपाउँदा गोल गर्न चुक्नेको भावभंगी ठीक विपरीत हुन्छ । जब गोल गर्न सक्दैन त धेरैले एकै प्रकारको हाउभाउ देखाउँछन्, हात उठाउँदै टाउकोमा राख्ने । विश्वभर पाएको अवसर चुकाउँदा गरिने संकेतका रूपमा यसले स्थान बनाएको छ । लाग्छ, खेलाडीले भनेका हुन्छन्, ‘त्यो कसरी चुकाउन पुगें ?’

यसपालिको विश्वकपका क्रममा पनि यस्ता दृश्य प्रशस्त देख्न पाइयो । दर्जनौं अवसरमा हरेक देशबाट खेल्ने हरेक पोजिसनका खेलाडीले यस्तो संकेत गरे । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीदेखि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसम्म । फाइनल पुगेका फ्रान्स र क्रोएसिया नै किन नहोस्, ती टोलीका खेलाडीले पनि अवसर चुकाउँदा यस्तै प्रतिक्रिया दिन भ्याए । जीवविज्ञ र मनोविज्ञहरूका अनुसार यस्तो ‘पोज’ दिनुमा फुटबलसँग कुनै सम्बन्ध नभएर मनोविज्ञानसँग जोडिएको छ ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी मनोवैज्ञानिक प्राध्यापक जेसिका ट्रेसीका अनुसार यो प्रतिक्रियाले ‘मैले गल्ती गरेको छु’ भन्ने संकेत दिन्छ । उनका अनुसार यस स्थितिमा छँदा अन्य मानिसले ‘मैले गल्ती स्वीकारें र मलाई माफी देऊ । मलाई यो गल्तीका कारण दोषी नठहर्‍याउ’ भन्ने बुझ्छन् ।

यस्तो प्रतिक्रिया दिनेमा प्रहार गर्ने खेलाडी स्वयं मात्र संलग्न छैनन् । अहिलेसम्म नै विश्वकपमा सबैभन्दा धेरै हेरिएको गल्तीमा सन् २०१० मा नाइजेरियाका याकुबु आइएगबेनीको गल्ती हेर्नुपर्छ । याकुबुले पोस्टभन्दा १० फिटपरबाट खाली पोस्टमा गरेको प्रहार गोलमा परिणत हुन सकेन । उक्त प्रहारपछि याकुबु डेग चलेनन् तर उनका एक सहकर्मी र प्रशिक्षकले भने एकै समयमा उक्त संकेत प्रदर्शन गरे ।

सन् १९८१ मा जीवविज्ञ डेसमन्ड मोरिसले गरेको ‘द सकर ट्राइब’ नामक अध्ययनले १२ खेलाडीले देखाएको प्रतिक्रियाको विश्लेषण सामेल थियो । उनले त्यतिबेला यो प्रतिक्रिया आफूलाई आराम दिन गरिने बताएका थिए । उनका अनुसार कुनै गल्ती गरेपछि कसैले ठीक छ भन्ने विश्वास दिलाउन सहयोग गर्दियोस् भन्ने चाहना हुन्छ तर ठीक त्यहाँ अन्य कोही उपलब्ध नहुँदा आफैंले आफैंलाई टाउको हात राखेर चित्त बुझाउने गरेका हुन्छन् । मानवबाहेकका केही पशुमा पनि यो देखिन्छ ।

सन् २००८ मा ट्रेसीले आफ्नो समकक्षी डेविड माट्सुमोटोसँग मिलेर फरक अध्ययन गरिन् । त्यसबेला पारालिम्पिकमा जन्मजात दृष्टिविहिन खेलाडीमा गरेको अध्ययनले पनि यस्तो प्रतिक्रिया विश्वव्यापी र प्राकृतिक रुपमा बाहिर आउने बताए । ‘यदि हात टाउकोमा छ भने त्यो लाज हो,’ ट्रेसीले भनिन्, ‘शरीरको हलचल र खेलाडीको हातको स्थिति हेर्दा खेलाडीले आफूलाई सानो देखाउन खोजेको भान हुन्छ । यो नै लाज देखाउने प्रचलित हाउभाउ हो ।’

सन् २०१० मा नाइजेरियाका याकुबु मिस गरेपछि

खेलाडीले गल्ती गरेको स्वयं खेलाडीबाहेक अरुले राम्ररी बुझ्न सक्दैनन् । अमेरिकाको राष्ट्रिय टोलीबाट खेलेर हाल टेलिभिजन विश्लेषकको भूमिकामा देखिएका कोबी जोन्सका अनुसार खेलाडीले गल्ती गर्दा अपत्यारिलो र निकै लज्जास्पद भावना हुन्छ । ‘हामीले हरेक दिन र हरेक समय प्रशिक्षण गर्ने भनेकै बललाई गोलपोस्ट भित्र छिराउन हो,’ उनले भने, ‘अवसर जतिबेला पनि सामान्य हुन्छ । गल्ती गर्ने भन्ने विकल्प नै हुन्न ।’

यो संकेत विपक्षी गोलरक्षकले पक्काजस्तो देखिएको गोललाई उत्कृष्ट ढंगले बचाउँदा पनि देख्न सकिन्छ । यसको राम्रो उदाहरण सन् २००६ को विश्वकप फाइनलको अतिरिक्त समयको अन्तिम मिनेटमा देखियो । फ्रान्सका जिनेदिन जिदानको हेडर गोलपोस्टतर्फ जाँदा इटालीका जियानलुइजी बुफोनले औंलाको छेउले बललाई क्रसबार कटाइदिए । उक्त गोल भएको भए फ्रान्सको जित पक्का थियो । त्यसको नतिजास्वरुप जिदानले आफ्नो कपाल नभएको टाउकोमा हातले समाते ।

बल प्रहार गर्नेको गल्तीले होस् या गोलरक्षकले गरेको उत्कृष्ट बचाउ, असफल खेलाडीको प्रतिक्रिया त्यही नै हुन्छ । ‘तथ्यांक हेर्दा पनि सत्य त्यही देखिन्छ,’ बेलायती फुटबलका इतिहासकार डेविड गोल्डब्लाटले भनेका छन्, ‘खेलाडीले अवसर गुमाउँदा होस् या गोलरक्षकले विफल तुल्याउँदा होस् । जुन प्रक्रियाले तपाई त्यो स्थितिमा पुग्नुहुन्छ, त्यो यहाँ न त्यहाँको हुन्छ । ’

सन् १९६६ मा केल्टनरले एक अध्ययनमा मानिसले अकस्मात विष्फोट हुँदा देखाउने प्रतिक्रियाको विश्लेषण गरेको थियो । उक्त अध्ययनमा देखाएको प्रतिक्रिया र फुटबल खेलाडीको सानो गल्तीले गोल नगर्दाको प्रतिक्रिया समान देखिए । प्रारम्भिक प्रतिक्रियापछि हुने केही क्षण भने फरक हुन सक्छन् । खेलाडीले आफ्नो अनुहार हात वा जर्सीले छेक्न खोज्छन् । केहीले भने आकासतिर हेरेर आफ्नो भाग्यलाई गाली गरिरहेका भेटिन्छन् ।

‘जब खेलाडी आश्चर्यमा पर्छन् तब माथि हेर्छन्,’ गोल्डेन स्टेट वारियर्सको प्रशिक्षण टोलीसँग समय बिताएका केल्टनरले भने । उनले त्यस अनुभवबाट ‘खेलाडीले समर्थकभन्दा बढी महत्त्व बुझेका हुन्छन्’ भन्ने निष्कर्ष निकाले । बेला–बेलामा समर्थकले पनि खेलाडीसँगै यस्तो प्रतिक्रिया दिएको पाइन्छ । जर्मन खेलकुद विश्वविद्यालयका खेल मनोविज्ञ फिलिप फर्लीले पेनाल्टीको समयमा गरेको अध्ययनले पनि सोही प्रतिक्रिया देखाएको बताए ।

समर्थकबारे भने फर्लीले खेलाडीको व्यवहार र हाउभाउले उनीहरूलाई असर पर्ने हुनाले यस्तो प्रतिक्रियाले समर्थकले पनि खेलाडीको अवस्था बुझ्ने निष्कर्ष निकाले । कारण जे भए पनि यो प्रतिक्रियाको सम्भावना एकदम प्रबल रहन्छ । ‘यो कमेडियनले कुनै प्रहसनमा जोक भनेजस्तै हो,’ उनले थपे, ‘मानिसहरू चुटकला पूरा नहुँदै हाँस्न थाल्छन् । धेरै कमेडी यसरी नै चलेका हुन्छन् ।’

डेविड गेन्डेलम्यान
– न्युयोर्क टाइम्स

प्रकाशित : असार ३०, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?