कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्रोएसिया नयाँ च्याम्पियन बन्ला त ?

क्रोएसियालाई बलियो फ्रान्सविरुद्ध फाइन्लमा जित हासिल गरेर हरेक २० वर्षमा नयाँ विजेता बन्ने क्रमलाई कायम राख्ने अवसर छ ।
राजु घिसिङ

मस्को — पेलेको उदयसँगै ब्राजिल विश्वकपमा पहिलोपल्ट सन् १९५८ मा च्याम्पियन भएको थियो । त्यसयता हरेक २० वर्षमा विश्व फुटबलको सर्वोच्च प्रतियोगिताले नयाँ विजेता पाइरहेको छ ।

क्रोएसिया नयाँ च्याम्पियन बन्ला त ?

पहिलोपल्ट फाइनल पुगेको क्रोएसियाले बलियो टिम फ्रान्सलाई आइतबार लुजनिकी रंगशालामा पराजित गरेर त्यस क्रमलाई निरन्तरता दिने प्रयास गर्दैछ ।


रियल म्याड्रिडका मिडफिल्डर ल्युका मोडरिच क्रोएसियाली टिमका आर्किटेक्ट हुन् । सानो शरीरका भएरपनि कहिल्यै नथाक्ने किसिमले मैदानमा दौडदै सटिक पास दिइरहेका उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार गोल्डेन बलका प्रमुख दाबेदार हुन् ।


उनी मात्र होइनन्, अन्डर डगको रुपमा फाइनल यात्रा तय गर्ने क्रममा बार्सिलोनाका मिडफिल्डर इभान राकिटिच, युभेन्टसका फरवार्ड मारियो मान्जुकिच, मोनाकोका गोलकिपर डानिएल सुबासिच, फ्रयांकफर्टका फरवार्ड एन्टे रेबिकले पनि उत्कृष्ट खेल पस्किरहेका छन् ।


इन्टरमिलानका फरवार्ड इभान पेरिसिच त सेमिफाइनलमा इंग्ल्यान्डविरुद्धको जितमा म्यान अफ द म्याच नै चुनिए । इन्टरकै मिडफिल्डर मार्सेलो ब्रोजोभिच पनि उच्च लयमा छन् ।

डिफेन्समा एट्लेटिको म्याड्रिडका सिमे भारसाल्को, बेसिक्तासका डोमागोज भिदा, लिभरपुलका डेजान लोभरेन र साम्पडोरियाका इभान स्ट्रिनिचको प्रदर्शन पनि प्रशंसनीय रहेको छ ।


रियलका माटेओ कोभासिच, एसी मिलानका निकोला कालिनिचसहित क्रोएसियाको बेन्चका खेलाडी पनि प्रतिभाशाली छन् । त्यसैले त क्रोएसिया इतिहास रच्दै विश्वकपको फाइनल पुग्ने १३ टिम भएको हो । उसले हरेक दुई दशकमा नयाँ विजेता बन्ने ब्राजिल, अर्जेन्टिना र फ्रान्सको सफलतालाई पछ्याउन सक्छन् ।


लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाविरुद्ध समूह चरणमा ३—० को जित निकालेपछि क्रोएसियाले धेरैको ध्यान तानेको थियो । प्रशिक्षक लात्को डालिचले दोस्रो रोजाईको टिमलाई मैदानमा उतारेर पनि समूह चरणको अन्तिम खेलमा आइसल्यान्डलाई पराजित गरेको थियो ।

तैपनि पूर्वी युरोपको सानो देशले फाइनल त के सेमिफाइनलको यात्रा गर्छ भन्ने अनुमान पनि गरिएको थिएन । तर, समीकरण त्यस्तै बन्यो ।


ठूला टिमहरु अर्कै पोलमा परेपछि क्रोएसियाको बाटो अझ सहज बन्दै गयो । त्यसैको कारण क्रोएसिया फाइन्ल पुगेको भने होइन । किनभने उसले स्वर्णिम पुस्ता मानिएको फुटबलको जन्मदाता इंग्ल्यान्डको युवा टिमलाई सेमिफाइनलमा आक्रमक खेल प्रदर्शन गरेरै हराएको थियो ।

अन्तिम १६ मा डेनमार्कलाई पराजित गर्न पनि टाइब्रेकरको साहरा लिएको उसले क्वाटरफाइनलमा आयोजक रुसको चर्को दबाब बल्लतल्त पार गरेको थियो । लगातार दुई घन्टा र टाइब्रेकरको झेल्नुपरेकोले उसका खेलाडीले इंग्ल्यान्डविरुद्ध त्यस्तो आक्रमक खेल्ने अनमुान कमैले गरेका थिए ।


दुई घन्टा चलेको सेमिफाइनलको कुनै पनि क्षणमा क्रोएसियाली खेलाडी थाकेको देखिएन । र, त्यही लुजनिकी रंगशालामा उसले उपाधि होडको अन्तिम खेलमा आज फ्रान्सको सामना गर्दैछ । यी दुई सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको अन्तिम चारमा भिडेका थिए ।

त्यसमा डेभोर सुकरले दिलाएको अग्रता जोगाउन नसक्दा लिलियम थुरामले दुई गोल गर्दै फ्रान्सलाई पहिलोपल्ट विश्वकपको फाइनल पुऱ्याएका थिए । र, पछि ब्राजिललाई हराएर फ्रान्स च्याम्पियन नै भयो ।


दुई दशकयता फाइनलको पहिलो अनुभवमै च्याम्पियन हुने टिम फ्रान्स र स्पेन हुन् । त्यसैले पेरिसमा २० वर्षअघि बेहोरेको हारको बदला लिनसके क्रोएसिया विश्वकपको नयाँ च्याम्पियन बन्नेछ ।

त्यसको लागि क्रोएसियाले एन्गोलो कान्टे र पउल पोग्बाको तगारो पन्छाउदै एन्टोइन ग्रिजमन र किलियन एम्बाप्पेलाई पनि रोक्नुपर्छ । पाभार्ड र उम्टिटिलाई उछिनेर ह्युगो लोरिसको गोलपोष्टमा धावा त बोल्नैपर्छ ।


पाँचौपल्ट विश्व्कपमा सहभागि क्रोएसियाको सफलताको मुख्य आधार टिम वर्क हो । उसका खेलाडी जुझारु छन्, भिडेर खेल्छन् । आफ्नो फुटबल कौशलत त उपयोग गर्छन् नै शारीरिक खेलको लागि पनि पछाडि पर्दैनन् । पछाडि परेरपनि हार मान्ने गर्दैनन् ।

सन् १९९८ मा हात पारेको तेस्रो स्थानको उपलब्धिलाई उछिन्ने क्रममा यसपालि उसले नकआउटका तीनै खेलमा एक गोलले पछाडि परेको स्थिति उल्टाएर जित रचेको थियो । त्यसैले क्रोएसियाले डिडियर डेसच्याम्पको टिमलाई पन्छाउँदै हरेक २० वर्षमा नयाँ विजेता निस्कने क्रमलाई निरन्तरता दिनसक्छ ।

क्रोएसियाको विश्वकप २०१८ को यात्रा


नतिजा प्रतिद्वन्द्वी

२—० नाइजेरिया

३—० अर्जेन्टिना

२—१ आइसल्यान्ड

१—१ डेनमार्क

(३—२ टाइब्रेकर)

२—२ रुस

(४—३ टाइब्रेकर)

२—१ इंग्ल्यान्ड(अतिरिक्त समय)

प्रकाशित : असार ३१, २०७५ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?