कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

फ्रान्सलाई विश्वकप उपाधि

राजु घिसिङ

मस्को — स्टार खेलाडीले भरिएको फ्रान्सले सुस्त सुरुआत गरेर पनि विश्वकप फुटबलको उपाधि जितेको छ । फ्रान्सले आइतबार लुजनिकी रंगशालामा भएको फाइनलमा क्रोएसियामाथि ४–२ को जित रच्दै दोस्रोपल्ट विश्वकप जितेको हो ।

फ्रान्सलाई विश्वकप उपाधि

यो विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरेका १९ वर्षीय फरवार्ड केलियन एमबाप्पे, एन्टोइन ग्रिजमन र पाउल पोग्बाको गोलसँगै फ्रान्स फेरि विश्वविजेता भएको हो । यसअघि उसले सन् १९९८ मा घरेलु भूमिमा भएको फाइनलमा ब्राजिललाई ३–० ले हराएर पहिलोपल्ट विश्वकप जितेको थियो । फान्सलाई २००६ को फाइनलमा भने इटालीले पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो ।


डिडियर डेसच्याम्प २० वर्षअघि फ्रान्स च्याम्पियन हुँदा कप्तान थिए । अहिले उनी प्रशिक्षकका रूपमा च्याम्पियन भए । यसरी खेलाडी र प्रशिक्षकमा विश्वकप जित्ने उनी तेस्रो व्यक्ति हुन् । फरवार्ड ओलिभियर जिरुड सातौं खेलमा पनि गोलको खाता खोल्न असफल भए तर एमबाप्पे, ग्रिजमन र पोग्बाले क्रोएसियाली डिफेन्सलाई ध्वस्त पारिदिए । मिडफिल्डमा फेरि लुका मोड्रिच चम्किए तर उनी एक्लैले क्रोएसियालाई विश्वकप जित्ने नवौं टिम बनाउन सकेनन् ।


दुई दशकयताका दुईपल्ट विश्वकप जित्ने फ्रान्स पहिलो टिम हो । दोस्रोपल्ट च्याम्पियन भएपछि उसले उरुग्वे (१९३० र १९५०) र अर्जेन्टिना (१९७८ र १९८६) को उपलब्धि पनि बराबरी गर्‍यो । यसभन्दा बढी इटाली र जर्मनीले ४–४ तथा ब्राजिलले पाँचपल्ट विश्वकप जितेका छन् । क्रोएसिया भने फाइनल पुगेर पनि उपाधि नजित्ने पाँचौं टिम बन्यो । उसको हारसँगै सन् १९५८ यता हरेक २० वर्षमा नयाँ च्याम्पियन निस्कने क्रम पनि तोडियो ।


फ्रान्सले यो विश्वकपको पहिलो खेलमा अस्ट्रेलियालाई २–१ ले पराजित गर्न भिडियो असिसेन्ट रेफ्री (भार) को सहयोग लिनुपरेको थियो । र, समूहको अन्तिम खेलमा डेनमार्कविरुद्ध पनि निरश फुटबल खेलेको थियो । तर, नकआउट प्रवेशसँगै उसले लय समात्यो । अन्तिम १६ मा लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध ४–३ को जितमा दुई गोल गर्दै एमबाप्पेले नयाँ सुपरस्टारका रूपमा उदाएको संकेत दिए । त्यसपछि फ्रान्सले क्वाटरफाइनलमा अर्को दक्षिण अमेरिकी टिम उरुग्वेलाई हराएको थियो । उसले सेमिफाइनलमा स्टार खेलाडीको वर्चस्व रहेको बेल्जियमलाई पराजित गर्न पनि धेरै मिहिनेत गर्नुपरेको थिएन ।


कुल ४० करोड अमेरिकी डलर पुस्कारको विश्वकपमा फ्रान्सले तीन करोड ८० लाख हात पार्‍यो । उपविजेता क्रोएसियाको भागमा २ करोड ८० लाख डलर रह्यो । ३० टिम सहभागी एक महिने प्रतियोगितामा इंग्ल्यान्डलाई हराएर तेस्रो भएको बेल्जियमले २ करोड ४० लाख डलर पायो ।


प्रकाशित : असार ३१, २०७५ २२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?