विश्वकप गोल्डेन बुट इंग्ल्यान्डका ह्यारी केनलाई

एजेन्सी

मस्को — इंग्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका छन् । उनले फाइनल खेलमा गोल गरेका फ्रान्सका खेलाडीद्वय एन्टोइन ग्रिज्मन र किलियन एम्बाप्पेलाई २ गोलले पछाडि पार्दै उपाधि जित्न सफल रहे ।

केन गोल्डेन बुट जित्ने इंग्ल्यान्डका दोस्रा खेलाडी हुन्। यसअघि ग्यारी लिनेकरले ३२ वर्षअगाडी भएको विश्वकपमा गोल्डेन बुट जितेका थिए।

Yamaha

केनले प्रतियोगिताको पहिलो खेलमा ट्युनिसियाविरुद्ध दुई गोल गर्दै उत्कृष्ट सुरुआत गरेका थिए। दोस्रो खेलमा पानामासँग ह्याट्रिक गरेका उनले समूह चरणको अन्तिम खेलमा भने विश्राम पाए। त्यसपछि अन्तिम १६ को खेलमा उनले कोलोम्बियाविरुद्ध पेनाल्टीबाट गोल गर्दै गोल संख्या ६ पुर्याए। त्यसपछिका ३ खेलमा गोल गर्न नसकेपनि उनले गोल्डेन बुट कब्जा गर्न सफल रहे।

चार गोल गर्ने सुचिमा फ्रान्सका ग्रिज्मन र एम्बाप्पेसँगै रुसका डेनिस चेरेसेभ, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकु छन्। समान गोल भएकाले असिस्टका आधारमा सिल्भर बुट ग्रिज्मन र ब्रोन्ज बुट लुकाकुले प्राप्त गरे।

प्रकाशित : असार ३२, २०७५ १२:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आजको संसद बैठकमा ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गर्ने सरकारको तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसदको सोमबार १ बजे बस्ने बैठकमा सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पाखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गर्ने कार्यसूची रहेको छ । यस्तै आजकै बैठकमा 'बिमा विधेयक २०७५' र संकल्प प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

हिजो आइतबारकै बैठकमा विधेयक पेश गर्ने कार्यसूची रहेपनि पूर्व स‌ंविधानसभा सदस्य एव‌ं पूर्व राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएकाले शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो।

१७ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीको मागलाई वेवास्ता गर्दै सरकारले परिमार्जनसहितको विधेयक संसदमा प्रस्तुत गर्ने तयारी गरेको हो।

शिक्षामन्त्रीद्वारा ‘चिकित्सा शिक्षा विधेयक २०७५’ संसदमा प्रस्तुत गर्नु अघि उक्त विधेयक प्रस्तुत गर्न संसदमा अनुमति माग गरिएको प्रस्ताव विरुद्ध नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गराएको विरोधको सूचना निणर्याथ प्रस्तुत हुने छ। यस्तै सरकारको सोही प्रस्तावको विरुद्धमा नेमकिपाका सांसद प्रेम सुवालले पनि विरोधको सूचना दर्ता गराएका छन्। त्यसलाई पनि आजकै संसदमा निणर्याथ प्रस्तुत गरिने छ। त्यसपछि मात्रै शिक्षामन्त्रीले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।

यस्तै आजको बैठकको सुरुमा भने नेकपाकी सांसद विन्दा पाण्डेले महिला हिंसाको विषयलाई लिएर संकल्प प्रस्ताव पेश गर्ने भएकी छिन्। संसदको कार्यसूची अनुसार सांसद पाण्डेले पेश गरेको प्रस्ताव आजै निणयार्थ प्रस्तुत समेत गरिने छ।

नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै महिलामाथि हुने जघन्य अपराध र सबैप्रकारका विभेदलाई अन्त्य गर्न विभिन्न सन्धी र महासन्धीहरुमा हस्ताक्षर गरेकोले त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न संकल्पको प्रस्ताव ल्याउन लागिएको हो। महिला हिंसाको अन्त्य गर्न र समाजमा रहेका महिला विरोधी कुरितीहरु हटाउनका लागि विद्यालयको पाठ्यक्रममा पनि यसलाई राख्न संकल्प प्रस्तावले सरकारलाई निर्देशन दिने छ।

यस्तै आजको संसद बैठकमा अर्थमन्त्री युवराज खतिवडाले 'बिमा विधेयक २०७५' पनि पेश गर्ने कार्यसूची रहेको छ।

प्रकाशित : असार ३२, २०७५ १२:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT