कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जोगिऔं शीताङ्गबाट

अतुल मिश्र

काठमाडौ — जाडोले च्याप्दै ल्याएको छ । यस्तो बेला जीउ कसरी तताउने ? धेरै जनाले मद्यपानलाई सजिलो विकल्प मान्ने गरेका छन् । तर, चिकित्सकहरूका अनुसार मद्यपानपछि न्यानोको अनुभूति हुने गरे पनि त्यो मीठो भ्रम मात्रै हो ।

जोगिऔं शीताङ्गबाट
मद्यपानका कारण शरीर चिसोचाहिँ हुन्छ, तातो होइन । यसैले यो मौसममा मातेर राति ढलेकाहरू भोलिपल्ट बिहान पनि नउठ्न सक्छन् । यो मौसममा शरीर चिसिने समस्या अर्थात् शीताङ्ग (हाइपोथर्मिया) बाट जोगिन अत्यावश्यक छ ।
'चिसो मौसममा रक्सी खाएपछि यदि न्यानोपनको अनुभूति गर्नुहुन्छ भने यो तपाईंका लागि चेतावनी हो,' मद्यपानले जाडो भगाउने गलत धारणा समाजमा विद्यमान रहेको उल्लेख गर्दै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, 'तपाईं हाइपोथर्मियाको सिकार हुन सक्नुहुन्छ ।' शीताङ्ग अर्थात् हाइपोथर्मियाका कारण उपत्यकामा बर्सेनि केही व्यक्तिको मृत्यु हुने गरेको जनाउँदै उनी थप्छन्, 'जाडो याममा रक्सी खाएर सडकमा ढलेकाहरू चिसोले गर्दा बिहानसम्म मरिसकेका उदाहरण प्रशस्त छन् ।'
जाडो याममा अत्यधिक मद्यपानका कारण होस गुमाएर शीताङ्ग हुने समस्या हाम्रो मुलुकमा बढी पाइने गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साह बताउँछन् । 'जाडोमा बढी मद्यपानको चलन गाउँघरमा झन् बढी छ,' उनी भन्छन्, 'चिसोमा रक्सीले जीउ तताउने नभई झन् चिसो बनाउने जनचेतना फैलाउन आवश्यक छ ।'
जाडो याममा शरीरको तापक्रम ३४/३५ डिग्री सेल्सियसभन्दा तल झरेको अवस्थालाई हाइपोथर्मिया भनिन्छ । यस्तो बेला हातखुट्टा मात्रै चिसो हुने हैन, सास फेर्नसमेत असजिलो हुन्छ । मुटुको चाल बढ्न थाल्छ, रक्तचाप कम हुन्छ । शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुन सक्छ ।
शीताङ्ग यस्तो स्थिति हो, जसमा शरीरको तापक्रम सामान्य अर्थात् ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा कम हुन्छ,' पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. अर्जुन कार्की भन्छन्, 'हल्का, मध्यम, गम्भीर र उच्च गरी शीताङ्गलाई चार प्रकारमा बाँडिएको छ ।'
यसअनुसार हल्का शीताङ्गमा शरीरको तापक्रम ९०/९५ डिग्री फरेनहाइट हुन्छ । मध्यम शीताङ्ग हुँदा शरीरको तापक्रम ८२ देखि ९० डिग्री फरेनहाइटसम्म, गम्भीर हुँदा ८२ देखि ६८ डिग्री फरेनहाइटसम्म हुन्छ । ६८ डिग्री फरेनहाइटभन्दा कम तापक्रमको स्थितिलाई उच्च मानिन्छ । निकै जोखिमपूर्ण ।
चिसो लाग्दा मुटुको चालमा वृद्घ िहुन्छ । थुप्रै अंगका मांसपेशीले आफूलाई न्यानो राख्न ऊर्जालाई बाहिर निकाल्न थाल्छन् । यस्तो बेला रगतको प्रवाहसमेत कम हुन्छ । खुट्टा र हत्केलामा चिसोको अनुभूति हुन्छ । मद्यपानका कारण हात र खुट्टाका रक्तनलीहरू फैलिन थाल्छन् । अनि मद्यसेवीलाई हातखुट्टा तात्दै गएको भ्रम हुने गर्छ ।
विज्ञहरूका अनुसार शरीरको तापक्रम सामान्यभन्दा एकदेखि दुई डिग्रीसम्म कम हुने स्थितिमा हातलाई काम गर्न असजिलो हुन्छ, थाकेको अनुभव हुन्छ । यस्तै, दुईदेखि चार डिग्रीसम्म तापक्रम कम हुँदा जीउ काम्न थाल्छ, रक्तनलीहरू खुम्चिन थाल्छन्, प्रभावित व्यक्ति पहंेलो हुँदै जान्छ, उसका ओठ र कान नीलो देखिन थाल्छन् । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम हुँदा प्रभावित व्यक्तिको जीउ काम्न बन्द हुन्छ, उसलाई सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम हुँदा बिरामी हिँड्न सक्दैन । शरीरका सबै अंगहरूले काम गर्न छोड्छन् ।
'त्यसैले जाडो याममा प्रशस्त झोल पदार्थ, पानी खानुपर्छ,' डा. कार्की भन्छन्, 'तरल पदार्थ प्रशस्त सेवन गर्नुस् तर मदिरा होइन है ।'


कसरी जोगिने
    न्याना लुगाहरू पर्याप्त लगाउनुस्
    आवश्यक नभए बढी चिसोमा ननिस्कनुस्
    घर बाहिर निस्किँदा टाउको, घाँटी र कान छोप्नुस्
    न्यानो ठाउँमा बस्नुस्
    तरल पदार्थ पर्याप्त सेवन गर्नुस्
    थाकेका बेला आराम गरिहाल्नुस्

प्रकाशित : पुस २७, २०७० ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?