जलबिन्दु

थाहै नदिई बिस्तारै दृष्टि चोर्छ
अतुल मिश्र

काठमाडौ — चस्माको पावर बारम्बार फेर्नुपर्ने बाध्यता रहेका दिनेशले डाक्टरसँग जचाउँदा आफूलाई जलबिन्दु भएको थाहा पाए ।

उनको दृष्टिमा कैफियत जलबिन्दुकै कारण भइरहेको रहेछ । उनी भाग्यमानी रहेछन् । बेलैमा उपचार प्रक्रिया सुरु हुन पाएकाले उनले दृष्टि गुमाउनुपरेन । तर, समयमै पहिचान नभएर दृष्टि गुमाउनेहरू हाम्रो मुलुकमा कम छैनन् ।
'अनुमानित तथ्यांक अनुसार, उमेरको चार दशक नाघेको दुई प्रतिशत जनसंख्यामा जलबिन्दु देखिएको छ,' तिलगंगा आँखा प्रतिष्ठानकी जलबिन्दु विशेषज्ञ डा. इन्दिरा पौडेल भन्छिन्, 'लुकेर प्रहार गर्ने यो रोगका बारेमा चालै नपाएर धेरैजसो बिरामीहरू दृष्टि गुमाउन बाध्य हुन्छन् ।'
उमेरले ४० काटेकाहरूले नियमित रूपमा आँखा चेक गराउनुपर्ने सुझाउँदै डा. पौडेल सावधानी अपनाए समयमै जलबिन्दु पहिचान गर्न सकिने र बढ्नबाट समेत रोक्न सकिने बताउँछिन् ।
जलबिन्दु जोसुकैलाई हुन सक्छ । यो रोगले ग्रस्त अधिकांश व्यक्ति आफू रोगी भएको थाहा पाउँदैनन् । जलबिन्दुले आँखालाई पुर्‍याएको क्षतिको भर्पाई हुन सक्दैन ।
'उपचार सुरु गरे पनि यसभन्दा अघि भएको क्षतिको भर्पाइ गर्न सकिँदैन,' पौडेल भन्छिन्, 'हामी भविष्यमा हुन सक्ने थप क्षतिलाई रोक्ने प्रयास गर्छौं ।'
आँखाभित्र भएको तरल पदार्थको अत्यधिक दबावले गर्दा यो समस्या उत्पन्न हुन्छ । आँखाभित्रको दबाब जलबिन्दु हुने मुख्य जोखिमको कारक हो ।
हाम्रो मुलुकमा अन्धोपनाको तेस्रो प्रमुख कारण जलबिन्दु रहेको उल्लेख गर्दै डा. प्रतिभा जोशी भन्छिन्, 'सर्वेक्षणको अभावले देशमा जलबिन्दु प्रभावितहरूको यकिन आकलन गर्न सकिँदैन ।'
तिलगंगाको जलबिन्दु क्लिनिकमा हरेक पटक ६० देखि ७० जनासम्म रोगी पुग्ने गरेका छन् ।
अमेरिकास्थित नेसनल आई इन्स्िटच्युट -एनईआई) को तथ्यपत्र अनुसार, आँखाभित्र भएका अंगको पोषणका लागि एक किसिमको तरल पदार्थ उत्पन्न हुने गर्छ । उपयोगिता सकिएपछि यो तरल पदार्थ आँखाका मसिना प्वालहरूबाट बाहिर निस्किन्छ । तर, उमेर वृद्धिसँगै प्वालहरू साना हुँदै जान्छन्, टालिँदै जान्छन् । अनि त्यो तरल पदार्थ बाहिर निस्किने प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । यसबाट आँखामा दबाब बढ्न थाल्छ । त्यो दबाबले आँखाले मस्तिष्कमा संकेत पठाउने नसा -अप्टिकल नर्भ फाइभर) लाई नष्ट गर्छ । सामान्यतः आँखामा बढी बल पर्नाले यस्तो हुन्छ । यो नसा धेरै संवेदनशील हुन्छ । त्यसैले अलिकति दबाब पर्दा पनि यसले काम गर्न छोड्छ । अनि दृष्टि कमजोर हुन थाल्छ ।
एनईआईकै अनुसार, मस्तिष्कमा संकेत पठाउने आँखाको नसा क्षति हुने अर्को कारक उच्च रक्तचापसमेत हो ।
समयमै जलबिन्दुको पहिचान गर्न वर्षेनि आँखा परीक्षण गराउनुपर्छ । जलबिन्दुका थुप्रै अप्रत्यक्ष लक्षण हुन्छन् । तिनलाई ध्यान दिइयो भने जलबिन्दुलाई बेलैमा नियन्त्रण गर्न सकिन्छ । जलबिन्दु जन्मजातसमेत हुन सक्छ ।
जलबिन्दुको लक्षण एकदमै कम व्यक्तिलाई हुने उल्लेख गर्दै डा. पौडेल भन्छिन्, 'एक्कासि आँखा दुख्ने, रातो हुने, टाउको दुख्ने, वान्ता हुने आँखामा इन्द्रेनी जस्तो आउने लक्षण देखिन्छ भने तुरुन्त आँखा विशेषज्ञको सल्लाह लिनुपर्छ ।'
एनईआईका अनुसार, जलबिन्दु रोग निको हुँदैन । यो रोगले गुमेको दृष्टि फर्किंदैन । तर, समयमै रोग पहिचान गरेर उपचार प्रक्रिया सुरु गर्दा दृष्टि गुम्नबाट जोगिन्छ ।
हाम्रो मुलुकमा जलबिन्दुको सबै उपचार र परीक्षण सुविधा उपलब्ध छ । अझ जलबिन्दु पीडित बालबालिकाको शल्यक्रिया समेत मुलुकमै हुन्छ । चिकित्सकले जलबिन्दु किटान भएकाहरूलाई आँखाको दबाब कम गर्न औषधि दिने गर्छन् । रोग बढ्दै जाँदा औषधिले नियन्त्रण नहुने अवस्थामा शल्यक्रिया गरिन्छ ।
 

प्रकाशित : फाल्गुन २४, २०७० ११:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेपाली नारीको असली कथा

काठमाडौ — सगुना शाह राम्रो खानदानमा जन्मिन् । यस्तै परिवारमा उनको बिहे भयो । दाम्पत्य जीवन भने

फाप्न सकेन । दुई छोराकी आमा उनीमाथि पतिले अनेक 'टेन्सन' थोपर्थे, रक्सी पिएर पिट्थे । घरेलु हिंसाले सीमा नाघेपछि एक दिन उनले डिभोर्सको निर्णय लिइन् र छोराहरूसाथ घर छोडिन् ।
'यो मेरो आफ्नै कथा हो,' शुक्रबार थिएटर भिलेजमा आफ्नै भोगाइलाई अभिनयमा उतार्दै उनले भनिन्, 'यस्तो थियो मेरो अतीत ।'
अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) अवसर पारी मञ्चित 'टेलिङ अ टेलः किचेन ड्रामाज' मा आधा दर्जन नेपाली नारी प्रतिनिधिको सत्य घटना प्रस्तुत गरिएको थियो । सगुना र स्वस्ति उप्रेतीले आफ्नै कथामा अभिनय गरेका थिए । नाटकले नेपाली लेखिका, चित्रकार, सामान्य महिलादेखि आफ्नो सांस्कृतिक परिवेशबाहिर (विदेशमा) बस्ने नारीका भुक्तमान कथावाचन शैलीमा प्रस्तुत गरिएको थियो । काठमाडौंको नेवारी समुदायमा हुर्केकी चित्रकार अस्मिना रञ्जितले सानैमा घरमा बोलाउने नाम 'मैया' मा भन्दा आफ्नो साँचो 'अस्मिना' मा कति गर्व गर्थिन् र पछि उनी यही नामबाट नेपाली नारीको समस्या र अस्तित्वको प्रश्नलाई लिएर कसरी कलामार्फत उदाइन् भन्ने कथा पनि मार्मिक थियो ।
साहित्यकार मञ्जुश्री थापाको कथा उत्तिकै मन छुने थियो । कूटनीतिक बुबाका कारण विभिन्न मुलुकमा बाल्यकाल बिताएकी उनलाई अभिभावकले प्रेम, नारी, यौन र बाहिरी मान्छेसितको सम्बन्धबारे कसरी सिकाउन चाहेका थिए र उनमा त्यसको कस्तो प्रभाव पर्‍यो भन्ने कथा रोचक लाग्थ्यो । प्रायः नेपाली नारीलाई अभिभावकले आफ्नो अनुकूल हुर्काउन खोज्ने, उनीहरूकै निर्णय लाद्न खोज्ने, बिहेपछि श्रीमान्ले आफ्नै अनुकूल शासन गर्न खोज्ने र जसका कारण सम्बन्ध र आकांक्षाहरूमा टकराव देखिनेजस्ता साझा समस्या सबैका कथामा थिए ।
अमेरिकी रंगकर्मी डेबोरा मेरोला निर्देशित अंगे्रजी नाटकमा आभा लाल, अविनाशी पौडेल, आभा इली लगायतका कथा पनि मञ्चन गरिएको थियो । लेखिका अर्चना थापाले ३० नेपाली प्रतिनिधि महिलाको कथा समेटेर सन् २०१० मा निकालेको 'टेलिङ अ टेल' अंग्रेजी किताबबाट कथाहरू लिइएका थिए । नाटकमा अर्चना स्वयं आफ्नै छोरी स्वस्तिको कथामा र अन्य कथामा अभिनयसाथ देखिएकी थिइन् । राजकुमार पुडासैनी, काल्साङ लामा, कुर्चीदास गुप्ता, सुमना केसी, सुनयना पन्थी, उत्पल झा, दिव्यदेव पन्त, बिना गुरुङ, गोपाल, श्रुति प्रधान, नित्या पाण्डे, भेन्सनले पनि अभिनय गरेका थिए ।

प्रकाशित : फाल्गुन २४, २०७० ११:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT