आयुर्वेद उपचारमा आकर्षण

हाम्रो स्वास्थ्य
अर्जुन शाह

पिलुचौर (बाजुरा) — ग्रामीण क्षेत्रका बासिन्दामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ। जिल्लाको विकट कोल्टी क्षेत्रको पिलुचौरमा दुई दिनसम्म सञ्चालन गरिएको आयुर्वेदिक उपचार कक्षमा बिरामीको घुइँचो नै लागेको थियो।

आयुर्वेद उपचारमा आकर्षण

सदरमुकामबाट २ दिन टाढा कर्णालीसँग जोडिएको पिलुचौरमा पहिलोपटक आयुर्वेदिक उपचार शिविर चलाइएको हो। दुई दिन सञ्चालन गरिएको उपचार कक्षमा ५ सयभन्दा बढी बिरामीले सेवा लिए।
पेट दुख्ने समस्याले ग्रसित जगन्नाथ गाविस ८ का रामबहादुर रोकायाले उपचारका लागि अस्पताल नगएर आयुर्वेदिक नै रोजे। आकस्मिक र दीर्घ रोगले थलिएपछि गाउँ समाजका बिरामीले आधुनिक उपचार प्रदान गर्ने जिल्ला स्वास्थ्यअन्तर्गतको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र धाउने गर्छन्। रोकायाले भने आयुर्वेदिक रोजेका हुन्। 'यो उपचारले राम्रो गर्छ भन्ने विश्वासले आएँ,' रोकायाले भने। पिनास, जन्डिस, ग्यास्टि्रक, हातखुट्टाका जोर्नी दुख्ने, बाथलगायत रोगबाट ग्रसित धेरैजसो आयुर्वेदिक उपचार नै रोज्छन्।
सदरमुकाम मार्तडीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र कोल्टीमा आयुर्वेद औषधालय गरी जिल्लामा दुइटा केन्द्रमा आयुर्वेदिक उपचार सेवा उपलब्ध छ। कोल्टी औषधालयमा दैनिक ३० बिरामी उपचारका लागि आउने गरेको कविराज अधिकृत सन्तोष साहले बताए। १२ वर्षदेखि बाजुरामा कार्यरत साहले भने, 'विगतको तुलनामा आयुर्वेदिक उपचार पद्धतिमा बिरामीको विश्वास बढ्दै गएको छ।'
जिल्ला केन्द्रमा समेत लगभग त्यतिकै संख्यामा उपचारका लागि बिरामीहरू दैनिक आउने गर्छन्। कतिपयलाई जिल्ला अस्पतालले रिफर गरेर आयुर्वेदमा पठाएको केन्द्र प्रमुख दिलीप नायक बताउँछन्। 'जन्डिसका बिरामीलाई सीधै हामीकहाँ रिफर गरिन्छ,' जगन्नाथकै रंगबहादुर बिष्टले भने, 'मलाई आयुर्वेदको औषधिमै विश्वास छ, बिरामी हुँदा अहिलेसम्म आयुर्वेदिक औषधि नै प्रयोग गर्छु।'
आकर्षण बढ्दै गए पनि पूर्वाधार विस्तारमा भने सरकारले प्राथमिकता नदिएको गुनासो नायकको छ। सरकारी नीतिले हरेक पाँच गाविसमा एउटा औषधालय स्थापना गर्ने भने पनि बाजुरामा भने २ ठाउँबाट मात्रै उपचार पाइन्छ। 'नीति कार्यान्वयन हुनुपर्‍यो,' नायकले भने।
ग्रामीण क्षेत्रमा वैद्यहरूले अझै जडिबुटीबाट उपचार गर्ने गरेका छन्। बिरामी पर्दा परम्परागत उपचार गराउन वैद्यकहाँ जानेको संख्या अहिले पनि उस्तै रहेको मार्तडीका नरबहादुर रावलले बताए। अनुभवका आधारमा बिरामीलाई जडिबुटीबाट उपचार गराउने वैद्यहरूलाई गाउँ समाजमा सबैले भरोसा गर्दै आएका छन्।

प्रकाशित : मंसिर २६, २०७१ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?