१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

इन्टरभेन्सनल रेडियोलोजीको चुनौती

सन् १८९५ मा विल्हेल्म रोन्टजेनले एक्सरे आविस्कार गरेसँगै चिकित्सा विज्ञानमा विस्तारै रोग पत्ता लगाउने र उपचार गर्ने विधिमा नयाँ युगको सुरुवात भयो ।

इन्टरभेन्सनल रेडियोलोजीको चुनौती

त्यतिबेला शरीरका भित्री अङ्गलाई छामेर मात्र ठम्याउनुपर्नेमा धेरथोर हेर्न पनि मिल्ने भएपछि रोग निदान सहज हुनथाल्यो । आज प्रविधि र चिकित्सा ज्ञानको अकासिँदो विकाससँगै यसले चिकित्सा विज्ञानमा पुर्‍याएको टेवासमेत चुलिएको छ । रेडियोलोजीको प्रयोग चिकित्सा विज्ञानमा मूलत: रोग पत्ता लागाउन तथा रोग निदान गर्न प्रयोग गरिन्छ ।

इन्टरभेन्सनल रेडियोलोजीमा रेडियोलोजीको प्रयोगद्वारा सूक्ष्म शल्यक्रियामार्फत रोगको पहिचान र निवारण गर्ने गरिन्छ । कुनै बेला शरीर चिरेर उपचार गरिरहनुपर्ने विभिन्न रोगलाई सानो घाउबाट मात्र सचित्र, नचिरिकनै गर्न मिल्ने भएको छ । विश्व मानचित्रमा व्यापक भइसकेको यो विधा नेपालमा भने शिशु अवस्थामा छ । हालै काठमाडौंमा सम्पन्न यही विषयको अन्तर्राष्ट्रिय सम्मेलनले नेपालमा पनि यस्ता सेवाको विकासमा लाग्न ज्ञान र सचेतना सञ्चार गरिरहँदा शिक्षण अस्पताल महाराजगन्जमा अभ्यास भइरहेका विभिन्न यस्ता सूक्ष्म शल्यक्रियाको सेरोफेरोमा इन्टरभेन्सनल रेडियोलोजीको चर्चा गरिनेछ ।

एन्जियोग्राफीबाट शरीरका विभिन्न अङ्गका धमनी अर्थात् रक्तनलीहरू तथा मुटुको अध्ययन गर्ने गरिन्छ । रक्तनली साँघुरिएर वा बन्द भएर हुनसक्ने रोगमा हर्ट एट्याक तथा पक्षाघातसमेत पर्छन् । शरीरको कुनै भागमा भइरहेको रक्तस्रावलाई बन्द गर्न क्वाइलको प्रयोग गरी उक्त रक्तनलीलाई बन्द गर्न सकिन्छ । अत्यधिक रूपमा खोक्दा मुखबाट रगत आइरहँदा फोक्सोमा भएका ब्रोन्कियल रक्तनली एवं मृगौलाको कुनै शल्यक्रिया लगायतका कारण उत्पन्न रक्तस्रावमा रिनल रक्तनलीलाई एन्जियोग्राफीको मद्दतले क्वाइलिङ गरेर ज्यान जोगाउन सकिन्छ । त्यस्तै कुनै रक्तनलीको कुनै भाग सुन्निने वा कमजोर भएर फुट्न सक्ने स्थिति आएमा (एन्युरिजम) त्यस्ता रक्तनलीलाई क्वाइल गरेर फुट्नबाट जोगाउन सकिन्छ ।

कमजोर वा साँघुरो भइसकेको रक्तनलीलाई स्टेन्ट (पातलो पाइप) लगाएर रगत प्रवाह जोगाउन सकिन्छ । मस्तिष्क वा शरीरका अन्य भागका रक्तनलीमा कुनै अवरोध भएमा त्यसलाई निकालेर उक्त अङ्ग जोगाउन सकिन्छ । यसले हर्ट एट्याक, पक्षाघातबाट जोगाउँछ । बायोप्सीमा अल्ट्रासाउन्ड तथा सीटी स्क्यानको मद्दतले शरीरका भित्री भागमा भएका मासुका डल्लाको सानो टुक्रा पातलो सियोको मद्दतले झिकेर जाँच्न गर्न सकिन्छ । प्रोस्टेट, स्तन लगायत अन्य अङ्गमा हुने यस्ता डल्लो सामान्य रहेको वा क्यान्सर रहेको कुराको पहिचान गर्न सकिन्छ ।

शरीरभित्र विभिन्न भागमा जम्मा भएर रहेको पानी, पिप, बाइल लगायतलाई प्रत्यक्ष मेसिनमा हेर्दै निकाल्न सकिन्छ । मृगौलाबाट मूत्रथैलीमा जानुपर्ने पिसाब बन्द भएर मृगौला सुन्निँदै जाँदा तथा संक्रमण हुँदा ‘पीसीएन’ गरेर पाइपबाट छाला बाहिर थैलीमा पिसाब जम्मा पारेर मृगौला जोगाउन सकिन्छ । त्यस्तै कलेजोले उत्पादन गर्ने बाइल जम्मा भएर निस्किन नपाउँदा ‘पीटीबीडी’ गरेर पाइपद्वारा त्यस्ता उत्पादित झोललाई सोझै बाहिर थैलीमा निकाल्न सकिन्छ । शरीरका विभिन्न भागमा जम्मा भएका पिप लगायतका विकारलाई नचिरिकन निकाल्न सकिन्छ । शरीरको कुनै भित्री अङ्गलाई चोट लाग्दा पेटभित्र जम्मा हुनसक्ने रगतको अध्ययन गरी अवस्था पहिचान गर्न सकिन्छ । त्यस्तै पाठेघरमा बस्नुपर्ने गर्भ पाठेघर बाहिर बस्दा हुने ‘इक्टोपिक’ गर्भ फुट्दाको अवस्थालाई समेत पहिचान गर्न सकिन्छ ।

टीआईपीएस (टिप्स) को प्रयोगद्वारा कलेजोमा प्रवाहित रगतलाई सोझै मुटुतिर फर्काएर पोर्टल हाइपरटेन्सनको उपचार गर्न सकिन्छ । टीएसीई (टेस) को प्रयोगद्वारा क्यान्सरग्रस्त शरीरको अङ्गमा क्यान्सर विरुद्धको औषधीलाई पाइपको मद्दतले पुर्‍याने कार्य गरिन्छ । आरएफएको प्रयोगद्वारा शरीरमा अनावश्यक रूपमा रहेका तन्तुहरूलाई वा क्यान्सरलाई रेडियोलोजीको प्रयोगद्वारा सियो पसाएर तातोपनको प्रयोगद्वारा क्षति गर्न सकिन्छ ।

नेपालमा धेरै न्युन स्तरमा यस्ता प्रविधि प्रयोगमा छन् । आकस्मिक तथा ज्यान जोगाउन अत्यावश्यकदेखि दीर्घकालीन निदानमा टेवा पुर्‍याइरहेका यी इन्टरभेन्सनको प्रयोग बढाउन सरकारी स्तरमा बढ्नुपर्छ र यस्ता प्रविधि र दक्षता अभिवृद्धिमा प्रोत्साहित गर्नुपर्छ । चिकित्सकहरूमा यस्ता सीपको यथेष्ट चेतना नहुनु, यस्ता कार्यसँग सम्बद्ध विभिन्न औजार सहज रूपमा उप्लब्ध नहुनु र सरकारी स्तरमा यससँग सम्बन्धित कुनै ठोस योजना नहुनु यसका चुनौती हुन् । शिक्षण अस्पताल महाराजगन्जमा मात्र सीमित यो उपचार विधिलाई विस्तार गर्दै अरू शिक्षण संस्था र अस्पतालसम्म पुर्‍याउनुपर्छ ।
इन्टरभेन्सनमा प्रयोग हुने मेसिन, औजार तथा विभिन्न औषधीले गर्दा यी सूक्ष्म शल्यक्रियाहरू सामान्यभन्दा महँगा छन् ।

तर औसत अस्पतालको बसाइ छोट्टिने, बेहोश पार्न नपर्ने र अन्य शल्यक्रियामा लाग्ने खर्च कम हुने हुँदा औसतमा सस्तो नै पर्छ । प्रयोग भइरहेका औजार अमेरिका र जापानबाट आयातित हुने र डिलरहरूको पनि राम्रो बजार व्यवस्थापन नभइसकेकाले समेत यो प्रविधि महँगो छ । भविष्यमा सरकार र निजी क्षेत्रको प्रयासबाट अझ सहज र सस्तो आपूर्ति हुनसक्छ । यस्ता उपचार विधिको दीर्घकालीन विकास हुँदै गएमा उपचारका लागि विदेश दौडिनुपर्ने परिजीवी बाध्यता घट्नेछ । सीपमूलक तालिमको लागि नेपालमा यथेष्ट अवसर नभएकाले नेपाल सरकारले रेडियोलोजिस्टहरूलाई इन्टरभेन्सनका लागि विदेशका अब्बल अस्पतालहरूमा दक्षता हासिल गर्न पठाउनुपर्छ ।

घिमिरे र चटौत शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत छन् । 


 

प्रकाशित : पुस ९, २०७३ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?