कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कम्मरमा तीव्र पीडा

अतुल मिश्र

चारखुट्टे जनावरबाट मानिस बन्ने क्रममा हामीले पाएको समस्या हो– तीव्र कम्मर पीडा । अर्थात्, स्लिप डिस्क । किनभने, जनावरलाई स्लिप डिस्कले दु:ख दिँदैन । किनकि, जनावर चार पाउ टेकेर हिँड्ने/कुद्ने गर्छन् ।

कम्मरमा तीव्र पीडा

वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तका अनुसार, विकास क्रमसँगै हामी मानिसले चार खुट्टा छोडेर दुई खुट्टामा हिँड्न त सुरु गर्‍यौँ तर यसले गर्दा मेरुदण्डको विशेष दबाब बिन्दुलाई थेग्ने खालको मेकानिजम विकसित भएन । अन्तत: स्लिप डिस्कको सिकार हुन थाल्यौं । स्लिप डिस्कको समस्या हाम्रो मुलुकमा पनि धेरैतिर पाइन थालेको छ ।

दुईखुट्टे मानिस हुने क्रममा पाएको यो समस्या नहोस् भन्नका लागि हामीले पनि हातखुट्टाका भरमा हिँड्नुपर्छ । तर, त्यो सम्भव हुन्न । यसैले होला, स्लिप डिस्कको पीडा झेलिरहेकाहरू चिकित्सककहाँ चार पाउ टेकेरै पुग्ने गरेका छन् । यस्तो गर्दा दुखाइ घटेको अनुभव हुन्छ ।

‘हाम्रो शरीरको इन्जिनियरिङ चार खुट्टा टेकेर हिँड्ने गरी बनाइएको छ, तर विकासक्रममा हामीले दुई खुट्टामा हिँडेर पाएको समस्या हो– स्लिप डिस्क,’ हालसम्म चार हजारभन्दा बढी स्लिप डिस्कको शल्यक्रिया गरिसकेका डा. पन्त भन्छन् ।

हाम्रो मुलुकमा भारी बोक्ने, किसान, प्राध्यापक, चिकित्सक, राजनीतिज्ञ, गृहणी, कामदार, कर्मचारी लगायत सबैजसो वर्ग, समूह, समुदाय, जातजातिमा यो समस्या रहेको उनको अनुभव छ ।

स्लिप डिस्कको समस्या पहिलेपहिले धेरैजसो ४० वर्ष माथिका मानिसमा देखिन्थ्यो । तर अचेल १५–१६ वर्षका किशोर र युवाहरूसमेत यसबाट पीडित पाइने गरेका छन् ।

हालको जीवनशैली कुदाकुदको र तनावग्रस्त छ । त्यसैले यो समस्या पनि बढ्दै गएको हो । हाम्रो शरीरमा क्याल्सियम, भिटामिन ‘डी’ को कमी, उमेरसँगै मांसपेशीको कमजोरी, हार्मोनको परिवर्तन, भुँडी लाग्नु, मोटोपन, उठबसको सही तरिका नअपनाउनु, निरन्तर एकै ठाउँमा गलत मुद्रामा बस्नुजस्ता कारणले स्लिप डिस्क निम्तिने गरेको छ ।

ढाडको हाडको तल्लो खास स्थान अर्थात् एल४ र एल५ एवं एल५ र एस१ मा समस्या उब्जिनु स्लिप डिस्कको करिब ९० प्रतिशत कारण हो । यो दुखाइ ढाडको ठीक त्यही ठाउँमा हुनु पछाडि पनि विज्ञान छ ।

हाम्रो ढाडको एल४, एल५ भएको ठाउँमा एउटा कोण हुन्छ । हिँडडुल गर्दा त्यही ठाउँ सबैभन्दा बढी क्रियाशील हुन्छ । ‘त्यसैले स्लिप डिस्क पनि बढी त्यहीँ हुने गर्छ,’ डा. पन्त भन्छन् ।

यस्तै, गर्दनमा सी५ र ६ एवं सी६ र ७ मा समेत कोण बन्ने र हलचल बढी हुने हुन्छ । त्यही भएर गर्दनको त्यो भागमा पनि स्लिप डिस्कले सताउने गर्छ ।

के हो स्लिप डिस्क ?
स्लिप डिस्क हाम्रो शरीररूपी मेसिनमा भएको प्राविधिक समस्या हो । ढाडको हाड (स्पाइनल कर्ड) अलि बाहिरतिर निस्किएको हुन्छ । यो डिस्कको बाहिरी खण्डमा एउटा बलियो झिल्ली हुन्छ । त्यसको बीचमा जेलीजस्तै तरल पदार्थ हुन्छ ।

स्लिप डिस्कको समस्या भएकाहरूमा त्यो जेली जस्तै तरल पदार्थ भएको खण्ड आफ्नो कनेक्टिभ टिस्युजको घेराबाट बाहिरतर्फ निस्किएको हुन्छ । जुन खण्ड अगाडि हुन्छ त्यसले ढाडको हाडको भित्रतर्फ दबाब दिन थाल्छ । यही दबाबले पीडा उत्पन्न हुन्छ । अनि चस्सचस्स दुख्न थाल्छ ।

हाम्रो शारीरिक संरचनाको मुख्य आधार ढाड हो, जुन ३३ हाड जोडिएर बन्ने गर्छ । प्रत्येक दुई हाड अगाडितर्फ एउटा डिस्कद्वारा र पछाडितर्फ दुई जोडाले जोडिएको हुन्छ । यो डिस्क रबरजस्तै हुन्छ । यसले हाडलाई जोड्नुका साथै लचिलोसमेत बनाउँछ । यही डिस्कमा उत्पन्न विकारलाई स्लिप डिस्क भनिन्छ ।

स्लिप डिस्क हुनुको कारण
गलत किसिमको रूपले उठबस स्लिप डिस्कको प्रमुख कारण हो । बढी तौल उठाउनु, अगाडितर्फ झुकेर काम गर्नु, धेरै बेरसम्म गाडी चलाउनु, कमरमा अचानक तीव्र झडका लाग्नु जस्ता कारणले पनि यो समस्या हुन सक्छ ।

अचेल धेरै मानिसले धेरै समय कम्प्युटरमा काम गरिरहेका हुन्छन् । कम्प्युटर बस्ने पोस्चर ठीक नहुँदासमेत यस्तो समस्या उब्जिने गर्छ । ओछयानमा पल्टेर वा झुकेर कुनै काम गर्दा वा पढ्दा पनि यस्तो हुन सक्छ ।

पलेँटी कसेर काम गर्ने, थाङका पेन्टर, सुनार र कोरियामा गएर काम गर्नेहरूमा स्लिप डिस्कको समस्या बढी देखिएको उल्लेख गर्दै डा. पन्त निहुरेर समान उठाउने/काम गर्ने, पलेँटी कसेर निहुरेर बस्नेहरूमा यो समस्याले जरो गाड्ने सम्भावना धेरै रहेको बताउँछन् । यसैले लामो समयसम्म एकै ठाउँमा बस्नु हुँदैन । नियमित समयको अन्तरालमा केही हिँडडुल गर्नु राम्रो मानिन्छ ।

काउच (सोफा सेटभन्दा आरामदायी मुलायम बस्ने सामग्री) मा आरामसाथ बस्नुको सट्टा कुर्सीमा बस्नु बढी फाइदाजनक हुन्छ । बस्दा अगाडि झुकेर नभई तन्केर बस्ने जस्ता सामान्य सचेतता अपनाउने गरे पनि यो समस्याबाट जोगिन सकिन्छ ।

बढदो उमेरले हुने हाड जोर्नीको, मांसपेशी लगायतका विभिन्न प्रक्रियाको क्षयीकरण समेत स्लिप डिस्क हुने एउटा प्रमुख कारण हो । उमेर बढेसँगै हाड कमजोर हुँदै जान्छ, यसको असर हाम्रो मेरुदण्डमा समेत पर्छ ।

अनि स्लिप डिस्कको जोखिम पनि बढ्छ ।

उसो त यो समस्या वशांनुगतसमेत हुन सक्छ ।

हाम्रो शरीरमा जन्मदेखि नै भएको विकृति गर्दा यो समस्या देखिन सक्छ ।

सुस्त जीवनशैलीले समेत यो समस्या निम्त्याउन सक्छ । शारीरिक गतिविधिमा शरीक नहुने, व्यायाम नगर्ने अल्छी व्यक्तिहरूको मांसपेशी कमजोर हुन्छ । उनीहरूको ढाडको हाडसमेत कमजोर भएर यस्तो समस्या देखिन सक्छ ।

लक्षण
यो समस्याले थलिएकाहरूमा आफ्नो नसामा दबाबको अनुभूति हुन्छ । उनीहरूको कम्मरसँगै खुट्टा, एडीमा दुखाइसँगै औंला लाटो हुन्छ । बिस्तारै उनीहरूको खुट्टाको बूढीआंैला र पन्जामा कमजोरी देखिन थाल्छ ।

ढाडको हाडमा दबाब पर्दा नितम्ब र त्यसको छेउछाउ लाटोपन हुन थाल्छ । शरीरको अंगमा लाटोपन हुनु पनि यसको लक्षण हो । समस्या धेरै बढे बिरामीलाई दिसापिसाब गर्नसमेत समस्या हुन थाल्छ ।

उपचार
स्लिप डिस्कले ढाडको दुखाइ भए पनि नसालाई धेरै थिचेको छैन भने यसका लागि औषधिसँगै व्यायाम सिफारिस गरिन्छ । तर जब खुट्टातिर दुख्न थाल्छ अर्थात् साइटिका हुन्छ, त्यस्तो बेला नसा च्यापिन्छ । यस्तो हुँदा जताजता नसा जान्छ, त्यतातिर दुख्न सुरु हुन्छ । यस्तो स्थितिमा चिकित्सकले औषधि र व्यायाम बताउँछन् । तर यसबाट समेत समस्या समाधान नभए शल्यक्रिया गर्नुपर्छ । यो शल्यक्रियामा आफूले करिब ९८ प्रतिशत सफलता पाएको सुनाउँदै डा. पन्त थप्छन्, ‘शल्यक्रियामा च्यापिएर रहेको डिस्कलाई आंशिक रूपले निकालेर नसा छुट्टयाउने गरिन्छ ।’

शल्यक्रिया गर्दा नसा चुँडिने जोखिमसमेत हुन्छ । नसा चुँडिए खुट्टा लुलो हुने सम्भावना हुन्छ । शल्यक्रिया गरे पनि अर्को मुख्य जटिलता दोहोरिएर अस्पताल आउनुपर्ने सम्भावना हो । हाल यस्तो सम्भावना आफूले करिब ४ प्रतिशत अनुभव गरेको औंल्याउँदै डा. पन्त भन्छन्, ‘शल्यक्रिया गराएकामध्ये १ प्रतिशतमा कडा रूपमा ढाड दुख्ने समस्या देखिन सक्छ । तर यो तीनदेखि पाँच महिनामा आफंै हराउँछ ।’

बचाउ

  • उठबससँगै हिँडाइको मुद्रामा विशेष ध्यान दिनुस् ।
  • आफ्नो शरीरको तौल नियन्त्रणमा राख्नुस् । शरीरको तौलले ढाडको हाडमा असर पार्छ ।
  • हाई हिल र फ्ल्याट चप्पल भरसक नलगाउनुस् ।
  • कुर्सीमा अगाडितर्फ झुकेर नबस्नुस् ।
  • कुर्सीमा धेरै बेरसम्म बस्नुपर्ने भए निरन्तर केही समयावधिमा उठेर अलि हिँडडुल गर्ने गर्नुस् ।
  • दिनहुँ व्यायाम गर्नुस् ।
  • पैदल हिँड्नुस् ।
  • पौडी खेल्नुस् । साइकल चलाउनुस् ।
  • गह्रौं सामान उठाउनुपरे अगाडि झुक्नुको सट्टा घुँडाको बलले बस्ने गर्नुस् ।

प्रकाशित : पुस ९, २०७३ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?