कपालको स्याहार

अतुल मिश्र

पत्यार नलाग्ला, तर हामीमध्ये अधिकांशलाई गतिलोसँग कपाल धुनै आउँदैन । केही वर्षयता सही प्रक्रियाले कपाल नधुँदा देखिने समस्याहरूको मारमा पर्नेहरूको संख्यासमेत बढ्दो छ ।

ढंग नपुर्‍याई टाउको धुँदा कपाल झर्ने, टाउकाको छालामा समस्या उब्जिने, कपाल दुईमुखे हुने, बीचबाटै टुट्ने लगायतका समस्या देखिने गरिएको धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् । 

कपालको सौन्दर्य र स्वास्थ्य कायम राख्न हामीले यसलाई सफासुग्घरसमेत राख्नुपर्छ । टाउको सफा राख्न हामी सबैले गर्ने उपाय भनेको स्याम्पु, साबुन लगायतले कपाल धुनु नै हो । कपाल धुने क्रममा टाउकामा पानी रौं उम्रेको दिशामा नै हाल्नुपर्ने जनाउँदै डा. कर्ण भन्छन्, ‘धेरैजसोले टाउको धुँदा सावर वा मगले कपाल उम्रेको दिशाको विपरीत दिशामा पानी हाल्छन् । यसो गर्दा कपाललाई नोक्सान पुग्छ ।’

टाउकोबाट स्याम्पु पखाल्दा कपालको जरोबाट टुप्पोतिर पानी बग्न दिनुपर्छ । बढी सफा गर्ने लोभले कपालमा बल लगाएर मिच्नु हुँदैन । कपाललाई नरम तरिकाले धुनुपर्छ । कपालमा आवश्यकताभन्दा बढी स्याम्पु, साबुन आदि समेत लगाउनु हुँदैन । 

घर्षणले कपालको बाहिरी भागलाई स्थायी क्षति पुर्‍याउँछ । यसले कपाल टुट्नुका साथै कर्लीसमेत बन्न सक्छ । 

कपाल कति समयमा धुने भन्नेबारे समेत हामी अन्योलमै हुन्छौं । हामीमध्ये धेरैजसोले सायद अब धुनैपर्ने भयो भन्ने ठानेर अन्दाजी भरमै कपाल धुने गरेका छौं । 

दिनहुँ, दुई दिन, चार दिन वा साता आदिमा कहिले वा कति पटक धुने हो भन्ने कुरा तपाईंको टाउकोबाट कति तेल निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ । 

यदि तपाईंको टाउको तैलीय छ भने दिनमा एक पटकसम्म धुनुपर्ने हुन सक्छ । तपाईं जति पाको हुँदै जानुहुन्छ, त्यति नै तपाईंको टाउकोबाट कम मात्रामा तेल उत्पादन हुने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘उमेरको वृद्घिसँगै टाउकोलाई छिटोछिटो स्याम्पु लगाएर सफा गर्नुपर्ने आवश्यकतासमेत कम हुँदै जान्छ ।’

स्याम्पु लगाएर कपाल सफा गर्नुभएको छ भने कपालमा कन्डिसनर लगाउन बिर्सनु हुन्न । यसो गर्दा कपाल सफा हुनुका साथै चहकिलो समेत हुन्छ । उसो त हामीले उपयोग गर्ने धेरैजसो स्याम्पुमा कन्डिसनरसमेत हुने गरेको छ । 

कन्डिसनरले क्षति पुगेको कपालको चमक र सुन्दरतासमेत बढाउँछ । यसले कपालको स्थैतिक विद्युत् (स्टयाटिक इलेक्ट्रिसिटी) लाई घटाउँछ । कपालको शक्तिमा वृद्घि गर्नुका साथै हानिकारक परावैजनी किरणबाट केही बचाउसमेत गर्ने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘स्याम्पु टाउकोमा र कन्डिसनर कपालको बाहिरी भागमा लगाउनुपर्छ ।’

यदि साबुन आदिले कपाल धुने हो र तपाईंसँग कन्डिसनर छैन भने पीर नगर्नुस् । 

टाउको सफा गर्नुभन्दा अगाडि नरिवल लगायतका सामान्य गन्धरहित तेल लगाए उस्तै खाले फाइदा हुन्छ ।

कपाललाई सुक्खा पार्न तौलियाले नदलौं । कपालमा तौलिया बेर्नुस् । तौलियाले पानी सोसेर कपाल सुक्खा पार्छ । कपाललाई हावाले सुकाउने गर्नुपर्छ । 

कपाल धोइसकेपछि तौलियाले बेस्सरी दलेर सुकाउनु अवैज्ञानिक प्रक्रिया हो । अझ केही महिलाले त झुन्डिएको कपालमा तौलियाले हिर्काएर समेत सुक्खा पार्ने गरेको पाइन्छ । यसले कपाललाई बेफाइदा हुन्छ । हेयर ड्रायरले कपाल सुकाउँदासमेत कपालको स्वास्थ्यमा प्रतिकूल असर पर्छ । 

‘हेयर ड्रायरले सुकाउँदा कपाल कडा बनाउँछ, यसले कपाल टुक्रिन्छ,’ डा. कर्ण भन्छन् । उनका अनुसार यदि तपाईंले मन तातो पानीले कपाल धुने गर्नुभएको छ भने यो प्रक्रियालाई चिसो पानी उपयोग गर्दै समाप्त गर्नुपर्छ । 

तातो पानीले बाहिरी छालामा भएको रौं उम्रने मुखलाई खोल्छ जसले गर्दा रौंमा भएको फोहोर धुन सहयोगी हुन्छ । तर चिसो पानीले यो प्रक्रिया सक्दा पुन: रौं उम्रिने मुख बन्द गर्छ । यसले कपाललाई झर्नबाट जोगाउँछ । 

कपाल नसुक्दै, भिजेकै बेला काइँयो वा ब्रसले कोर्नु हुँदैन । अझ कसैकसैको त भिजेको कपालमा धेरै बेरसम्म काइँयो लगाउने बानी हुन्छ । यो बानी गलत हो । कपाल सुकेपछि मात्र फराकिलो मुख भएको काइँयोले कपाल कोर्नुपर्छ ।

प्रकाशित : माघ २९, २०७३ ०८:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिरोपीडितलाई जस्तापाता

कान्तिपुर संवाददाता

प्यूठान — गत साउन १० र ११ गतेको पहिरोमा परी पूर्ण रूपमा घर भत्किएका फोप्लीका ७८ परिवारलाई एक/एक बण्डल जस्तापाता र दुई/दुई थान कम्बल प्रदान गरिएको छ ।

शुक्रबार फोप्ली ३, अँधेरीमा पीडितलाई बोलाएर नेपाल ख्रिस्टियन राहत सेवा ललितपुर र अनुग्रह सामुदायिक विकास नेपालले राहत उपलब्ध गराएको हो ।

जस्तापाता, कम्बल र बालबालिकालाई न्यानो कपडा गरी प्रतिपरिवार २१ हजार रुपैयाँ बराबरको राहत दिइएको सेवाका सुपरभाइजर सुभास न्यौपानेले बताए । फोप्लीस्थित राजनीतिक दल, सामाजिक अगुवाको समन्वयमा राहत प्रदान गरिएको गाविस सचिव पुस्कर थापाले जनाए । 
राहत पाएपछि पीडित खुसी देखिए पनि घर कहाँ बनाउने भन्नेमा अन्यौल भएको उनीहरू बताउँछन् । ‘पहिरोले घर बगाएपछि गोठमा बस्दै आएका छौं,’ फोप्ली ८, स्याउलेबाट राहत लिन अँधेरी आएकी यमी घर्तीले भनिन्, ‘घर बनाउन श्रीमान्ले भारतबाट पैसा पठाउनु भएको छ । जस्तापाता पनि मिल्यो । तर, घर निर्माण गर्ने ठाउँ छैन । कहाँ बनाउनु ?’ उनले गाउँका अगुवासँग घर बनाउने ठाउँबारे सल्लाह माग्दा अहिलेसम्म सुरक्षित स्थान पहिचान गर्न नसकेको बताइन् ।
पीडितका अनुसार गएको वर्षा जताततै पहिरो गएको छ । जमिन चिरिएकाले घर ठड्याउन सुरक्षित स्थान नहुँदा उनीहरू यही अन्योलमा छन् । ‘अहिलेसम्म झन्डै ३० हजार नगद राहत पाएका छौं,’ स्याउलेकै यमी खडकाले भनिन्, ‘घर बनाउने भनेर खर्च नगरी राखेकी छु । छाउने जस्तापाता पनि पाऊँ तर जमिनको पहिचान हुन सकेन ।’ सरकारले भूगर्भविद् पठाउने भने पनि नपठाएकाले सबैलाई घर कहाँ बनाउने भन्ने अन्योल रहेको खडकाले बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल लुङको बाहानेमा आएर पहिरोपीडितलाई भूकम्प पीडितसरह राहत र भूगर्भविद् पठाउने आश्वासन दिए पनि अहिलेसम्म कोही नआउँदा दु:ख लागेको उनले बताइन् । भूगर्भविद् आएर सुरक्षित स्थान पहिचान गरिदिए घर बनाउन थाल्ने उनको भनाइ छ । पहिरोमा परी फोप्लीमा १४ परिवारका २७ जनाको ज्यान गएको थियो ।

प्रकाशित : माघ २९, २०७३ ०८:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT