कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोटोपन र मृगौला रोग

सन्दर्भ : विश्व मृगौला दिवस
डा. पुकारचन्द्र श्रेष्ठ

वैज्ञानिकहरूका अनुसार मोटोपन संसारभर नै बढ्दो समस्याका रूपमा देखापरेको र यसले २–७ गुणासम्म मृगौला ‘फेल’ गराउने सम्भावना रहन्छ।

मोटोपन र मृगौला रोग


ह रेक अंग्रेजी वर्षको मार्चको दोस्रो बिहीबार विश्व मृगौला दिवस मनाइने गरिन्छ। यसको उद्देश्य हाम्रो स्वास्थ्यमा मृगौलाको महत्त्वबारे जनचेतना जगाउने र संसारभरि मृगौला रोग र यसको प्रभाव कम गर्दै लैजाउनु हो। नेपालमा करिब ३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग लागेको अनुमान छ र ३ हजार जनाको वर्षैपिच्छे दुवै मृगौला फेल हुने गर्छ। तीमध्ये ९० प्रतिशतभन्दा बढीको केही महिनामै मृत्यु हुने गर्छ।

मोटोपन मृगौला रोग लाग्नु बलियो कारण हो। उच्च रक्तचाप र मधुमयजस्तै दीर्घकालीन मृगौला रोगको प्रमुख कारक तत्त्वमध्ये मोटोपन पनि एक हो। यसले मृगौला ‘फेल’ गराउन सक्छ। मोटोपन भएकाहरूमा मृगौलाले अरूमा भन्दा बढी कार्य गर्नुपर्ने हुन्छ, जसले गर्दा मृगौला विस्तारै खराब भई दीर्घकालीन रोग लाग्ने गर्छ।
उच्च तौल भएका वा मोटोपन भएकाहरूमा मृगौला फेल ‘हुने’ समस्या अरू स्वस्थ व्यक्तिहरूको तुलनामा २ देखि ७ गुणा बढी हुन्छ। यी सबका बाबजुद पनि शुभ समाचार के छ भने मोटोपन र मृगौलाको दीर्घरोग धेरै हदसम्म रोकथाम गर्न सकिने समस्या हुन् र सन्तुलित आहार तथा शारीरिक व्यायमजस्तो स्वस्थ जीवनशैलीले मोटोपन र मृगौलाको रोग लाग्नबाट बचाउन सकिन्छ।

यस वर्षको विश्व मृगौला दिवसले मोटोपनको खराबी र मृगौला रोग लाग्नमा यसको असर तथा यसबाट जोगिन स्वस्थ जीवनशैली र उपयुक्त स्वास्थ्य नीतिका उपायमार्फत रोगको रोकथाममा विशेष जोड दिएको छ। सन् २०२५ सम्ममा मोटोपनले संसारभर १८ प्रतिशत पुरुष र २१ प्रतिशत महिलालाई असर गर्ने अनुमान गरिएको छ भने ६ प्रतिशत पुरुष र ९ प्रतिशत महिला गम्भीर मोटोपनले पीडित हुने अनुमान गरिएको छ। कुनै—कुनै राष्ट्रमा त एक तिहाइ जनसंख्या मोटोपनको सिकार भइसकेको छ र कमजोर स्वास्थ्य र चिकित्सा क्षेत्रको अधिकतम खर्चको कारण बनिसकेको छ।

साधारणतया जनमानसमा मोटोपनले मृत्युको जोखिम बढाउने मात्र नभई अनेकौं रोग निम्त्याउने गर्छ। जस्तै— मुटुको रोग, मधुमय, उच्च रक्तचाप, उच्च कोलेस्टोरल, निद्रामा घुर्ने, कलेजोको बोसोपन, पित्तथैलीको रोग, जोर्नी खिइने, विभिन्न क्यान्सर, मानसिक रोग तथा न्युन जीवनस्तर आदि।

वैज्ञानिकहरूका अनुसार मोटोपन संसारभर नै बढ्दो समस्याको रूपमा देखापरेको छ। मोटोपनले २ देखि ७ गुणासम्म मृगौला फेल गराउने सम्भावना रहन्छ। मोटोपनले अप्रत्यक्ष रूपमा मधुमेय, उच्च रक्तचाप, मुटुको रोग आदि गराएर मृगौला रोगको कारक तत्त्व बन्ने गर्छ भने प्रत्यक्ष रूपमा मृगौलालाई अत्यधिक कार्य गर्न लगाई मृगौलामा खराबी ल्याउने गर्छ र यसले मृगौलाको पत्थरी तथा मृगौलाको क्यान्सरसमेत गराउन सक्छ। मोटोपन घटाउनाले मृगौलाका दीर्घरोगमा कमी गराउन वा निको पार्न पनि मद्दत गर्छ। अकस्मात मृगौलामा खराबी आउने समस्या (एकेआई) पनि मोटोपना भएकामा बढी मात्रामा पाइने गर्छ।

मृगौला रोगको गम्भीरतालाई मनन गरी नेपाल सरकारले डायलासिस पूर्णरूपमा नि:शुल्क गरिसकेको छ भने मृगौला प्रत्यारोपण पनि नि:शुल्क गर्ने अन्तिम तयारीमा छ। यसबाट मृगौला रोगले थलिएकाहरू जसको घर—सम्पत्ति सखाफ भइसकेको छ, उनीहरूमा बाँच्ने आसा पलाएको छ र प्रत्यारोपणपश्चात स्वस्थ व्यक्तिसरह जीवनयापन गर्नसक्ने हुँदा देशको उत्पादकत्वमा पनि अभिवृद्धि हुनेछ।

५ वर्षअघि स्थापना भएको मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले मृगौला ‘फेल’ भएकाहरूका लागि अधिकतम संख्यामा डायलासिस र प्रत्यारोपणको सुविधा उपलब्ध गराउँदै आएको छ भने हालै सुरु गरेको कलेजो प्रत्यारोपण तथा मुटुको शल्यक्रियाका साथै विभिन्न अङ्गसमेत ‘फेल’ हुनबाट जोगाउने कार्य तथा प्रत्यारोपण लगायतको उपचार स्वदेशमा उपलब्ध गराई जनसाधारणको पहुँचभित्र ल्याउन केन्द्र कटिबद्ध छ। 

श्रेष्ठ मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक हुन्। 

प्रकाशित : फाल्गुन २६, २०७३ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?