होली

“होलीमा रासायनिक रङको उपयोग गर्नु छाला र अन्य अंगको स्वास्थ्यका लागि खतरनाक हुन्छ । सकभर प्राकृतिक रङको प्रयोग गर्नुस्, नत्र अन्य रङ उपयोग गर्ने भए थप सुरक्षाको उपाय अपनाउनु नै बुद्धिमानी हुन्छ ।”
अतुल मिश्र

रङको उत्सव होली पहाडमा आउँदो आइतबार र मधेशमा सोमबार गरी हाम्रो मुलुकमा दुई दिनसम्म उल्लासपूर्वक मनाइँदै छ ।

यो पर्वलाई अत्यधिक आनन्द उठाउने गरी मनाउनुपर्छ । नत्र यसले दिन सक्ने स्वास्थ्यसम्बन्धी जटिलता कम छैन । कृत्रिम रङ, अबिर र लोला लगायतको उपयोग गर्ने गल्ती गर्न हुन्न । यसमा सावधान नभएआफूलाई या अरूलाई हानि–नोक्सानी हुन सक्छ ।

प्राचीन कालमा फूल, पात, वनस्पती आदिबाट रङ बनाइन्थ्यो । त्यही भएर होलीबाट शारीरिक हानि–नोक्सानी होला भन्ने हुँदैनथ्यो, खासै नकारात्मक प्रभाव पर्दैनथ्यो ।

अचेल रङमा रङमा खतरनाक रसायन प्रयोग हुने गर्छ । त्यसैले होली खेल्दा रङ/अबिर मुख, आँखा र कानभित्र जान दिनु हुँदैन । रङ छरेका ठाउँमा पनि चनाखो हुनुपर्छ, सासका माध्यमले फोक्सोमा नजाओस् भनेर ।

होली खेल्दा सामान्यत: छालामा सबैभन्दा बढी समस्या हुने गर्छ । छाला पोल्ने, छालाको रङ बदलिने, सुक्खा हुने, पिल्सिने आदि हुन सक्छ । धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार, रङ बढी उपयोग गर्दा छाला सुक्खा हुने समस्या देखिन्छ ।

रङ दल्दा विभिन्न रसायन छालाको भित्री सतहमा पुग्छन् र छालामा नोक्सान पुग्छ । छालामा बिमिरा देखिने, एक्जिमा, एलर्जी,डाबरजस्ता समस्या हुन सक्छ । डन्डीफोर वा छालाका विभिन्न प्रकारको समस्या भएकाहरूका लागि त रासायनिक रङको प्रयोग आगोमा घ्यू हालेबराबर हुन्छ ।
‘यसैले हामीले पनि सकेसम्म पुर्खाहरूले होली खेल्दा उपयोग गरेका प्राकृतिक रङ नै प्रयोग गर्नुपर्छ,’ डा. कर्ण भन्छन् ।

होलीमा उपयोग गरिने रङमा धेरै बढी मात्रामा ओइल कलर, रसायन, विषाक्त पदार्थलगायत नोक्सानी पुर्‍याउने विभिन्न तत्त्व हुन्छन् । हाल पाइने कृत्रिम रङमा माटो, चुन, सिसा, अभ्रख, मर्करीजस्ता हानिकारक तत्त्व मिसिएको हुन्छ । यिनले छालामा घाउ उत्पन्न गरेर विभिन्न प्रकारका संक्रमण र विषाक्तताको सम्भावना बढाउँछन् ।

कतिसम्म भने, अचेल होलीताका बजारमा पाइने सस्ता रङ/अबिर खेतमा उपयोग गरिने रासायनिक मलले समेत बनाउने गरिएको दाबी भारतका विभिन्न मिडिया रिपोर्टहरूमा गरिएको डा. कर्ण बताउँछन् । होलीमा रासायनिक रङको उपयोग हाम्रो स्वास्थ्यका लागि निकै जोखिमपूर्ण रहेको औँल्याउँदै उनी थप्छन्, ‘या प्राकृतिक रङको प्रयोग गर्नुस्, या त अन्य रङ उपयोग गर्दा सुरक्षाका थप उपाय अपनाउनुस् । यही बुद्घिमानी हो ।’

होली खेल्दा शरीरको धेरैजसो भाग छोपिएको लुगा लगाउनुपर्छ । यसो गर्दाछाला रासायनिक रङ/अबिर आदिबाट केही मात्रामा भए पनि जोगिन्छ ।

हामीले अचेल होली खेल्नेहरूले विभिन्न खाले टोपी लगाएको देख्ने गरेका छौं । रमाइलोकै लागि भए पनि यस्तो टोपी लगाउँदा रङ/अबिरबाट शरीरको रक्षा हुने गर्छ, टाउको/कपालमा हानि पुग्नबाट जोगिन सक्छ । होली खेल्नुभन्दा एक दिनअघि शरीरमा तेल वा मोइस्चराइजर लगाउनु पनि थप क्षतिबाट जोगिने अर्को राम्रो उपाय हो । छालाको बाहिरी तहमा फैलिएको तैलीय पदार्थले गर्दा रङ छालाको भित्री भागमा प्रवेश गर्न पाउँदैन । कुनै पनि रङले छालामा क्षति पुर्‍याउने गर्ने भएकोले होली खेलेको एक सातासम्म छालामा मोइस्चराइज लगाउन बिर्सनुहुन्न ।

रङ खेल्नुअघि
होलीमा रासायनिक रङको उपयोग स्वास्थ्यका हिसाबले राम्रो हुँदैन । तर रङ खेल्ने बेलामा केही सुरक्षाको उपाय अपनाउँदा यसले छालासम्बन्धी जोखिममा कमी ल्याउँछ । डा. कर्णका अनुसार, रङ खेल्नुअघि अनुहार, हातलगायत शरीरका खाली भागहरूमा मोइस्चराइजर र फाउन्डेसनको उपयोग गर्नु बुद्धिमानी हुन्छ ।

कपालमा समेत गन्ध नभएको तेल लगाउनु फाइदाजनक हुन सक्छ । होली खेलेपछि नङ पनि नराम्रो देखिने र प्रभावित हुने हुन्छ । होलीमा रङ खेल्नुअघि नङ राम्ररी काटनुपर्छ । महिलाले नङमा पालिस लगाएर होली खेल्ने गरे केही हदसम्म रङको कुप्रभाव कम हुन सक्छ ।

रङ खेलेपछि
खेल्दा आनन्द आए पनि जीउबाट रङ हटाउने क्रममा नुहाउँदा नै हामी सवै ले भोग्ने समस्याले सवै जसोलाइपिरोल्ने गर्छ ।

जीउ, कपालमा भएको सुक्खा रङलाई झारेपछि मात्र नुहाएर अन्य रङ सफा गर्नुपर्छ । अनुहार, जीउ
राम्ररी सफा गरेर रङ/अबिर हटाए पनि यसपछि छालापोल्ने समस्या नभोग्नेहरूविरलै हुन्छन् ।
छालाको पोलाइ कम गर्न जीउ, अनुहारलाई राम्ररी सफा गरे पछि मोइस्चराइजर उपयोग गर्ने सल्लाह दिन्छन् डा. कर्ण । यसो गर्दा छालाको सुख्खापनमा समेत कमी आउँछ ।

रङ हटाउन हामी बल लगाएर छालालाई बेस्सरी दल्छौं । यसो गर्दा समस्या झन् बढ्छ । छालालाई नरम रूपमा बिस्तारै सफा गर्नुपर्छ । रङ पूरै हटाउन छालालाई बारम्बार साबुनले धुने गर्नु पनि ठीक होइन । यसले छालालाई सुक्खा बनाउनुका साथै पोल्ने समस्यासमेत बढाउँछ ।
रङ हटाउन नरम साबुन, अर्थात् फेसवास उपयोग गर्नु राम्रो हुन्छ ।

बचाउ
- स्थायी रङमा डाईको उपयोग गरिने भएकोले यसबाट टाढै रहनुपर्छ ।
- टल्किने सिल्भर, गोल्डेन रङको उपयोग गर्नु हुँदैन ।
- अबिरमा सिलिका उपयोग गरिएको हुन्छ । यसले छालालाई नोक्सान हुन्छ ।
- गुणस्तरीय रङको उपयोग गर्नुपर्छ ।
- पानीमा घुलनशील रङ उपयोग गर्नुपर्छ ।
- अबिर पाउडरजस्तै हुनुपर्छ । दाना भएको रूखो हुनु हुँदैन ।
- प्राकृतिक रङको उपयोग गर्नुपर्छ ।

प्रकाशित : फाल्गुन २८, २०७३ ०८:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नाला अतिक्रमणमा प्रशासन मौन

कान्तिपुर संवाददाता

वीरगन्ज — वीरगन्ज उपमहानगरपालिकाको भिस्वा र नगवा क्षेत्रमा नाला र कल्भर्ट नै व्यक्तिका नाममा दर्ता सम्बन्धी वैशाखको उजुरीको अझै छानबीन भएको छैन ।

कल्भर्टको जग्गा आफ्नो दाबी गर्दै भन्दै पर्खाल लगाएर घेराउ गर्न पटकपटक समूह आइरहेको छ । तर, स्थानीयले उनीहरूलाई फर्काइदिने गरेका छन् । १८ फिट चौडा र १ सय २१ फिट लम्बाइको सहायक नाला जयप्रकाश सिंह राजपुतले नामसारी गराएका हुन् । ‘राजपुतको नाममा आउनुअगावै उक्त कल्भर्टको जग्गा ४ जनाबीच खरिद–बिक्री भइसकेको रहेछ,’ ५६ वर्षीय राजालालप्रसाद साह भन्छन्, ‘२०५४ को नक्सामा कल्भर्टको जग्गामा कित्ता नम्बर उल्लेख भएको छैन । तर, अहिलेको नयाँ नक्सामा कल्भर्टको जग्गामा ३ सय ४३ कित्ता उल्लेख गरिएको छ ।’

२०५४ मा सहरको पूर्वी भागमा झन्डै साढे ७ किलोमिटर लामो बाइपास सडक निर्माण हुँदा पानीको सहज निकासका लागि ७ वटा कल्भर्ट निर्माण गरिएका थिए । पुरानो नापीमा समेत ती जग्गाहरू नाला र कल्भर्ट नै उल्लेख भए पनि अहिलेको नयाँ नापीमा कल्भर्ट देखाइएको छैन । ‘ढल निकासका लागि बाइपास सडकमुनि अझै हयुम पाइप लगाइएको छ,’ नगवाका ज्योतिविक्रम साहले भने, ‘तर, सडकको दायाँ र बायाँ बग्ने नाला अतिक्रमणमा परेका छन् । ठूला व्यापारिक घराना र भूमाफियाले नापी र मालपोतको मिलेमतोमा नामसारी गराएका छन् ।’ नगवा क्षेत्रमै पर्ने अर्को कल्भर्टलाई संगीता मोहताले दर्ता गराएकी छन् ।

नगर विकास समितिले नयाँ क्षेत्रमा बस्ती बसाउन प्लटिङ गरेको जग्गामा बनाएको कल्भर्ट र नालालाई ०७२ चैत २५ गते मोहताको नाममा दर्ता गरिएको पाएपछि स्थानीयले अदालतमा मुद्दा दर्ता गरेका छन् । नयाँ नापीको फिल्ड बुकमा कल्भर्ट लेखेको ठाउँमा रातो पेनले काटिएको छ । नगर विकासले प्लटिङ गरेको नगवा–१९ को कित्ता नम्बर ३८, ३९, ४०, ४२ र ४३ नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाले खरिद गरेको थियो । कल्भर्ट र नाला ४१ नम्बर कित्तामा पर्छ । बैंकको लालपुर्जामा ४१ नम्बर कित्ता उल्लेख छैन ।

प्रकाशित : फाल्गुन २८, २०७३ ०८:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT