१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

किन खाने चुरोट ?

डा. राजेन्द्र कोजु

यो लेख चुरोट खानेका लागि पनि हो, नखानेका लागि पनि हो । चुरोट खाँदा के हुन्छ ? सबै खानेलाई पनि थाहा छ, नखानेलाई पनि थाहा छ । तैपनि एकपल्ट सरसर्ती हेराैं । खाँदा के हुन्छ ?

किन खाने चुरोट ?

खाँदा

  • खोकी लाग्न सक्छ ।
  • श्वास गनाउँछ ।
  • अनावश्यक पैसा खर्च हुन्छ ।
  • नखानेले मनपराउँदैन, जसमा आफ्नै परिवार मुख्य पर्छ ।
  • क्यान्सर हुन सक्छ ।
  • हृदयाघात हुन सक्छ ।
  • पक्षाघात हुन सक्छ ।
  • दम लाग्न सक्छ ।
  • मृगौला, कलेजो, जोर्नी, आन्द्रा, स्नायु, रक्तनली जस्तै शरीरका सबै अङ्गमा नकारात्मक असर परी रोग लाग्न सक्छ ।

तैपनि खानेले खान्छ । यसका नकारात्मक असरबारे न्युन हेक्का राखेर ।

केका लागि ?

  • आफ्नै बानी परेको हुनाले ।
  • साथीहरूको लहलहैमा ।
  • खाई हेर्न भन्दै ।
  • अरूलाई देखाउन । आदि–इत्यादि हुन सक्छ । 

खानको लागि खासै भन्ने हो भने केही अत्यावश्यक कारण हुन्न, तैपनि खानेले छोड्न गाह्रो हुन्छ । किन त ? किनकि यसमा लत बस्ने निकोटिन हुन्छ, जसको कारण खाने बानी परेकाले छोड्न गाह्रो हुन्छ । निकोटिनको लतले खान तलतल लागिरहन्छ । तसर्थ माथि उल्लेख गरिएका कुनै पनि कारण दिमागमै आउँदैन– चुरोट खायो भने क्यान्सर हुन्छ, दम हुन्छ, हृदयाघात हुन्छ भनेर । 

त्यसैले बानी पर्नुभन्दा पहिला, लत लाग्नुभन्दा अघि नै चुरोट भनेको खाने वस्तु नै होइन भन्ने धारणा बनाउन अति जरुरी छ । 

मुख्यत: वयष्कहरू जसले एकपल्ट तानिहालौं भन्ने, ह्या यस्तो रोगको के मतलव, अहिले तानौं पछि हेरौंला, चट्ट चुरोट च्यापी आकाशतिर हेरेर धुवाँ उडाउँदै गफ गर्ने, एक हातमा चुरोट अर्काे हातमा रक्सीको गिलास समाउने, केटाकेटी, पार्टीमा चुरोट तान्ने आदि–इत्यादि अक्सर नै चुरोट खान सुरु गर्नुको कारण बन्छ । पछि त्यही बानी नै लत लाग्न सुरु हुन्छ । यस्तो सुरुवातको अन्त्य गर्न विभिन्न स्तरबाट जनचेतनामूलक प्रचार–प्रसार सुरु नभएको होइन । तर पनि चुरोटको लत भने घटेको देखिँदैन । 

  • सिनेमामा चुरोट नखान सल्लाह ।
  • चुरोटको नराम्रो असरबारे विज्ञापन ।
  • चुरोटको बट्टामा क्यान्सरको फोटो ।
  • चुरोट खान नपाइने क्षेत्रको घोषणा ।

    आदि–इत्यादि । 
तर खान लत बसेकालाई यसको कुनै मतलब हुँदैन भने खान सुरु गर्नेले यसबारे भेउ नै पाउँदैनन् । खानु हुँदैन थाहा छ, तर पनि खान्छन् । खाँदै खाँदिन भनेर कसरी रोक्ने वा सुरु नै नगर्ने त ? चाहिन्छ, दृढ संकल्प । दरिलो कारण । गहिरो बुझाइ । सकारात्मक वातावरण । यो कसले बनाउने ? आफैंले । यदि चुरोट छोड्न चाहनुहुन्छ भने आजै भनौं : म कहिल्यै छुँदै छुँदिन । चाहे विज्ञापन होस् वा साथीको करकाप, तलतल होस् वा बाध्यता ।

तपाई आफै बाध्य हुनुस् । तपाईको शरीरको लागि यो चुरोट भन्ने चिज खाने नै होइन भनेर । खाने मान्छेले त विस्तारै छोड्छु कहिल्यै नभनौं । चटक्कै छोडौं । 

प्रा. कोजु धुलिखेल अस्पतालसँग आबद्ध छन् । 

प्रकाशित : चैत्र २४, २०७३ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?