३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

डिप्रेसन : यो सालको विषय

डा. धनरत्न शाक्य

काठमाडौं — विश्व स्वास्थ्य संघको आव्हानमा सन् १९५० देखि विविध विषय र सरोकारमा अप्रिल ७ को दिनमा विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो । हर वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय रुपमा कुनै खास विषयमा सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण र कार्यान्वयनको लागि यस दिवसमा खासगरी विविध कार्यक्रमहरु आयोजना हुने परम्परा रहेको छ ।

डिप्रेसन : यो सालको विषय

यस संघको पहलमा भएका प्रयासहरुले केहि उल्लेख्य उपलव्धिहरु पनि हासिल भएका छन् । विश्वबाट मानवीय प्रयासकै फलस्वरुप बिफर, पोलियो जस्ता रोगहरुको उन्मुलनलगायत संक्रमनजन्य कतिपय रोगहरुको नियन्त्रण सम्भव भएको मानिन्छ । अत, यो दिवस मानव मात्रको सुस्वास्थ्य र हितको लागि सम्झाउने, घच्घच्याउने, सचेत र सक्रिय बनाउने दिशामा सफल बन्दै जान आवश्यक छ । यसका लागि व्यक्ति, परिवार, समाज, राज्य र सिंगो विश्वले नै हातेमालो गर्नुपर्छ ।

स्वास्थ्यको लागि आवश्यकता
मानव जातिको स्वास्थ्य कायम राख्न आधारभुत स्वास्थ्य चेतना, सरोकार, सेवा सुविधा, र तिनलाई सुनिश्चित पार्ने प्रणाली र समग्रमा स्वस्थ पर्यावरणको आवश्यकता पर्छ । सम्बन्धित सरोकारवालाहरुको चेतना, सरोकार र शक्रियताले नै अरुपनि आवश्यकताहरु पूरा गर्ने आधार तयार हुन्छ । सचेत, जुझारु र क्रियाशील मानवहरुले जस्तै प्रतिकूल परिस्थितिमा पनि स्वस्थ जीवन र समाजको निर्माण सम्भव बनाएका उदाहरण विश्वमा छन् । यस्तो सुखद उपलव्धि सबै मानव समाजका लागि हासिल भएको हुँदैन । यस्ता दिवसहरुले सम्बन्धित विषयमा सरोकारवालाहरु बीच निश्चित विषयको उत्थान, पैरवी र कार्यान्वयनका लागि आआफ्नो ठाउँबाट शक्रिय रहन घच्घच्याउने उदेश्य बोकेका हुन्छन् । विश्व स्वास्थ्य दिवसले शुरुदेखि नै समग्र स्वास्थ्यका दृष्टिले आवश्यक विषयमा ध्यानाकर्षण गराउँदै आएको हो ।

यो वर्षको यो दिवस
यसै सिलसिलामा यो वर्ष आजभोलिको एक जल्दोबल्दो स्वास्थ्य समस्यामा सुसुचित, सचेत र सजग बन्न आव्हान गरेको छ । यो वर्षको विषय डिप्रेसन अर्थात् उदासिन मनोरोग हो । के विकसित, के विकासशील विश्व स्तरमा नै यो वा त्यो विविध कारण र पृष्ठभूमिमा यो समस्या बिकराल रहेको छ । कतिपय स्वास्थ्य समस्याहरु तिनमा लक्षित जनचेतना, सरोकार र कार्यक्रमहरुका कारण नियन्त्रणमा आएको वा सुधारोन्मुख देखिन्छ । डिप्रेसनका विषयमा व्यक्ति, परिवार, समाज, राज्य र विश्वस्तरमा नै चेतना, साक्षरता, सरोकार र कार्यक्रम आवश्यक भएको अवस्थामा यो वर्ष सन् २०१७ मा डिप्रेसनले यो महत्वपूर्ण पर्वको विषय बन्नु सामयिक र सान्दर्भिक छ ।

डिप्रेसन

उदासिन मनोरोग डिप्रेसन मानव जातिलाई अस्वस्थ, विकलांग र अनुत्पादक बनाउने मामिलामा अगाडि छ । अब यो चाँडै नै नम्बर एक बन्नेछ भनि गरिएको प्रक्षेपण साक्षात्कार हुँदैछ । यसले आत्महत्याको समस्या पनि सँगसँगै बढाएको देखिन्छ । दु:खको कुरा, प्राय: सबैले जानेबुझेको सोच्ने यो स्वास्थ्य समस्या डिप्रेसनको बारेका यथार्थ तथ्यको मनन्, वैज्ञानिक पहुँचको अवलम्बन र खुला मन्थन भने हुने गर्दैन । डिप्रेसन मनमस्तिष्कमा लाग्ने एक रोग हो, व्यक्तिको इच्छाले हुने, नियन्त्रणमा हुने वा चारित्रिक कमी वा प्रतिकूल परिस्थितिमा केहि समयको लागि अनुभव हुने उदासपन मात्र होइन । यसको लागि उपयुक्त उपचारको जरुरत पर्छ । विविध मनोसामाजिक र औषधोपचारको विकास भएको छ । उपयुक्त उपचार पर्याप्त मात्रा, अवधिसम्म गर्दा डिप्रेसन निको हुन्छ । यसको उपचारबाट धेरै खालका जटिलताहरु टलेर जान्छन् ।

दिवसमा के गर्ने ?

हामीबीच धेरै मानिसहरुलाई अस्वाभाविक तवरले लामो (२ हप्ता वा बढी) समयदेखि सधैंभन्दा मन खल्लो, उदास वा दु:खी रहने, आफ्नो रुचिको कुरामा पनि मन नलाग्ने, थकान महसुस हुने लगायत् भोक, निद्रा, यौन व्यवहारमा गड्बडी हुने, धेरैखालका शारीरिक लक्षणहरु एकसाथ प्रकट हुने, ससानो कुरामा पनि चिन्ता हुने, ध्यान एकाग्र नहुने, आत्मविश्वास घट्ने, मनमा निरासा, बेसहारा, एक्लो र व्यर्थ अनुभव हुने, कतिपयलाई त बाँच्नै मन नलाग्ने भई आफैंलाई हानीनोक्सानी र आत्महत्या गर्नेसम्मको बिचार आउने गरेको हुनसक्छ । यस्ता लक्षणहरु सहित कतिपय मानिसहरु चाल नपाउने हिसाबले डिप्रेसनबाट पीडित भैरहेको हुन्छ । यदि कसैमा आफूमा यस्ता लक्षणहरु छन्भने शारीरिक व्यायाम गरौं, नियमित रुपमा हिंड्ने गरौं । खेलकुद वा आफ्नो मनपसन्दको रचनात्मक र मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी होऔं । खानपिनमा ध्यान दिऔं । नियमित समयमा र पर्याप्त समय सुत्ने गरौं । सकारात्मक व्यक्तिहरुसँग सत्संग र सहयोगी अन्तरसम्बन्धको बिकास गरौं । सामाजिक क्रियाकलापहरुमा सहभागी होऔं । मनको बह र व्यथा बुझ्ने र मनमितको पहिचान गरेर आफ्नो समस्याको बारेमा कुरा गरौं ।

यी सबै कोसिसको बावजुद यो कुरा नभुलौं कि यी लक्षणहरु धेरैवटा र पर्याप्त अवधिको लागि आफू वा अरु कसैमा हावी हुनुको अर्थ डिप्रेसन भन्ने रोग लाग्नु हो जसमा निश्चित खालका उपचार विधिहरुको उपयोग आवश्यक हुन जान्छ । यस्तोमा हामीमध्ये धेरै प्रतिकूल परिस्थितिमा मनले गुज्रने क्षणिक उदासपनसँग झुक्किएर उपयुक्त उपचार विधि नकार्न पुग्छौं । त्यसैले, यदि आफ्नो परिवार, गाउँठाउँ, अफिस, विद्यालय वा कुनैपनि ठाउँमा यस्ता लक्षणहरुबाट पीडित मानिसहरु भएमा उपयुक्त उपाय र उपचारका लागि सहयोगी बन्नेगरौं । हौसला दिऔं । यसको लागि तपाईं हामी सबैले डिप्रेसनको बारेमा भरपर्दो जानकारी भएको लेख पढौं, यसबारेमा जानकार र विज्ञहरुको राय सुनौ, यसबारेमा खुलेर कुरा गरौं र सत्यतथ्य बुझिराखौं । अरुलाई पनि यसबारे जान्न, सुन्न, बुझ्न र कुरा गर्न प्रेरित गरौं । ‘डिप्रेसनबारे कुरा गरौं’, व्यापक छलफल गरौं । यसो गर्न सके, यो वर्षको यो अवसर फलदायी हुनेछ ।

(लेखक बरिष्ठ स्नायु, दुर्ब्यासन तथा मनोरोग विशेषज्ञ तथा एडिशनल प्रोफेसर हुन् ।)
Email- [email protected]

प्रकाशित : चैत्र २५, २०७३ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?