कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गर्मीमा सन स्क्रिन

अतुल मिश्र

गर्मी याम सुरु हुनासाथ छालाको स्वास्थ्य वा सुन्दरताप्रति संवेदनशील र सचेत जमात उपयुक्त सन स्क्रिनको खोजीमा लाग्न थाल्छ । तर त्यस्ता अधिकांश व्यक्तिलाई सन स्क्रिनको कार्य–प्रणाली, संरचना, बेफाइदा, उपयोग गर्दाखेरि अपनाउनुपर्ने सावधानीजस्ता विषयमा पर्याप्त ज्ञान हुँदैन ।

गर्मीमा सन स्क्रिन

‘सहरी मात्र नभई हाल ग्रामीण क्षेत्रमा समेत गर्मीमा सन स्क्रिन लगाउने चलन बढेको भए पनि अधिकांशलाई यसबारे अपेक्षित ज्ञान छैन,’ छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘उनीहरू विज्ञापनमा गरिएको दाबीलाई सही ठानेर यसको उपयोग गर्ने गर्छन् ।’

नियमित रूपमा उपयुक्त सन स्क्रिन उचित रूपमा लगाउँदा सूर्यको प्रकाशको नकारात्मक प्रभावबाट छालामा देखिने खराब परिवर्तन, चाउरीलगायत बुढयौलीको समस्यालाई कम गर्न सहयोग मिल्ने उनी बताउँछन् । चर्को गर्मीमा छालालाई सूर्यको हानिकारक परावैजनी विकिरणबाट जोगाउन सन स्क्रिन फाइदाजनक हुन्छ । उसो त, विश्रवव्यापी रूपमा सन स्क्रिनमा बढी जोड दिइए पनि हाम्रो मुलुकमा पश्चिमी मुलुकहरूको दाँजोमा यसको त्यति आवश्यकता नरहेको समेत उनी बताउँछन् ।

हालको वायुमण्डलीय प्रदूषणले गर्दा ओजोन तह पातलो भइसकेका मुलुकहरूमा सूर्यको खतरनाक परावैजनी किरणको जोखिम बढी हुने गर्छ । सँगै मुलुकको उच्च पहाडी र हिमाली भेगमा जाँदा सन स्क्रिनको उपयोगले छालामा कडा सूर्यको प्रकाशले देखिने समस्याबाट जोगिन सकिन्छ ।

यसैले हाम्रो मुलुकमा सामान्य व्यक्तिले कम मात्रामा सन स्क्रिनको प्रयोग गर्नु उपयुक्त हुन्छ । उसो त सूर्यको प्रकाशप्रति बढी संवेदनशील वा एलर्जी भएकाहरूको लागि भने सन स्क्रिनको निरन्तर प्रयोग आवश्यक मानिन्छ ।

सन स्क्रिनमा पैसा खर्चेर मात्र छालाको सुरक्षा हुन्छ भन्ने छैन । डा. कर्णका अनुसार, घाम निस्किँदा छाता ओढ्नु पनि सन स्क्रिनको राम्रो विकल्प हुन सक्छ । यसले पनि घाममा हुने खतरनाक किरणबाट जोगाउन सक्छ ।

यस्तै, चर्को घाममा हिँड्दा सुतीको सलले मुख छोप्नुसमेत सन स्क्रिनको राम्रो विकल्प हुन्छ । यसो गर्दा परावैजनी किरणसँगै तातो हावाले छालामा पार्ने दुष्प्रभावलाई समेत कम गर्छ । उपयुक्त सन ग्लास/गगल्सले समेत आँखा र छेउछाउको भागमा घामले पार्ने नकारात्मक असरबाट जोगाउँछ ।

अमेरिकन एकेडमी अफ डर्मेटोलजी (एएडी) का अनुसार, सूर्यको प्रकाशमा हुने परावैजनी किरण ‘ए’ लामो समयसम्म हाम्रो छालामा पर्दा फोटो एजिङ (सूर्यको प्रकाशले छालामा ल्याउने बुढयौलीको लक्षण) र क्यान्सरसँग सम्बद्घ छ ।

सन स्क्रिनका प्रकार

सन स्क्रिन फिजिकल सन ब्लक र केमिकल सन ब्लक गरी दुई प्रकारका हुन्छन् । फिजिकल सन ब्लकमा म्याग्नेसियम अक्साइड, टाइटेनियम डाइक्साइड, म्याग्नेसियम सिलिकेट, आइरन अक्साइड, जिंक अक्साइड, रेड भेटनरी पेट्रोलियम र काओलिन आदि मिसाइएको हुन्छ । यसमा अपारदर्शी तत्त्वको कणिका हुन्छ जसले छरिएका प्रकाशलाई परावर्तित गर्छ । सूर्यको प्रकाशप्रति भौतिक अवरोध उत्पन्न गर्ने भएकोले यसलाई अवरोधक क्रिमसमेत भनिन्छ ।

यसको फाइदा के हो भने, यसले परावैजनी किरण ‘ए’ र ‘बी’, देखिने किरण र अवरक्त (इन्फ्रारेड) किरण लगायत सबैजसो किरणलाई रोक्छ । सन स्क्रिन लगाउँदा रियाक्सन हुने इतिहास बोकेका र संवेदनशील छाला भएका व्यक्तिहरूको लागि समेत फिजिकल सन ब्लक उपयोगी हुने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘तर यो कस्मेटिक्सको दृष्टिकोणले अनाकर्षक हुन सक्छ किनकि यसमा अव्यवस्थित किसिमको प्राकृतिक रंग हुन्छ ।’ फिजिकल सन ब्लक छालासम्बन्धी अनेक रोगमा समेत उपयोग गरिन्छ ।

केमिकल सन ब्लकमा डाइभेन्जोइल मिथेन, पारसोल, एमिनो वेन्जोयट्स सिनामेट्स, सलिसिलेट्स, क्याम्फर डिरेभेटिभ्स हुन्छ । यीमध्ये डाइभेन्जोइल मिथेन र पारसोलले मात्र परावैजनी किरण ‘ए’ लाई अवशोषित गर्न सक्छन् । अरूले परावैजनी किरण ‘बी’ लाई अवशोषण गर्छन् ।

केमिकल सन ब्लक गन्ध र रंगहीन हुन्छ । त्यसैले यसलाई बढी कस्मेटिक मानिने जनाउँदै डा. कर्ण भन्छन्, ‘तर यो धेरै प्रकारको सम्पर्कले हुने छाला रोग (कन्टेक्ट डर्मेटाइटिस) सँग सम्बद्घ छ । यसैले रासायनिक सन ब्लक दुई वर्षमुनिका बालबालिकामा उपयोग गर्नु हुँदैन ।’

सन स्क्रिनको प्रभाव छालामा त्यो रहुन्जेलसम्म मात्र रहन्छ । त्यसैले सन स्क्रिन घरबाहिर निस्कनुभन्दा कम्तीमा आधा घन्टा पहिले लगाउनुपर्छ । अनुहार धोएपछि वा धेरै बढी पसिना निस्केपछि सन स्क्रिनको प्रभाव घट्दै जान्छ ।

क्रिम लोसन वा जेल
सुक्खा छाला भएकाहरूले क्रिम वा लोसनका रूपमा रहेको सन स्क्रिन उपयोग गर्नुपर्छ । चिल्लो छाला भएकाहरूले जेलका रूपमा रहेको सन स्क्रिन लगाउनु फाइदाजनक हुन्छ । तर जेलको रूपमा भएको सन स्क्रिन पानीमा आधारित भएकोले तुरुन्त पसिनाले पखालिने समस्यासमेत देखिने डा. कर्ण औँल्याउँछन् ।

के हो एसपीएफ ?
सन स्क्रिनमा उल्लेख भएको एसपीएफ (सन प्रोटेक्सन फयाक्टर) सूर्यको किरणबाट बचाउको क्षमता बुझाउने मानक शब्द हो । कुन सन स्क्रिनले कुन स्तरसम्म कचाउ गर्छ भन्ने कुरा यसले बताउँछ । त्यसैले सन स्क्रिन क्रिम वा लोसन छान्दा त्यसमा एसपीएफ लेखिएको छ कि छैन भनेर ख्याल गर्नुपर्छ ।

एसपीएफ छालामा दुई मिलिग्राम प्रतिवर्गसेन्टिमिटर सन स्क्रिन लगाएपछि छालामा बिमिरा लगायतका रियाक्सन उत्पन्न गर्न आवश्यक परावैजनी किरण ‘बी’को अनुपात हो । डा. कर्णका अनुसार एसपीएफ १० को अर्थ यदि कुनै व्यक्तिलाई सूर्यको प्रकाशमा रहँदा १० मिनेटपछि छालामा बिमिरा लगायतका समस्या देखिन्छ भने यही समस्या सूर्यको प्रकाशमा रहँदा सन स्क्रिन लगाएको ५० मिनेटपछि मात्र हुने गर्छ ।
सूर्यको प्रकाशबाट पर्याप्त सुरक्षाका लागि एसपीएफ १५ वा योभन्दा बढीको सन स्क्रिन उपयुक्त हुन्छ । तर यो पश्चिमाहरूको गोरो छालाका लागि बढी उपयुक्त हुन्छ । हामी नेपालीको छालाको रंग गहुँ गोरो वा कालो हुने भएकाले हाम्रा लागि एसपीएफ ६ मा उपयुक्त हुने डा. कर्ण सुझाउँछन् ।

अमेरिकास्थित फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनका अनुसार, घामबाट छालाको न्यूनतम सुरक्षाका लागि एसपीएफ २ भन्दा कम हुनु भएन, एसपीएफ १२ भन्दा बढी पनि हुनु हुँदैन । यस्तै, घामबाट मध्यम छालाको सुरक्षाका लागि एसपीएफ १२ भन्दा कम हुनु भएन र एसपीएफ ३० भन्दा बढीसमेत हुनु हुँदैन । अझ घामबाट छालाको उच्च सुरक्षाको लागि एसपीएफ ३० भन्दा बढीको सन स्क्रिन हुनुपर्छ ।

सन स्क्रिन वाटरप्रुफ पनि हुन्छ, जसको अर्थ हो– त्यस्तो सन स्क्रिन लगाएको व्यक्तिले ८० मिनेटसम्म पौडी खेल्न सक्छ । वाटर रेसिस्टेन्स लेखिएको सन स्क्रिन लगाएर पौडी खेल्दाचाहिँ त्यो ४० मिनेट मात्रै टिक्छ ।

सन स्क्रिन र सन ब्लक यी दुइटैले सूर्य किरणको हानिकारक प्रभावबाट हाम्रो छालालाई जोगाउँछन् ।
परावैजनी किरणका दुई प्रकार (ए र बी) मध्ये ए बढी खतरनाक हुन्छ । यसले छालामा दीर्घकालीन हिसाबको नकारात्मक प्रभाव पार्ने गर्छ । यस्तै, परावैजनी किरण बी छालामा घामले गर्दा हुने डढाइ र फोटो एजिङका लागि जिम्मेवार मानिन्छ । सन स्क्रिनले परावैजनी किरण बीलाई धेरै कम छान्छ भने सन ब्लकमा हुने जिंक अक्साइडले गर्दा यसले परावैजनी किरण ए र बी दुवैबाट बचाउ गर्छ ।

घरभित्र पनि सन स्क्रिन
हामी प्राय: घाममा निस्कन लाग्दा मात्र सन स्क्रिन लगाउँछौं । डा. कर्णका अनुसार परावर्तित सूर्यको प्रकार र कृत्रिम प्रकाशसमेतमा विकिरण हुने भएकाले घरमा रहेका बेला समेत सन स्क्रिन लगाउनु फाइदाजनक हुन्छ ।

सन स्क्रिन कसरी छान्ने ?
एएडीका अनुसार, मेलोनोमा लगायत छालाको क्यान्सरसंग जुध्ने सबैभन्दा महत्त्वपूर्ण औजार हो सन स्क्रिन । प्रत्येक पाँचमा एक अमेरिकीलाई छालाको क्यान्सर विकसित हुने गरेको छ । नेपालीहरूमा यो क्यान्सर पश्चिमाको दाँजोमा निकै कम त छ, तर यसको विस्तारबारे खासै अध्ययन नभएको डा. कर्ण बताउँछन् । एएडीले उपभोक्तालाई बोर्ड स्प्रेक्टम सन स्क्रिन लगाउन प्रस्तावित गर्छ । यसको अर्थ के हो भने, बोर्ड स्प्रेक्टम सन स्क्रिनले अल्ट्राभ्वाइलेट ए (परावैजनी किरण ए) र अल्ट्राभ्वाइलेट बी (परावैजनी किरण बी) बाट जोगाउँछ । यी दुइटै परावैजनी किरणले क्यान्सर उत्पन्न गर्न सक्छन् ।

प्रकाशित : वैशाख २, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?