सुरु भयो नि:शुल्क मृगौला प्रत्यारोपण

अतुल मिश्र

काठमाडौं — सरकारले २०७४ सालदेखि गर्ने भनेको नि:शुल्क मृगौला प्रत्यारोपण अन्र्तगत दुईजनाको शल्यक्रिया भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा पोखराका ३० वर्षीय दिपक गुरुङ्ग र नाग्लेभार काठमाडौका २६ वर्षीया लक्ष्मी ढकालले नि:शुल्क प्रत्यारोपण गराएका हुन् ।

केन्द्रले बुधबार र बिहीबारसमेत दुई/दुई जनाको नि:शुल्क प्रत्यारोपण गर्दैछ भने यस वर्षभरीमा १ सय ५० जनाको मृगौला प्रत्यारोपण गर्ने लक्ष्य राखेको छ ।  

प्रत्यारोपण केन्द्रबाहेक त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा समेत नि:शुल्क मृगौला प्रत्यारोपण शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले एकजनामा मृगौला प्रत्यारोपण गरेबापत अस्पताललाई ४ लाख रुपैयाँ दिन्छ । मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक एवं बरिष्ठ प्रत्यारोपण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठका अनुसार प्रत्यारोपणका लागि अस्पताल भर्ना भएदेखि डिस्चार्ज हुने बेलासम्म एकजनाको सरदर खर्च ४ लाख लाग्छ । 

यसमा शल्यक्रिया, औषधि, आइसियु, प्रयोगशाला परिक्षण, रेडियोलजी परिक्षण लगायतका शुल्क समावेस गरिएको हुन्छ । प्रत्यारोपण पूर्व हुने क्रस म्याच (मृगौला मिल्ने नमिल्ने परीक्षण) सहितका अन्य जाँचहरुमा लाग्ने करिब १ लाखजति भने सरकारले अस्पताललाई दिँदैन । यसवापत अबदेखि ५० हजार रुपैयाँ विरामीलाई नै उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले बताएको छ । प्रत्यारोपण गरी सकेपछि एक वर्षसम्म औषधिका लागि पनि सरकारले १ लाख रुपैयाँ दिन्छ । यो रकम प्रत्यारोपण गराउने अस्पतालबाट प्राप्त गर्न सकिन्छ ।  

प्रत्यारोपण हुने हरेक सरकारी अस्पतालमा त्यहाँका कार्यकारी निर्देशकको संयोजकत्वमा एउटा मृगौला प्रत्यारोपण सेवा सञ्चालन व्यवस्थापन समिति हुन्छ । विरामीले विभिन्न जाँचबाट आफू प्रत्यारोपण हुने स्थितिमा पुगेपछि उक्त समितिमा निवेदन दिएपछि समितिले आंशिक वा पुर्ण नि:शूल्क प्रत्यारोपन सिफारिस गर्छ ।

डायलासिसमा बसेका बिरामीभन्दा प्रत्यारोपण गराएका विरामीको जीवनकाल झण्डै एक तिहाइ बढी हुने डा.श्रेष्ठ बताउछन् । प्रत्यारोपण गराए लगत्तै महिनाको १५ देखि २० हजारसम्मको औषधि नियमित खानु पर्छ । सरकारले उक्त औषधिको मूल्य कम गर्न गृहकार्य गरिरहेको स्वास्थ्य मन्त्री गगन थापाले कान्तिपुरलाई बताए ।  

प्रकाशित : वैशाख ४, २०७४ २०:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गृहमन्त्री निधिको ट्वीटप्रति आयोगको असन्तुष्टि

कान्तिपुर संवाददाता

काठमाडौं — निर्वाचन आयोगले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले गरेको ट्वीटप्रति आपत्ति जनाएको छ । आयोगले सोमबार विज्ञप्ती जारी गर्दै निधीको ट्वीटले निर्वाचन आयोगको काम कारवाहीप्रति आम जनमानसमा द्विविधा उत्पन्न हुने भएकाले सख्त ध्यानाकर्षण भएको जनाएको छ ।

निधिले सोमबार बिहान आफ्नो ट्वीटमा निर्वाचन आयोगको तयारी र सुरक्षा प्रबन्ध मात्रै स्थानीय निर्वाचनका लागि प्रयाप्त नहुने भन्दै निर्वाचनको सफलतका लागि राजनीतिक सहमति अपरिहार्य रहेको भनेका छन् । समाजिक सञ्जालमा निधीले लेखेको उक्त विषय विवादित बनेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेदेखि धेरैले त्यसमा चासो राख्दै सरकारले निर्वाचन नचाहेको आरोप समेत लगाएको छ । आयोगले पनि निधीको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेको हो । 

आयोगले निर्वाचन सम्बन्धी तयारीमा कुनै प्रकारको कमी नरहेको जनाएको छ । विज्ञप्तीमा आयोगले आवश्यक नियम निर्देशिका तयार गरिएको, मतदाता नामावली फाइनल गरी वेव साइटमा राखिएको, मतदाता परिचय पत्रको छपाई अन्तिम चरणमा रहेको, मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला जिल्लामा स्थापना भइसकेको जस्ता तयारीको विवरण समेत उल्लेख गरेको छ । 

निर्वाचनको सम्पूर्ण व्यवस्थापन गर्ने कार्य आयोगबाट पूरा भएको अवस्थामा गृहमन्त्री निधीद्वारा निर्वाचन सम्बन्धी तयारी प्रर्याप्त नभएको ट्वीट आएकोप्रति आयोग आश्चर्य चकित भएको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : वैशाख ४, २०७४ २०:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT