कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कपालको समस्या समाधानका लागि होमियोप्याथीमा यस्तो छ उपचार

काठमाडौं — महिलाहरुलाई मात्र होईन, पुरुषहरुलाई पनि आफ्नो कपालको सम्बन्धमा बढिनै चिन्ता रहन्छ । शीरमा कालो, लामो र बाक्लो कपालले कुनैपनि महिलाको ब्यक्तित्वमा अझ सुन्दरता ल्याइदिन्छ । त्यसैगरी पुरुषहरु पनि आफ्नो टाउकोमा कालो, बाक्लो कपाल भएको नै मन पराउछन् । आफ्नो तालु खुइलिएको शायद कसैलाई पनि राम्रो लाग्दैन । असमयमा कपाल फुल्नु, कपाल झर्नु तथा कपाल रुखो हुनाले चन्द्रमामा ग्रहण लागे झैं ब्यक्तिको सौन्दर्यमा पनि ग्रहण लाग्छ ।

कपालको समस्या समाधानका लागि होमियोप्याथीमा यस्तो छ उपचार

कपालमा देखिने समस्याहरु : कपाल झर्नु, असमयमा कपाल फुल्नु, कपालमा चाँया पर्नु, कपाल सुख्खा हुनुका साथै लट्टा पर्नु, दुई मुखे कपाल हुनु तथा शरीरका बिभिन्न भागमा (अनवान्टेड हेयर) अनिच्छित रौं पलाउनु आदि जस्ता समस्याहरु देखिन्छन् । कपाल सम्बन्धि समस्या देखिन साथ बिरामीहरु चिकित्सक कहाँ जाँदैनन् । कारण कपालको सुन्दरता भनेको व्यक्तिको सुन्दरता हो । सुन्दरता देखाउने चिज हो न कि लुकाउने । कपालको समस्याको सामाधानको क्रममा कोहि ब्युटिपार्लरमा, कोहि डरमोटोलोजिष्ट (छालारोग बिशेषज्ञ) कहाँ त कोहि संचार माध्यमबाट प्रसारित बिज्ञापनको प्रभावमा परि सेम्पु, केश तेलको प्रयोग तथा हर्बल (जडिबुटि) औषधिहरुको सेवन गर्न थाल्छन् । कोहि घरेलु औषधि गर्न पट्टि लाग्छन् ।

यसबाट यदाकदा कसैलाई फाईदा पनि हुन्छभने अधिकांश बिरामीहरुमा यसको प्रयोगले थप समस्या सिर्जना हुन जान्छ भन्ने कुरा कपालको समस्याबाट पीडित ब्यक्तिहरुबाट नै थाहा हुन आएको हो । होमियोप्याथिकमा यसको लागि यस्ता कयौं औषधिहरु छन्, जसको समयमै उचित प्रयोग गरेर कपाल सम्बन्धि समस्याबाट सहज रुपमा नै छुटकारा पाउन सकिन्छ । यसका औषधिहरुको सेवनले तपाईको कपाललाई कालो, लामो र बाक्लो बनाई केशको चमक एवं सौन्दर्यतालाई बढाउन सक्छ । होमियोप्याथिक औषधिहरुको बिषेशता के हो भने यसको कुनै प्रकारको दुष्प्रभाव (साईडईफेक्ट) हुँदैन ।

कपालमा समस्या देखा पर्नुका कारणहरु : कपाल झर्नुका अनेकौं कारणहरु छन् । यही नै कारण हो भनेर ठोकुवा गर्न सकिंदैन । कपाल झर्नुको मुख्य कारणहरुमा – कपालमा (डेनड्रफ) चायाँ पर्नु । टाउकोमा फंगस (ढुस्सी) हुनु । शरीरको हार्मोन्समा असन्तुलन हुनु । कुनै गम्भिर प्रकारको रोग जस्तै, टायफाईड, माईग्रेन (आधा टाउँको दुख्ने) रोगबाट पीडित हुनु । पाचन प्रणालीले ठिकसँग काम नगर्नु । उपचारको क्रममा बिरामीहरुले प्रयोग गर्ने केहि एलोप्याथिक औषधिहरुको दुष्प्रभाव (साईड-ईफेक्ट) यसका प्रमुख कारण रहेका छन् । यस वाहेक मानसिक चिन्ता, दुख, शोक आदि मानसिक कारणलाई पनि लिन सकिन्छ ।

यसको उपचार : होमियोप्याथिक चिकित्सामा कुनैपनि रोगीको औषधोपचार गर्दा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुको साथै उसको पारिवारिक इतिहास, रोगको कारण तथा रोगीको प्रकृतिसमेतलाई मध्यनजर राखेर समष्टिगत लक्षण (टोटालिटी अफ सिम्पटमस्) को आधारमा रोगीको उपचार गर्ने प्रावधान रहिआएको छ । कपालको समस्या भएकाहरुलाई उनीहरुको लक्षणअनुसार निम्न लिखित होमियोप्याथिक औषधिहरुको प्रयोग गर्न सकिन्छ । जस्ते- केश सुख्खा छ, एक आपसमा अल्झिने (लट्टा पर्ने), टाउँको गनाउने, आदि लक्षण भएमा सोराईनम -२०० शक्ति नामक औषधिको प्रयोग गर्न सकिन्छ । यसैगरी कपाल सुख्खा छ र चाँया (डेनड्रफ) को कारणले कपाल झर्छ भने यस अवस्थामा - थुजा, कालिसल्फ, नेट्रम-म्युर जस्ता औषधिको प्रयोग गर्न सकिन्छ । चिन्ता या मानसिक अवसाद (डिप्रेशन) को कारणले गर्दा टाउको, आँखी भौं तथा गुप्तांग (जेनेटियल अर्गेनस) का केशहरु झर्छन भने एसिडफास औषधिको प्रयोग गर्न सकिन्छ । खस्रो तथा सुख्खा र माथितिर ठाडो भएको छरपट्ट कपाल छभने फ्लोरिक एसिड औषधिको प्रयोग गर्न सकिन्छ । यदि गर्भावस्थाको दौरान कपाल झर्ने गर्दछ भने नेट्रम-म्युर नामक औषधिको प्रयोग गर्न सकिन्छ । यदि कुनै गम्भिर प्रकृतिको रोग लागेपछि कपाल झर्ने समस्या देखिएको हो भने फेरम मेट, चायना औषधिको प्रयोग गर्नु पर्छ । यसका अतिरिक्त केन्थरिस, जोबरन्डी, ईम्बेलिकअमला आदि अनेक औषधिहरु छन् । यिनको प्रयोग डाक्टरको सल्लाह लिएर गर्न सकिन्छ ।

असमयमा कपाल फुल्नु : हुन त उमेर पाको हुँदै गएपछि प्राकृतिक रुपले नै कपाल सेतो (फुल्ने) हुन्छ । जुन स्वभाविक प्रकृया हो । यसलाई रोक्न सकिंदैन र यसको कुनै औषधि पनि छैन । तर, असमयमा कपाल फुल्नु एक समस्या हो । यसलाई बेलैमा औषधि उपचारले रोकथाम गर्न सकिन्छ । हुन त अनटाईम्ली कपाल किन फुल्नुको कारण हालसम्म निश्चित रुपले थाहा हुन सकेको छैन । तर, होमियोप्याथिक औषधिहरुको समय मै प्रयोग गरियो भने असमयमा कपाल फुल्ने समस्यालाई केहि हदसम्म रोक्न सकिन्छ । यदि कपाल असमयमा नै चाडै फुल्ने (सेतो) हुने गर्दछभने त्यस्ता बिरामीलाई थायरोडिनम्, लाईकोपोडियम् एवम साइलिशिया नामक होमियोप्याथिक औषधिहरु मध्ये लक्षणअनुसार कुनै एउटा औषधिको प्रयोग गर्न सकिन्छ । यसैगरी यदि कुनै रोगको कारणले कपाल सेतो भएको हो र रोगीलाई नुनिलो चिज मनपर्छ भने नेट्म-म्युर र यदि चिसो पेयपदार्थ मनपराउछभने फाँसफोरस औषधीको प्रयोग गर्नुपर्छ । यसको आलावा एसिडफाँस, कालीफोस, मेडोरिनम आदि औषधिहरु पनि चिकित्सकको सल्लाहमा प्रयोग गर्न सकिन्छ ।

कपालमा चाँया पर्नु : कपालमा चाँया पर्नु एक ठुलो समस्या हो । चाँयाले गर्दा कपाल त झर्छ नै यसको साथै कपाल पलाउने क्रम पनि रोकिन्छ । टाउको चिलाउन थाल्छ । कपालको चाँयाको समस्या सामाधानको लागि होमियोप्याथिक औषधिहरुको उपयोग गर्न सकिन्छ । यदि टाउकोमा जलन हुनु, एग्जिमा एवं चाँया पर्नुको साथै कब्जियतको लक्षण पनि छभने ग्रेफाईटिस् नामक औषधिको प्रयोग गर्नुपर्छ । यसैगरि टाउकोमा, आँखाको परेली, आँखी भौं र गुप्तांग (जेनेटियलअर्गेनस) का केशहरुमा पनि चाँया परेको छभने सेनिकुला नामक औषधिको प्रयोग गर्न सकिन्छ । यसको अतिरिक्त फाँसफोरस, मेजिरियम, फ्लोरिकएसिड, एन्टिमक्रुड, पेट्रोलियम, सल्फर आदि औषधिहरुको प्रयोग पनि गर्न सकिन्छ ।

अनवान्टेड हेयर : अनिच्छित रौं पलाउने समस्याबाट युवतीहरु मात्र होइन, युवकहरु पनि पीडित भएको देखिन्छ । अनिच्छित रौं शरीरमा कतै-कतै उम्रिएको देखिन्छ । जस्तै- महिलामा दाह्री, जुँगा देखिनु, स्तन (ब्रेस्ट) मा रौं पलाउनु, हात, खुट्टामा अनावश्यक भुत्ला देखिनु । यि सब कुराहरु शरीरमा रहेको (ईन्डोक्राईन्ड ग्लान्डस) थाईराईडस्को हार्मोन्सको उत्पादनमा हुने असंतुलनको कारणले हुन्छ । यदि हार्मोन्सको असन्तुलनलाई ठिक गर्न सकियो भने अनावश्यक रौं पलाउने समस्या स्वत आफै ठिक भएर जान्छ । यस समस्याबाट पीडित धेरै जसो महिला तथा युवतीहरु ब्युटिपार्लरमा गएर अनिच्छित रौंलाई रिमुभ (हटाउने) गर्दछन् । तर, केहिदिन पछि पुन: पहिलाको भन्दा बढि र बक्लो रौं पलाउछ । यसको लागि पनि होमियोप्याथिकमा प्रभावशाली औषधिहरु छन् । जसको प्रयोग चिकित्सकको परामर्श लिइ गरेमा यस समस्याबाट सहज रुपमा नै छुटकारा पाउन सकिन्छ । महिलाहरुमा देखिने दाह्री र जुँगाको लागि –थुजा, नेट्रम-म्युर, सिपिया, औलियमजेकोरिस आदि औषधिहरुको प्रयोग गर्न सकिन्छ ।

सल्लाह : भनाई नै छकि रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानि हो । कपालको समस्या उत्पन्न नहोस यसको लागि कपालको सरसफाईप्रति बिशेष ध्यान दिनु आवश्यक छ । कपाल धुनलाई कुनै प्राकृतिक सामाग्री नै प्रयोग गर्ने । कपाल धुनको लागि प्रयोगमा ल्याउने सेम्पु, साबुन कास्टिकसोडा रहित हुनुपर्छ । कपालको समस्याबाट छुटकारा पाउनको लागि केशलाई चाहिने खुराक (पोषणतत्व) को पनि ध्यान राख्नु पर्दछ ।
अस्तु ।।।
[email protected]

प्रकाशित : वैशाख ६, २०७४ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?