२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

हनिमुन सिस्टाइटिस

- नवविवाहितामा हुने मूत्रमार्गको संक्रमण
- नेपालमा सय जना नवविवाहितामध्ये १० जना जतिलाई यो संक्रमण हुने गरेको अनुमान
अतुल मिश्र

काठमाडौँ — यो मौसम विवाह र हनिमुनको पनि हो । यही मौसममा नवविवाहितामा, नवदुलहीमा मूत्रमार्गको समस्या पनि हुने गर्छ । मूत्रमार्गको संक्रमण (युरिनरी ट्रयाक इन्फेक्सन : युटीआई) भर्खर विवाह गरेका महिलामा हुने एक किसिमको समस्या हो । यसलाई बोलचालको भाषामा ‘हनिमुन सिस्टाइटिस’ पनि भनिन्छ ।

हनिमुन सिस्टाइटिस

हाम्रो मुलुकमा यो समस्याबारे खासै कुनै अध्ययन भएको छैन । तर, सय जना नवविवाहितामध्ये १० जनासम्ममा हाल यूटीआई पाइने गरेको स्त्रीरोग विशेषज्ञ डा. गणेश दंगालको अनुमान छ ।
बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) को तथ्यपत्रअनुसार, सामान्यत: ब्याक्टेरियाको संक्रमणले गर्दा हुने सिस्टाइटिस (मूत्राशयको संक्रमण) कहिलेकाहीं मूत्रथैली उत्तेजित वा क्षतिग्रस्त हुँदासमेत हुन्छ ।

आन्द्रा र छालामा नोक्सान नपुर्‍याउने गरी रहेका ब्याक्टेरिया मूत्रमार्ग भएर मूत्रथैलीमा पसेपछि त्यसले त्यहाँ संख्या बढाउन थाल्छ । ब्याक्टेरिया, ढुसी हाम्रो पाचनतन्त्रबाट निस्केर वा अन्य माध्यमले मूत्रमार्गको पर्खालमा टाँस्सिएर तीव्र गतिमा संख्या विस्तार गर्छ र यूटीआई उत्पन्न गर्छ । धेरैजसो महिलालाई आन्द्रामा पाइने ब्याक्टेरियाले गर्दा यूटीआई हुने गर्छ ।

‘यो मूत्रनलीको संक्रमणलाई बेवास्ता गर्दा, समयमै उचित उपचार नगर्दा यसले मृगौलामा समेत असर पार्न सक्छ,’ डा. दंगाल भन्छन्, ‘यो समस्याले जटिल रूप लिएपछि मृगौला फेल भएको केससमेत यदाकदा पाउने गरिन्छ ।’

यूटीआई मूत्रनली, पिसाबको थैलो, पिसाबलाई मृगौलादेखि मूत्राशयसम्म लैजाने नली र मृगौलामा हुने संक्रमण हो । यूटीआईको जोखिम पुरुषको दाँजोमा महिलालाई बढी हुन्छ । महिलाको मूत्रनली गुदद्वारको धेरै नजिक हुन्छ । यसले गर्दा मलमा भएका ब्याक्टेरियाहरू महिलाको मूत्रनलीमा जाने जोखिम बढी हुन्छ । यो संक्रमणको विस्तार हुँदै मृगौलासम्म पुगेपछि यसले मृगौलालाई समेत नोक्सान गर्न सक्छ । हनिमुन सिस्टाइटिस भएका सयमध्ये दुई/तीन जनासम्म मृगौला फेल हुने स्थितिमा पुग्ने सम्भावना हुन्छ ।

‘भर्खर विवाह गरेका बेला बढी मात्रामा यौनसम्बन्ध हुने भएकाले पिसाबको थैलोमा बढी मात्रामा ब्याक्टेरिया पुग्न सक्छ र हनिमुन सिस्टाइटिस हुने गर्छ,’ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतम भन्छन्, ‘पुरुषको मूत्रनली १९ सेन्टिमिटर लामो हुन्छ भने महिलाको त्योभन्दा निकै छोटो । करिब ४ सेन्टिमिटरको । त्यही भएर महिलाहरूलाई मूत्रमार्गको संक्रमण बढी हुन्छ ।’

अघि नै भनियो, विवाहलगत्तै हुने यूटीआईको समयमै उपचार नगरे मृगौलामा समेत क्षति पुग्न सक्छ । मूत्रमार्गमा हुने यो संक्रमण मृगौलासम्म पुग्दा मृगौलाले काम गर्न छाड्ने स्थिति आउन सक्ने जोखिम हुन्छ । त्यही भएर नवविवाहिताहरूले मूत्रमार्गको संक्रमण हुनासाथ चनाखो भएर चिकित्सकीय सल्लाह लिइहाल्नुपर्ने डा. गौतम औँल्याउँछन् ।

बिहेबारीको समयमा अस्पतालको बहिरंग विभागमा मूत्रनलीको संक्रमण लिएर पुग्ने नवविवाहिताहरूको संख्या बढ्ने गरेको युरोलजिस्ट डा. पवनराज चालिसेको अनुभव छ । उनी भन्छन्, ‘समयमै यो संक्रमणको उपचार नगरे मृगौलामा समेत क्षति पुग्न सक्छ । यस्तो संत्रमण भएका कतिपय महिलालाई त निरन्तर औषधि खानुपर्ने अवस्थासमेत आउँछ ।’

हनिमुन सिस्टाइटिसले महिलालाई त्यो आनन्ददायक समयमा सधैँभरिका लागि समस्यामा पार्न सक्ने हुँदा यौनक्रियापछि महिलाले तुरुन्त पिसाब फेर्ने गर्नुपर्छ । यसो गर्दा यो संक्रमण हुने सम्भावना निकै घट्ने डा. गौतम बताउँछन् ।

यौनसम्पर्कलगत्तै मांशपेसी आरामको स्थितिमा नआउने हुनाले केही महिला तत्काल पिसाब फेर्न तम्तयार हुँदैनन् । तर, केही समयपछि भए पनि पिसाब फेर्दा यसले समागमका माध्यमले मूत्रमार्गमा प्रवेश गरेका ब्याक्टेरियाहरूलाई बगाइदिन्छ । ब्याक्टेरिया बगेकोभन्दा जमेको पिसाबमा बढी फस्टाउने डा. गौतम सुनाउँछन् ।

यस्तै, पुरुष र महिला दुवैले आफ्ना यौनांगको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ ।
दिसा, पिसाबपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । यौनसम्पर्कपछि पनि सरसफाइमा सचेत हुनुपर्छ ।

एनएचएसका अनुसार, ब्याक्टेरिया कसरी मूत्रथैलीमा पुग्छ भन्ने सदैव स्पष्ट हुँदैन । तर यो यौनसम्पर्क, पछाडिबाट (गुदद्वारबाट) अगाडि (योनिमार्ग) तर्फ सफा गर्दा, टेम्पोन वा युरिनरी क्याथेटर हाल्दा, परिवार नियोजनका लागि डायफ्राम उपयोग गर्दा यो संक्रमण हुन सक्छ ।

यति मात्र नभई, यौनक्रियामा हुने घर्षणले समेत सिस्टाइटिस उत्पन्न गर्छ । यस्तै, बास्नादार साबुन, ‘बब्बल बाथ’ जस्ता रासायनिक उत्तेजकले समेत सिस्टाइटिसलाई निम्त्याउने गर्छन् ।

लक्षण
- पिसाब पोल्नु । बारम्बार पिसाब लाग्नु ।
- योनि चिलाउनु । गन्हाउने तातो पिसाब हुनु ।
- पिसाबको रंग धमिलो वा हल्का रातो हुनु ।
- पेटको तल्लो खण्डमा दबाब अनुभव हुनु वा दुख्नु ।
- कसैकसैलाई उच्च ज्वरोसमेत आउनु ।

बचाउ
- शारीरिक सम्पर्कपछि यौनांगको सफाइमा विशेष ध्यान दिनुपर्छ ।
- यौनसम्पर्कपछि महिलाले पिसाब फेर्ने गरे यो संक्रमणको सम्भावना कम हुन्छ ।
- महिलाले यौनांग सफा गर्दा अगाडिबाट पछाडितर्फ पुछ्ने गर्नुपर्छ ।
- पानी पर्याप्त खाने गर्नुपर्छ ।
- दुवै जोडीले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

प्रकाशित : वैशाख २३, २०७४ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?