कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुलसी

हाम्रो मुलुकको अधिकांश घरआँगनमा तुलसी पाइन्छ । त्यसबाट थाहा हुन्छ, मानिसका लागि तुलसीको महत्त्व कति छ भनेर ।

तुलसी उच्च स्तरीय चामत्कारिक औषधि हो । पुरातन धर्मग्रन्थ वेदमा समेत तुलसीको बिरुवाको पवित्रतासँगै औषधीय गुणको वर्णन गरिएको छ । 

झाडीका रूपमा रहने तुलसीको बोट एकदेखि तीन फिटसम्म अग्लो हुन्छ । यसको बिरुवा पवित्र मानिन्छ । तुलसी थुपै्र जातका भए पनि सबै फाइदाकारी नै छन् ।

गुण–धर्मअनुसार कालो तुलसीलाई राम्रो मानिन्छ । एलोप्याथिक, होमियोप्याथिक र युनानी औषधिहरूमा समेत तुलसीलाई कुनै न कुनै रूपमा उपयोग गरिन्छ । आयुर्वेदअनुसार तुलसीलाई शरीर, मन र आत्माको पीडा हरण गर्ने मानिन्छ । भनिन्छ, तुलसीले जलन/पोलाइ कम गर्छ । यसमा जीवाणुनाशक मूत्रवद्र्धक गुणसमेत हुन्छ । यसले संक्रमण हटाउनुका साथै तनाव र अन्य रोगविरुद्घ प्राकृतिक प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । 

आयुर्वेदका चिकित्सकका अनुसार तुलसीको नियमित सेवनले स्वाइन–फ्लुजस्ता फोक्सोको संक्रमणसँग जुध्न सहयोग मिल्ने गर्छ । तुलसीले रोग प्रतिरोधक क्षमता बढाउने मान्यता छ । यसलाई बलवद्र्धक औषधिको रूपमा समेत उपयोग गरिन्छ । यसको नियमित उपयोगले कार्यक्षमतामा वृद्घि हुन्छ र शीघ्रपतन हट्छ । 

युनानी चिकित्सा पद्घतिअनुसार तुलसीमा रोग निको पार्ने निकै क्षमता हुन्छ । यसले रुघा–खोकीको असरलाई कम गर्छ । यसले ज्वरो कम गर्छ । मुटुको रक्तनली, कलेजो र फोक्सोको रोगमा लाभदायक हुन्छ । उच्च रक्तचाप र चिनीको मात्रा घटाउनसमेत सहयोगी मानिन्छ । 

तुलसीमा अनेक जैव सक्रिय रसायन पाइन्छ, तिनमा ट्रयानिन, स्यावोनिन, ग्लाइकोसाइड र एल्केलाइडस प्रमुख हुन् । हालसम्म तुलसीमा पाइने रसायनहरूको पूर्ण विश्लेषण हुन सकेको छैन । यसमा पाइने पहेलो वाष्पशील तेलको मात्रा संगठन, स्थान र समयअनुसार परिवर्तित हुने गरेको छ । यसमा सामान्यत: ०.१ देखि ०.३ प्रतिशतसम्म तेल पाइन्छ । ‘वेल्थ अफ इन्डिया’ का अनुसार यो तेलमा करिब ७१ प्रतिशत युजिनाल, २० प्रतिशत युजिनाल मिथाइल इथर तथा ३ प्रतिशत कार्बाकोल हुन्छ । 

हरियो तुलसीमा कालो तुलसीको दाँजोमा केही बढी तेल हुनुका साथै यसमा सापेक्षित घनत्त्वसमेत बढी हुन्छ । यसको पातमा ८३ मिलिग्राम प्रतिशत भिटामिन ‘सी’ एवं २.५ मिलिग्राम प्रतिशत क्यारेटिन हुन्छ । तुलसीको बीउमा भने पहेँलो तेल करिब १८ प्रतिशत पाइन्छ । 

आधुनिक अनुसन्धानअनुसार तुलसीको बोटले वातावरणलाई समेत स्वच्छ पार्ने गरेको छ । तुलसीको बोटले लामखुट्टे, झिँगा लगायतका कीरा–फटयांग्रालाई समेत भगाउँछ । 

प्रकाशित : वैशाख २३, २०७४ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?