२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पाठेघर रोगीले उपचार पाएनन्

जिल्लाभर आमा भएका ७० प्रतिशत महिलालाई पाठेघर समस्या

भोजपुर — पाठेघरसम्बन्धी समस्या भएका अधिकांश महिलाले उपचार पाउन सकेका छैनन् । विभिन्न कारणले रोग लागेका उनीहरू लाजका कारण स्वास्थ्य संस्थाको सम्पर्कमा जाने नगरेको पाइएको छ ।

स्वास्थ्य कार्यालय, सुरक्षित मातृत्व तथा परिवार नियोजन शाखाकी पदमलक्ष्मी राईका अनुसार जिल्लाभर आमा भएका ७० प्रतिशत महिलालाई पाठेघर समस्या छ । ‘कतिलाई के भएको भन्ने थाहासम्म छैन, आफू पाठेघरको समस्यामा छु भन्ने थाहा पाउनेले पनि परिवार र समाजले छिछि, दुरदुर गर्लान् भनेर लुकाउँछन्,’ उनले भनिन् ।

कम उमेरमा विवाह, सुत्केरी भएका बेला कामको लछारपछार घरेलु हिंसाले गर्दा पाठेघरको समस्या हुने गरेको छ । अझ दुर्गम गाउँका विपन्न समुदायका महिलाका लागि विकराल समस्याका रूपमा रहेको छ । डर, धाक, लाज र समाजको डरले उनीहरूले स्वास्थ्य संस्थामा गएर परामर्श, सरसल्लाह र उपचार लिनुको सट्टा कपडाको डल्ला, टेबलटेनिसको बल, कपडाले ठेलेर लत्रिएको भागलाई भित्र घुसार्ने गरेको पाइएको स्वास्थ्यकर्मी बताउँछन् ।

आव ०७३/०७४ मा जिल्ला स्वास्थ्यले ४ स्थानमा शिविर सञ्चालन गरेको थियो । ओख्रेमा ५२, बालंखामा २४, पाँचामा २६ र कुदाककाउलेमा १५ जना १८ देखि ७५ वर्ष उमेर समूहका महिलाले स्वास्थ्य परीक्षण गरेका थिए । ४ स्थानका लागि १ लाख २० हजार बजेट छुट्याइएको थियो । १६ जनालाई रिङ प्रेसरी लगाइएको, ५० लाई प्राथमिक उपचार र ५ जनालाई अपरेसनका लागि अन्यत्र रेफर गरिएको थियो । पाठेघरको समस्याले ३ जनालाई पिसाब चुहिने समस्यासमेत थपिएको तथ्यांक छ ।

शिविरमा १८ देखि ७० वर्ष उमेर समूहका महिलाले पाठेघर जाँच गराएका थिए । २२ देखि ३० वर्ष उमेरका महिला एकदमै ग्रसित रहेको सुरक्षित मातृत्व तथा परिवार नियोजन शाखाकी राईले बताइन् । 
पााठेघरसम्बन्धी प्रचारप्रसार र स्वास्थ्यसेवा अभावले गर्दा दुर्गममा विपन्न समुदायका पाठेघररोगी महिला बढी समस्यामा छन् । जिल्लामा पाठेघररोग उपचारका लागि सरकारी स्वास्थ्य संस्थामा पर्याप्त व्यवस्था छैन ।

प्रकाशित : वैशाख २९, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?