२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रोग निदानमा जिब्रोको महत्व

डा. ललितकुमार मिश्र

जब तपाईं आफ्नो या आफ्न्तको रोगोपचारको लागि कुनै चिकित्सक कहाँ पुग्नु हुन्छ । सम्बन्धित डाक्टरले तपाईंको कुरालाई सुन्दै नोट गर्दछ, तत्‌पश्चात् शारीरिक परीक्षणको क्रममा मुख-आँ...गर्न लगाएर जिब्रो बाहिर निकाल्नुस् भन्छ । र, मुखभित्र टर्च बालेर जिब्रोलाई मजासँग नियालेर हेर्दछ । टाउको दुखेको होस्, पेट या शरीरको कुनै अन्य भागमा नै पीडा किन नभएको होस्, चिकित्सकले जिब्रो भने अवश्य नै हेरेको अनुभव हामी तपाईंले गरेका छौं ।

रोग निदानमा जिब्रोको महत्व

आखिरमा चिकित्सकले जाँचको क्रममा जिब्रो किन हेरेको होला भन्ने कुराको जिज्ञासा लाग्नु स्वाभाविक नै हो ।

पाँच ज्ञानेन्द्रीयमध्ये जिब्रो पनि एक हो । यसको शब्दको उच्चारणमा सहयोग गर्ने , बोल्ने र खाने कुराको स्वाद छुट्टयाऊने काम हो । यतिमै मात्र जिब्रोको काम सीमित भने छैन । जिब्रोले विभिन्न प्रकारका स्वास्थ्य समस्याबारेमा जानकारी समेत दिन्छ । जिब्रोको अवस्था हेरेर व्यक्तिको स्वास्थ्य समस्याको बारेमा सजिलोसित थाहा पाउन सकिन्छ । भनिन्छ, जिब्रो पेटको दर्पण हो । यसले पाचनसम्बन्धी विकारलाई दर्साउनुको साथै पाचनतन्त्रको गडबडीले शरीरको अन्य भागमा हुने खराबीलाई पनि देखाउँछ । जस्तै-अपचले गर्दा पित्त बढन गई टाउको दुख्छ साथै दृष्टिमा पनि गडबडी हुन्छ । यसैप्रकार पेटको वायु विकारले मुटुको धड्कनलाई बढाउनुको साथै छातीमा दर्द पनि हुन्छ । पेटको खराबी नभइकन पनि जिब्रोले हामीलाई शरीरको अन्य सिस्टमको बारेमा पनि महत्वपूर्ण जानकारी दिन्छ । जस्तै-अर्ध पक्षघातमा (जिब्रोको आधी भाग सुकेको) देखिन्छ । पहेँलो र चिल्लो जिब्रोले व्यक्तिमा रगतसम्बन्धी विकारबारे सूचित गर्दछ । यसैगरी निलो भएको जिब्रोले (ईमप्युअर अक्सिजन)  मुटुसम्बन्धी रोगलाई बताउँछ । तर, यी सबै कुराहरु फिजिकल लेबलमा भए । मानिसको मन, शरीर, भावना समेत पाचनतन्त्रबाट प्रभावित भएको हुन्छ । जस्तै– हाइपर एसीडीटी प्राय:गरी व्यक्तिको तनाव (स्ट्रेस)सँग गाँसिएको हुन्छ । यसप्रकारले हेर्ने हो भने जिब्रोले पाचनतन्त्रको गडबडीलाई मात्र दर्साउँदैन कि अपितु समष्टिगत रुपमा व्यक्ति विशेषलाई नै जनाउँछ भन्दा अतियुक्ति नहोला ।

सायद यही कारण होला कि प्राचीनकालमा वैद्य (आयुर्वेदिक फिजिसियन) हकिम (युनानी फिजिसियन)हरुले रोगीको जिब्रो, नाडी, हात र खुट्टाका नङ तथा केश आदिको परीक्षणबाट नै गम्भीर रोगहरु पत्ता सजिलोसित लगाउँदथे । त्यसबेला अहिलेको जस्तो अत्याधुनिक चेकजाँच गर्ने मेसिन तथा औजारहरु पनि थिएन । र पनि, टि.बी. मस्तिष्क रोग, छारे रोग, पेटसम्बन्धी रोग, आदिहरुको सफल उपचार गरिन्थ्यो । आधुनिक चिकित्सा (एलोप्याथिक) स्कुलमा रोग निदानको ऊद्देश्यबाहेक बिरामीको जिब्रोलाई त्यति महत्व दिँदैनन् । जति अन्य चिकित्सा पद्धति आयुर्वेदिक, होमियोप्याथिक, युनानीमा दिइन्छ । होमियोप्याथिक दृष्टिकोण अनिवार्य रुपले यसबाट भिन्न हुन्छ । एक होमियोप्याथिक चिकित्सकलाई रोगीको जिब्रोले महत्वपूर्ण जानकारी दिन्छ । जसको सहायताले व्यक्तिविशेषको उपचारार्थ औषधिको निर्देशपत्र लेख्न सकिन्छ । जिब्रोको अवस्थाले शरीरमा विभिन्न प्रकारको रोगहरुको उपस्थितिलाई जनाउँछ । उदाहरणको लागि–यदि कसैको जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निसानहरु देखिन्छ भने व्यक्तिको शरीरमा भयकंर रगतको कमी हुन सक्छ । जिब्रोमा देखिने कालो दागले व्यक्तिमा उच्च रक्तचापको संकेत दिन्छ । यदि पेटको माथिल्लो भागमा दर्द रहन्छ भने त्यस व्यक्तिको जिब्रो चम्किलो हुनसक्छ । यदि जिब्रोमा चिनिका मसिना कणजस्ता चम्किलो थोप्लाको निशान छ भने–पेटमा जुका(वार्मस)हरु रहेको संकेत हो । यसैगरी ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको दुख्नु, पेट दुख्नु, जस्ता समस्याहरुमा व्यक्तिको जिब्रो हेरेर पत्ता लगाउन सकिन्छ भने जिब्रोको अवस्थाले चिकित्सकहरुलाई रोगको निदान गर्नमा सहयोग पुर्‍याउँछ । जिब्रोमा हुने परिवर्तनले अनेक रोगको संकेत दिन्छ । रोगको निदानमा बिरामीले चिकित्सकसँग झुटो बोलेर रोग लुकाउन खोजे तापनि ऊसको जिब्रोले झुटो बोल्दैन । तर, जहाँ रोगीले उपचारार्थ एलोप्याथिक औषधिको सेवन गरिरहेको छ या कुनै प्रकारको जडिबुटी प्रयोग गरिरहेको छ भन्ने कुरा त्यस अवस्थामा जिब्रोको रगं बद्लिन पनि सक्छ । रंग परिवर्तन भएको जिब्रोलाई रोग निदानको रुपमा लिन वा विश्वास गर्न सकिँदैन ।

एउटा स्वस्थ व्यक्तिको जिब्रोको रगं गुलाबी हुनुका साथै सफा, पातलो तथा स-साना टुस्सा(प्यापिलि)ले भरिएको हुन्छ । आयुर्वेदिक चिकित्सानुसार–मानिसको विभिन्न अंग-प्रत्यांगलाई दर्साउने गरी जिब्रोलाई विभाजित गरिएको छ । जुन यसप्रकार छ– जिब्रोको सतहले मेरुदन्ड, दाहिने र देब्रे छेऊको भागले किड्नी, सतहदेखि अलिक अगाडिको भाग-आन्द्रा, त्यसको अगाडिकोले अग्नाशय र त्यसभन्दा अगाडिको भागले पेटको अवस्थालाई जनाउँछ, बीचको छेऊको भागले दाहिने फियो र देब्रे लिबरलाई संकेत गर्दछ । यसप्रकार अगाडिको दुवै साइडले दाहिने र देब्रे खुट्टालाई जनाउँछ भने यसको बीचको भागले मुटुको प्रतिविम्ब हो । आफ्नो जिब्रोलाई ऐनामा हेरेर विचार गर्न सकिन्छ । होमियोप्याथिक चिकित्सामा बिरामीको जिब्रोको आकारप्रकारअवस्था-जन्मजातबिरामी भएररगं-गुलाबिसेतोपहेलोहरियोनिलोकालोनिशानसुख्खारसिलोर्‍याल चुहिनेसुन्निएकोघुम्चिएर चाउरी परेकोकाम्नुसंकोचमुसारेनुलाकेन्सरगेग्रिनपक्षाघातआदि हेरिकन पनि बिरामीको लागि उपयुक्त औषधि प्रिस्क्राईब गरने गरिन्छ । यसरी जिब्रोको अवलोकनबाट रोगनिदान गरी चिकित्सकले छिटोछरितो स्वस्थ्य सेवा दिन सक्छ भने बिरामीले पनि सहज रुपमा सजिजोसित सेवा प्राप्त गर्नसक्छन् । 

सा-साना बालकहरु, लाटो, बहिरो, व्यक्तिका  साथै चिकित्सकले नबुझने भाषामा कुरा गर्ने रोगीहरुको जिब्रो हेरिकन औषधि लेख्न मद्दत मिल्दछ । ओपीडी (वहिरिंग विभाग)मा बिरामीको चाप भएको अवस्थामा स्वास्थ्य परीक्षणको क्रममा जिब्रो हेरी औषधि लेखिदिन सजिलो हुनुका साथै छोटो समयमा बढीभन्दा बढी बिरामीलाई परीक्षण गर्न मद्दत मिल्दछ । बिरामीले आफ्नो समस्या सही ढगंले बताउन् सकेन भने पनि जिब्रोको परीक्षणले प्राप्त जानकारीको आधारमा औषधि लेख्न सकिन्छ । यसप्रकार नैदानिक परीक्षा र जिब्रोको अवलोकन, यसले रोगीको रोगनिदान गर्नका साथै रोगीको लागि उपयुक्त औषधिको चयनमा पनि चिकित्सकलाई सहयोग गर्दछ । जिब्रोका केही अवस्थाहरुले व्यक्तिको जिउमा रहेको वा हुनसक्ने रोगको बारेमा पनि भविष्यवाणी पनि गर्न सकिन्छ भन्ने विज्ञहरुको भनाइ छ । 

डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रो हुनु, मुखमा किटाणुको संक्रमण भएको लक्षणका रुपमा लिइन्छ । यसैगरी एलर्जीका कारण जिब्रो सुन्निने हुन्छ । लामो समयसम्म एन्टिबायोटिक औषधिको प्रयोग गरेको मानिस तथा एचआईभी (एडस)बाट संक्रमित भएका मानिसहरुको मुखमा ढुस्सी(फगंस)को संक्रमण भएको हुन्छ । यस्ता व्यक्तिहरुको जिब्रो कालो तथा रंगहीन हुन्छ । जिब्रोको सतहमा लामो गहिरो धर्साहरु (चिरा) हुनु भिरंगी (सिफिलिस)जस्ता यौन रोगको संकेत हुनसक्छ । यसैगरी जिब्रोमा बराबर घाउ हुनु–पेटको जटिल रोग (क्रोनिक डिजिज)को लक्षण हो । स्वाद थाहा पाउने कोशिकाहरु कम भएको–चिल्लो जिब्रोले व्यक्तिको शरीरमा भिटामिन बी-१२ र फलाम तत्व(आईरन)को कमी भएको रक्तअल्पता (एनिमिया)को संकेत गर्दछ ।

होमियोप्याथिक चिकित्सामा बिरामीको अवलोकनपश्चात् जिब्रोकोअवस्थालाई ध्यानमा राखेर दिइने केही औषधिहरु निम्न लिखित छन् । उदाहरणको लागि; सर्पको जस्तो काम्ने जिब्रोको लक्षणमा लेकेसिस । यदि कम्पनको साथै व्यक्तिमा भकभक्काऊने बानी पनि छ भने स्ट्रामोनियम वा आर्जेनटम नाईट्रिकम नामक औषधिको प्रयोग गरिन्छ । जिब्रोमा यदि मुसा(वार्टस) छ भने – लाइकोपोडियम । टुप्पो रातो हुनुको साथै जिब्रोमा सेतो लेउ जमेको छ भने- सल्फर । जिब्रोमा गहिरो धर्सो हुनु–नाईट्रिक एसिड । जिब्रोको टुप्पोमा रातो त्रिभुजाकार देखिएमा- रस टक्स । नक्सा आकारको चित्र भएको जिब्रो भएमा–नेट्रम-म्युर । पेरालाई सिस भएको जिब्रो–पल्मबम, कास्टिकम, लाइको, जेल्समियम । रेनुला( जिब्रोमुनि) उत्पन्न गाँठोमा–कलेकेरियाकार्ब, एमब्रागिर्सिया आदि । होमियोप्याथिक औषधिहरुको प्रयोग गरिन्छ । समग्रमा भन्ने हो भने बिरामीको जिब्रोले रोगको निदानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । रोगीले झुटो बोले तापनि ऊसको जिब्रोले कहिल्यै झुटो बोल्दैन ।
[email protected]

प्रकाशित : वैशाख २९, २०७४ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?